बनेपा । एसिया प्यासिफिक रिजनका सदस्य राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिविज्ञले पनौतीमा सञ्चालित जैविक विषादी प्रयोगशाला तथा पनौती क्षेत्रमा लगाइएको आलु खेतीको अवलोकन गरेका छन् ।
एसिया प्यासिफिक प्लान्ट क्वारेन्टाइन कमिसन तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँको संयुक्त आयोजनामा भएको जैविक विषादी व्यवस्थापन सम्बन्धी तालिमका सहभागीले पनौतीमा भएको जैविक विषादी प्रयोगशालाको अवलोकन गरेका हुन् ।
पनौती आएको नेपाल लगायतका एसिया प्यासिफिक रिजनका १२ देशका करिब ५० जना कृषिविज्ञ तथा वैज्ञानिकले पनौती नगरपालिका–१ मा सयपत्री आइपिएम कृषक समूहले सञ्चालन गरेको जैविक विषादी प्रयोगशालामा उत्पादित जैविक विषादीका बारेमा जानकारी लिएका थिए । अवलोकनका क्रममा समूहका अध्यक्ष तथा आइपिएम सहजकर्ता रीतकुमार सापकोटाले जैविक प्रयोगशाला स्थापना तथा जैविक विषादीको उत्पादन तथा प्रयोग गर्ने विधिका बारेमा जानकारी दिएका थिए ।
जैविक विषादी प्रयोगशालाको अवलोकनपछि उक्त टोलीले पनौती नगरपालिका–१० मा आलुमा प्रयोग गरिएको मल्चिङ प्रविधि तथा आलु खेतीका बारेमा अवलोकन गरेको थियो । पनौती नगरपालिका–१ मा रहेको जैविक विषादी प्रयोगशालाको स्तरोन्नति तथा क्षमता विकास गर्नका लागि सरकारी तथा गैरसरकारी निकायबाट पहल गर्ने विषयमा नगर प्रम्रख रामशरण भण्डारी र कमिसनका सचिव जिसीबिच छलफलसमेत भएको थियो ।