- धार्मिक आस्था ः कठ्यांग्रिँदो जाडो
- स्वस्थानी व्रतको महिमा
साँखुबाट पनौतीमा श्री पञ्चमी अघिको तृतियाको साँझ आगमन हुन्छ । त्रिवेणीमा पूजा सकिएपछि श्री पञ्चमीको अघिल्लो दिन यहाँबाट फर्कने चलन छ । भक्तपुरबाट सप्तमीका दिन यहाँ आगमन हुन्छ ।
सूर्यप्रसाद लाकोजू
काभ्रे । पनौती पवित्र तीर्थस्थल हो । यहाँ वर्षभरिमा विविध प्रकारका चाडपर्वहरू मनाउने परम्परा रहेको छ । यसका साथै नेपालका अन्य पवित्र तीर्थस्थलहरूबाट पनि यहाँ आएर पर्वहरू मनाउने पुरानो चलन रहेको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म कठोर व्रत बसी विभिन्न तीर्थस्थलहरूको तीर्थातन गर्ने क्रममा यहाँ पनि ब्रतालुहरू आउने, श्रीस्वस्थानी माताको कथा श्रवण गर्ने प्रचलन रहेको छ । यसरी पनौतीमा साँखु र भक्तपुरबाट माधव नारायणको आगमन हुने गर्दछ । यसरी आगमन हुँदा माधव नारायणसँगै ब्रतालु महिला तथा पुरुषहरू पनि आउने गर्दछन् । ब्रत बस्नेहरूले एक महिनासम्म नुन नखाने, एक छाक मात्र खाने गर्दछन् । साँखु र भक्तपुरदेखि तिनीहरू हिँडेरै यहाँसम्म पुग्ने गर्दछन् । यसरी हिँडेर आउँदा जुत्ता लगाउन हुँदैन भन्ने धार्मिक मान्यताका कारण तिनीहरूले जुत्ता, चप्पल पनि लगाउँदैनन् । यस प्रकारको कठोर ब्रतपश्चात् ठूलो पुण्य मिल्ने, चिताएको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
माधव नारायणको यो आगमन भक्तपुर र साँखुबाट हुँदै आएको छ । साँखुबाट पनौतीमा श्री पञ्चमी अघिको तृतियाको साँझ आगमन हुन्छ । त्रिवेणीमा पूजा सकिएपछि श्री पञ्चमीको अघिल्लो दिन यहाँबाट फर्कने चलन छ । त्यस्तै भक्तपुरबाट सप्तमीका दिन यहाँ आगमन हुन्छ । यसरी आएका माधब नारायण टोली त्रिवेणी सत्तल, पुण्य मा.वि. मा बास बस्ने गर्दछन् । भक्तपुरबाट आएको माधव नारायणको टोलीले नगरवासीलाई जानकारी दिने हेतुले आएकै दिनको साँझमा शङ्ख बजाउँदै नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।
भोलिपल्ट विहान सबेरै उठेर ब्रतालुहरू त्रिवेणीमा स्नान गर्दछन् । यसरी स्नान गर्दा आफ्नो आधा शरीर पानीमा डुवाएर लामो समयसम्म बस्ने गर्दछन् । सोही समयमा माधव नारायणको मूर्तिलाई पनि स्नान गराइन्छ । यो स्नान गर्दाको दृष्य हेर्ने मानिसहरूको ठूलो भीड लाग्ने गर्दछ । माघ महिनाको कठ्याङ्ग्रिने जाडोमा यसरी स्नान गरिसकेपछि आगो ताप्नका लागि स्थानीय वासिन्दाले पराल, छ्वाली, दाउरा लगिदिने गर्दछन् । नुहाएर चोखो भएपछि श्री स्वस्थानी माताको कथा श्रवण गर्ने काम हुन्छ । यस दिन माधव नारायणको पूजा गर्न स्थानीय सर्वसाधारणको घुइँचो लाग्दछ । माधव नारायणको दर्शन गर्न र ब्रतालुहरूलाई फलफूल, गेडागुडी, पैसा चढाउनेहरूको पनि भीड नै लाग्छ ।
यो पर्वको मूख्य आकर्षण भनेको यसका ब्रतालु पुरुषहरू हुन् । उनीहरू त्रिवेणीघाट, इन्द्रेश्वर मन्दिरको प्राङ्गण लगायतका स्थानहरूमा पल्टंदै, घस्रँदै भगवानको आराधना गर्ने गर्दछन् । उनीहरूको शरिरमा लुगा हुँदैन । कम्मरसम्म धोती बाँधेका हुन्छन् । माघको जाडोमा पनि उनीहरू यसरी पल्टीमार्दै भगवानको नाम जप्दै अगाडि बढ्छन् । पल्टीमार्दै अगाडि बढ्दै जाँदा महिला व्रतालुहरू भने जल छर्कंदै माधव नारायण भन्ने गर्दछन् ।
यसरी एकचित्त भई महिना दिनसम्म श्रीस्वस्थानीको ब्रत बस्ने क्रममा पनौती त्रिवेणी धामलाई पवित्र तीर्थ मानेर श्रद्धापूर्वक यहाँ आउने गर्दछन् । आएको भोलिपल्ट फर्कने चलन छ । यस वर्ष पनि शुक्रबार परेको हिउँपानी वर्षासँगै साँखुका माधवनारायणका व्रतालुहरु पनौतीको मेलास्थलमा स्नान गरी पूजाआजामा सक्रिय रहेका छन् । व्रतालुहरु शनिबार साँखु नै फर्केका छन् ।