ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । हरियो फाँटमा सेता गह्रा । एउटा मात्र होइन सयौं रोपनी जग्गामा बनाइएका प्लाष्टिकका घर । मानौं कुनै ठूलो मानव बस्ती र सेतो रंगले छाएका घरहरुले भरिएको गाउँ जस्तै । ती घरभित्र गोलभेंडाका बिरुवामा लटरम्म फलेका फल । टाढाबाट पहिलो पटक पुग्नेलाई स्वर्गझैं लाग्ने काभ्रेको पनौती नगरपालिका–८ खरिबोटको सौन्दर्यले जो कोही लोभिन्छन् । अझ त्यहाँका परिश्रमी कृषकको पौरख देख्दा त कति आनन्द लाग्छ ।
यस फाँटमा अहिले करिव ५ सय किसानले तरकारी खेती गरिरहेका छन् । उनीहरुले सिजनअनुसारका तरकारी गोलभेंडा, काउली, बन्दा, काँक्रा, भन्टा, करेला लगायत रोपेका छन् । केही वर्ष पहिले धान, मकै, गहुँ लगायतका परम्परागत बाली लगाउँदै आएका यहाँका किसान पछिल्ला वर्षमा भने तरकारी खेतीतर्फ लागेका छन् । वर्षमा ५० हजारको पनि धान नफल्ने खेतमा अहिले तरकारी खेतीबाट वार्षिक ५ लाखसम्म आम्दानी लिने किसानको संख्या यहाँ धेरै छ ।
यहाँका अधिकांश किसानहरुले तरकारी खेतीका लागि तालिम भने लिएका छैनन् । अरुले गरेको देखेरै तरकारी लगाउनेको संख्या धेरै छ । सदरमुकाम धुलिखेल नजिकै भएर पनि पनौतीका किसानले सरकारबाट खासै सुविधा र सहुलियत पाएका छैनन् । तर पनि तरकारी खेती उनीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । तरकारी खेती नगर्दा यहाँका किसानले घरखर्च चलाउन पनि निकै समस्या झेलिरहेका थिए । तर अहिले ती दिन सकिए । अब सामान्य खर्च चलाउन मात्र नभएर छोराछोरीलाई पढाउन र केही रकम बचत गर्न पनि उनीहरु सक्षम भएका छन् ।
पनौती–८ का किसान बालकृष्ण श्रेष्ठले तरकारी खेती गर्न थालेको अहिले ८ वर्ष भयो । ०७२ सालको विनाशकारी भूकम्प जाँदा उनले आफ्नो डेढ रोपनी जग्गामा तरकारी खेती थालेका थिए । त्यतिबेला थोरै खेती गरेको भए पनि कमाइ राम्रै भयो । त्यस यता तरकारी खेतीकै भरमा उनले २ तलाको पक्की घर बनाए । अहिले उनले थप ८ रोपनी जग्गा भाडामा लिएका छन् । वार्षिक १ लाख ४० हजार त जग्गाको भाडा नै तिर्नुपर्छ । यसपटक उनले साढे ९ रोपनी जग्गामा गोलभेंडा खेती गरेका छन् । ६२ वटा टनेलमा खेती गरेको गोलभेंडाले अहिले फल दिन थालेको छ । यसबाट घर बनाउँदाको ऋण चुक्ता गर्ने श्रेष्ठ दम्पतीको आशा छ । ‘राम्रो भाउ आए त कमाइ पनि राम्रै हुन्थ्यो ।’ बालकृष्ण भन्छन् , ‘सरकारले किसानका समस्या हेरेर उत्पादित तरकारीको खरिद गरिदिने वातावरण बनाइदिने हो भने किसानलाई खेती गर्न कुनै समस्या हुँदैनथ्यो ।’
उनी एउटा प्रतिनिधि मात्र हुन् । बालकृष्ण जस्तै थुप्रै किसान यतिबेला तरकारी खेतीमा संलग्न छन् । उनीहरुको तरकारी खेतीलाई सहजिकरण गरिदिएको छ मध्यमार्ग कृषि सहकारी लिमिटेडले । संस्थाले यहाँका किसानका लागि अनुदानमा रासायनिक मल, प्लाष्टिक टनेल, ट्याक्टर, स्प्रे पम्प, बीउ, विषादी लगायतका कृषि सामाग्री पनि पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । कृषि ज्ञान केन्द्र धुलिखेलको सहयोगमा सो संस्थाले यहाँका किसानका लागि कृषि सामाग्री उपलब्ध गराउँदै आएको छ । यस वर्ष गएको चैतमा संस्थाले १२ सय वटा टनेल, २० वटा हातेट्याक्टर, १०० वटा स्प्रे र करिब १० लाख बराबरका मल, बीउ र विषादी अनुदानमा वितरण गरेको थियो । यसबाट आफूहरुले धेरै राहात पाएको यहाँका किसान बताउँछन् ।
परम्परागत खेतीमै रमाइरहेकी खरिबोटकै सरस्वती बञ्जारालाई केही साथीहरुले तरकारी खेती गरौं भनेर उक्साए । के हुन्छ त भनेर उनले पनि सिजनअनुसारका तरकारी खेती थालिन् । नसोचेको फाइदा भएपछि अहिले उनले करिब ४ रोपनी जग्गामा तरकारी रोपेकी छिन् । यसबाट सबै खर्च कटाएर १० लाख जति बचत गर्ने उनको सोच छ । केही महिनाअघि बजार भाउ कम भएको थियो । त्यसबेला लगानी पनि नउठ्ला की भन्ने डरले सताएको थियो । तर अहिले गोलभेंडाको भाउ ह्वात्तै बढेको छ । जसले गर्दा जाँगर बढेको बञ्जारा बताउँछिन् । काम गर्दा धेरै दुःख छ तर मध्यमार्गको सहयोगले आफूहरुले धेरै राहात महसुस गरेको उनको अनुभव छ ।
यहाँका किसानले उत्पादन गरेको तरकारीले काभ्रेको बनेपा, पनौती, धुलिखेलका साथै काठमाडौंका बजारमा राम्रै ठाउँ पाएका छन् । यति मात्र नभएर चितवन र पोखरासम्म पनि पुर्याउने गरिएको व्यापारीहरु बताउँछन् । अन्तर्राष्ट्रियस्तरमा पनि यहाँको गोलभेंडाको माग धेरै छ । विशेषगरि बंगलादेशबाट माग आएको भए पनि कानुनी जटिलताले गर्दा पठाउन सकिएको छैन । सरकारले यतातिर ध्यान दिन सके पनौतीका तरकारी निर्यात गर्ने बाटो खुल्ने स्थानीय व्यापारी महेश्वर बञ्जारा बताउँछन् । उनका अनुसार यहाँको गोलभेंडा भारतमा पनि माग छ ।
‘तरकारी खेती गर्छु मात्र भनेर नहुने रहेछ । यसका लागि सीप, जाँगर र बजार उत्तिकै जरुरी रहेछ । नत्र लगानी मात्र डुब्ने रहेछ ।’–स्थानीय किसान रामशरण थापा भन्छन् । उनले अन्दाजकै भरमा तरकारी खेती थालेका हुन् । तरकारी खेती नजान्दा गत वर्ष उनले लगानी पनि उठाउन सकेनन् । तर यस वर्ष भने आम्दानी राम्रै छ । किसानले खेती गरे पनि फाइदा विचौलियाले पाउने गरेकाले सोचेजसरी आम्दानी लिन नसकिएको उनले गुनासो गरे । तरकारी खेतीमा विषादी प्रयोग गर्न नजान्दा समस्या भएको उनको अनुभव छ । ४ रोपनी जग्गामा खेती गरिए पनि सबै आफ्नै तरिकाले गरिएकाले सोचेजस्तो अझै नभएको थापा बताउँछन् । तरकारी खेतीको पकड क्षेत्र भए पनि यहाँ अहिलेसम्म तालिम दिने र प्राविधिक ज्ञान दिने कोही पनि विज्ञ आएका छैनन् । तैपनि यतिसम्म उत्पादन हुन सक्नु ठूलो कुरा भएको थापाको बुझाइ छ । कृषि ज्ञान केन्द्र लगायत यहाँ अनुदानमा कृषि सामाग्री उपलब्ध गराउने मध्यमार्ग कृषि सहकारीले आवश्यक तालिममा पनि सहयोग गरे यहाँ तरकारी खेतीमा लाग्ने किसानको संख्या अझ बढ्ने उनले बताए ।
पनौतीकै कृषक शालिकराम बञ्जाराले ४ वर्षदेखि तरकारी खेती गर्न थालेका हुन् । पहिले व्यवसाय गर्ने उनी राज्यले व्यवसायीका समस्याप्रति बेवास्ता गरेपछि तरकारी खेतीमा लागेका हुन् । विदेश जाने युवायुवतीलाई स्वदेशमै काम गर्न सकिन्छ भन्ने सन्देश दिने उनी एक रोपनी जग्गामा तरकारी खेती गर्ने हो भने ४ जनाको परिवारको घरखर्च चलाएर केही रकम बचत पनि गर्न सकिने बताउँछन् । करिब ८ रोपनी जग्गामा तरकारी खेती गरेका बञ्जाराले अहिले ४० वटा टनेलमा गोलभेंडा लगाएका छन् । नगरपालिकाले किसानलाई तरकारी खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएर सहयोग गरे अरु नयाँ किसानलाई यस व्यवसायमा भित्र्याउन सकिने उनको भनाइ छ ।
किसानहरुले उत्पादन गरेका तरकारी नजिकैको संकलन केन्द्रमा लगेर बेच्छन् । दैनिक ४ गाडीसम्म तरकारी यहाँ संकलन हुने गरेको छ । सिजन अनुसारका सबैखाले तरकारी संकलन गरेर कालीमाटी, चितवन, पोखरा लगायतका बजारमा पठाइने गरिएको तरकारी संकलक रामेश्वर बञ्जारा बताउँछन् । यहाँका किसानले दैनिक रोजगारी त पाएका छन् नै व्यापारी र केही श्रमिकहरुले पनि रोजगारी पाएको उनको भनाइ छ । यहाँका किसानले तरकारी खेती गरिरहे पनि समस्या धेरै नै भएकाले सरकारले ध्यान दिन जरुरी रहेको बञ्जाराको अनुरोध छ ।
आफूले लामो समय पत्रकारितामा बिताउँदा र विभिन्न ठाउँमा गएर समाचार संकलन गर्दा धेरैजसो किसानले धेरै समस्या भोगेको देखेपछि आफूले किसानका लागि सहयोग गर्नकै लागि कृषि सहकारी संचालन गरेको मध्यमार्ग कृषि सहकारी संस्थाका अध्यक्ष प्रदीप केसी बताउँछन् । आफूले किसानलाई गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने उनले बताए । यस वर्ष मात्र करिब ७० लाख बराबरको कृषि सामाग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए । जसमा आधा रकम किसानले बेहोरेका छन् भने बाँकी रकम कृषि ज्ञान केन्द्र र संस्थाले बेहोरेका छन् । यस भेगका किसानले संस्थाको सहयोगको उच्च मूल्यांकन गरेका छन् । संस्था नभएको भए खेती गर्नै नसकिने उनीहरुले बताए । देशभर चरम अभाव रहेको रासायनिक मलको सहज आपूर्ति गराएर संस्थाले आफूहरुलाई ठूलो गुन लगाएको कृषकहरु बताउँछन् ।
समग्रमा पनौती र तरकारी खेती एक अर्काका परिपुरक भएका छन् । यहाँका किसानहरु आफूहरु तरकारी खेती गर्नकै लागि जन्मिएको भन्ने अनुभव सुनाउँछन् । यी किसानका लागि अब केन्द्र सरकार, प्रदेश र स्थानीय तहले सक्दो सहयोग गर्नैपर्छ । यसो गर्न सके मात्र तरकारी आयात रोकेर निर्यात गर्न सकिन्छ भने तरकारी किन्नकै लागि वर्षेनी अर्बौं रकम विदेश पठाउनु पर्ने अवस्था रहँदैन । यसतर्फ सरकारले बेलैमा सोच्नु जरुरी छ ।