ज्ञानमणि नेपाल कालोटोपी
पनौती । केही वर्ष अघिसम्म, साउन/भदौमा पनौती नगरपालिका वडा नं ८ को फाँटमा सप्रिदै गरेका धानका गाँजले फाँटै हरियो देखिन्थ्यो । तर परम्परागत खेतीमा भन्दा व्यवसायिक तरकारी खेतीमा कृषकको आकर्षण बढ्दै गएपछि अहिले यहाँको फाँट प्लास्टिकका टनेलले सेताम्मे देखिएको छ । ती सेता टनेलभित्र फलेका राता गोलभेंडा यतिबेला किसानका लागि आम्दानीको दरिलो स्रोत भएको छ ।
चैत्र/वैशाख महिनामा रोपिएका गोलभेंडा अहिले टिप्ने बेला भएको छ । यहाँका किसानलाई यतिबेला गोलभेंडा टिप्ने चटारो छ । टनेलाभित्र एउटै बोटमा ५० देखि ६० दानासम्म गोलभेंडा फलेका छन् । केही हरिया छन्, केही पहेंला त केही टिपेर बजार लान तयार भएका राता गोलभेंडा छन् । पनौती–८ का किसान शशीकुमार महतलाई यतिबेला गोलभेंडा टिप्न भ्याईनभ्याई छ । कारण, उनको टनेलामा फलेका गोलभेंडा किन्नका लागि गाडीसहित व्यापारी टनेला छेउमै पुगेका छन् ।
शशीले यसरी गोलभेंडा, खुर्सानी, लौका, करेलालगायतका तरकारीको व्यवसायिक खेती शुरु गरेको २० वर्ष भयो । उनको बारीमा १२ वटा टनेल छन् । ती सबैमा तरकारी खेती गरिएका छन् । करिब ३ लाख खर्च भएको छ । परम्परागत खेतीबाट लगानी उठाउन नसक्ने अवस्था आएपछि उनले यो खेती प्रणाली रोजेका हुन् । जसबाट वार्षिक ८÷१० लाख आम्दानी गर्न खासै समस्या छैन ।
‘हरेक मानिसले खानु पर्छ । एकछिन खान नपाए भोकले प्याकप्याक्ती परिन्छ तर सरकारले खेती गर्ने किसानलाई सौतेनी व्यवहार गरेको छ ।’ उनी गुनासो गर्छन्, ‘सरकारले किसानकाृ पक्षमा कहिले काम गर्ला र खै ?’ आज रोजगारीका लागि देश छोडेर परदेश हानिने युवाको संख्या हरेक दिन २ हजारभन्दा बढी छ । सरकार उनीहरुलाई स्वदेशमा रोक्ने योजनामा छैन । गाउँका खेतबारी खेती गर्ने किसानको अभावमा बाँझै छन् । तर सरकार हरेक वर्ष अर्बौंको खाद्यान्न आयात गर्छ । आफ्नो देशमा उत्पादन नहुने खाद्यान्न आयात गर्नु स्वभाविक भए पनि स्वदेशमा उत्पादन हुने कृषिवस्तु पनि बाहिरबाट ल्याउने गर्नु निकै विडम्बना हो तर सरकारले यतातिर कहिले पनि सोच्न सकेन । यो अवस्था देख्दा शशीको मन निकै पोल्छ । ‘हाम्रो मन पोलेर के गर्नु र ? सरकारले हो यसमा चासो राख्नु पर्ने तर गरेको छैन ।’ उनी भन्छन् ।
खेती गर्न पनि सजिलो कहाँ छ र ? मल पाइँदैन, बीउ पाइँदैन, कामदारको अभाव उस्तै छ । उत्पादन गर्यो बजार छैन । भएपनि व्यापारीको मनलाग्दी छ तैपनि किसान आफ्नो बारीमा हरेक दिन पुगेकै हुन्छ । सरकार भएर पनि नभएजस्तै छ पनौतीका किसानका लागि । यही अवस्थामा यहाँ खुलेका केही कृषि सहकारीहरुले किसानका लागि निकै सहयोग गरेको उनीहरु बताउँछन् । मध्यमार्ग कृषि सहकारी संस्थाले विगत केही वर्षदेखि यहाँको तरकारीमा प्रत्यक्ष सहयोग गरिरहेको छ । कृषि सामाग्री, मल, बीउ लगायत सहुलियत दरमा उपलब्ध गराएको छ । यसबाट आफूहरुले धेरै ठूलो राहतको महसुस गरेको शशी बताउँछन् ।
हामीले भने जस्तो छैन तरकारी खेती गर्न । बेलाबेलामा रोग लाग्छ, त्यसको न्यूनिकरण नगरी हुँदैन । शशीले तरकारी खेतीमा जैविक मल र जैविक विषादी प्रयोग गर्नेगरेका छन् । विषादी प्रयोगका लागि गुणस्तरको मास्क प्रयोग गर्नुपर्ने र यसले स्वास्थ्यमा राम्रो हुने उनको अनुभव छ । बढी चिसो भएको समयमा त्यहि सिजनमा फल्ने तरकारीहरु लगाउने उनी ठूलो क्षेत्रफलमा तरकारी रोप्न सके लगानी कम पर्ने बताउँछन् । उनले १० वर्ष कुखुरापालन पनि गरे । विदेश जान पनि तयार भए, पासपोर्ट बनाएर जान ठिक परेका उनका पाइला रोकिए र तरकारी खेतीमा अघि सरे । सबै किसान मिलेर खेती गर्ने हो भने आफ्नै गाउँमा जडिबुटीहरुको पनि उत्पादन लिन सकिने बताउने शशी स्वदेशमै गर्न सकिने धेरै सम्भावना भएर पनि हामीलाई विदेश जाने भूत चढ्नु दुःखको विषय भएको बताउँछन् । आज हजारौं रोपनी जग्गा बाँझो राखेर हामी दैनिक १८ घण्टा काम गर्न विदेश गइरहेका छौं तर स्वदेशमा सम्भावना खोजेनौं । सरकारले पनि यसबारेमा उपयुक्त नीति बनाएर विदेशिएका युवालाई स्वदेशमा फर्काउने काम गर्नु पर्ने उनको सुझाव छ ।
काम गर्नका लागि लाज मान्नु हुँदैन, हामी विदेशमा जे काम पनि गर्न तयार हुन्छौं तर स्वदेशका भीरपाखा खन्न किन लाज मान्ने ? हामीले नै त हो देश बनाउने भनेको, हामीले नगरे कसले गर्ने ? शशीको प्रश्न छ । आफू तरकारी खेती गर्नकै लागि जन्मिएको जस्तो लाग्छ उनलाई ।
पनौतीमा अहिले व्यवसायिक कृषिमा आकर्षण बढ्दै गएकाले टनेल बनाएर भाडामा लिएका जग्गाधनीले मात्र होइन, ढुवानी गर्ने यातायातका साधन, गोलभेंडा सहरसम्म लगेर बेच्ने व्यापारी, बीउदेखि मलसम्मको व्यवस्थापन गरिदिने सहकारी संस्थासँगै कृषक र कृषक परिवारले जिविकोपार्जन गरिरहेका छन् । तर स्थानीय तहले खासै सहयोग नगरेको किसानहरुको गुनासो छ । पनौती बजारबाट डेढ किलोमिटर पूर्व लाग्दै गर्दा खरिबोटको दक्षिणतर्फका फाँटैभरी टनेल देखिन्छन् । खरिबोट फाँटमा ८ रोपनी क्षेत्रफलमा ६२ वटा टेनेलामा व्यवसायिक तरकारी खेती गर्दैछन्, ४० वर्षीय बालकृष्ण श्रेष्ठ । झिस्मिसे उज्यालोदेखि झमक्कै रात पर्दासम्म बालकृष्ण र उनकी श्रीमती सरस्वती श्रेष्ठ दम्पती टेनेलामा तरकारी गोडमेलमै व्यस्त हुन्छन् ।
सेनाको जागिर छाडेर, ठेक्का–पट्टाको काममा लागेका बालकृष्णले भूकम्पपछि नयाँ काम गर्ने सोचका साथ व्यवसायिक तरकारी खेतीको सुरुवात गरेका हुन् । उनले २०७२ सालमा आफ्नै जग्गामा ८ वटा टनेलामा गोलभेंडा खेती गरेका थिए । थोरै लगानी र धेरै परिश्रमको प्रतिफलले उनलाई व्यवसायिक खेतीतर्फ डोहो¥यायो । लगानी बढाउँदै गतवर्ष ८ रोपनी जग्गा भाडामा लिएर ५४ वटा टनेल थप गरेको उनले बताए । ‘दुःख गरे अनुसारको राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘नाफा–घाटाको कुरा बजार भाउले निर्धारण गर्छ, भाउ आएको बेलामा राम्रै नाफा लिन सकिन्छ, अहिले बजार राम्रो भएकाले यसपटक नाफा लिन सक्छौं भन्ने सोच बनाएका छौं ।’ १० लाखको लगानी गरेका उनले अहिले यसबाट १५ लाखको आम्दानी निकाल्ने सोच बनाएका छन् ।
श्रम गरे स्वदेशमै कृषिबाटै उज्जवल भविष्य बनाउन सकिन्छ भन्ने उदाहरणीय पत्र बनेका छन्, श्रेष्ठ दम्पती । व्यवसायिक तरकारी खेतीको बारेमा बुझ्न र उनीहरुको परिश्रमको अवलोकन गर्न विभिन्न स्थानबाट मानिसहरु आउने गरेको बालकृष्णले बताए ।
गत वर्ष रासायनिक मलको अभावले दशैभर हाहाकार मच्चिदा पनौती नगरपालिकाका कृषकहरु पनि अछुतो रहेनन् । ५/१० केजी मलका लागि घण्टौं लाइन बस्नेदेखि धर्ना दिएर भएपनि किसानले मलको आपूर्ति गरे । किसानले गत वर्षको जस्तै दुःख यस वर्ष पनि भोग्नुनपरोस् भनेर बेलैमा मल तथा बीउबिजनको आपूर्तिका लागि सहजीकरणमा जुटेका छन् , पनौती–८ का कृषि अभियान्ता प्रदीप केसी बञ्जारा । त्यस्तै किसानलाई हौसला र ऊर्जा थप्नका लागि मध्यमार्ग कृषि सहकारीमार्फत सञ्चालन भइरहेका अनुदानका कार्यक्रममा पनि उनले सहजीकरण गर्दै आएका छन् ।