पनौतीको ज्यालाचिटीमा ‘एक घर, एक धारा’ अभियान सम्पन्न

पनौती । पनौती नगरपालिका वडा नम्बर–४ ज्यालाचिटीमा घर–घरमा स्वच्छ खानेपानी पुर्याइएको छ । २०६८ सालमा सुरु गरेको आयोजना १२ वर्षपछि पूरा भएसँगै यहाँका घरघरमा खानेपानी पुगेको हो । वडा नम्बर–४, पनौती नगरपालिका र वागमती प्रदेश सरकारको सहयोगमा एक घर, एक धारा अभियान सफल भएको हो ।

अहिले यहाँका २७२ घरमा खानेपानीको धारा जडान गरिएको छ । उक्त कार्यको मंगलबार एक कार्यक्रमबीच वागमती प्रदेशका ऊर्जा खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामा, खानेपानी डिभिजन तीन नम्बरका प्रमुख इन्जिनियर अनिलकेशर शाह, पूर्वकृषिमन्त्री वसुन्धरा हुमागार्इं, नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बन्जाराले संयुक्तरुपमा उद्घाटन गरे ।

वागमती प्रदेश सरकारबाट विनियोजन भएको १५ लाख, काभ्रे मावि पनौतीबाट ५० हजार ३५५, जनश्रमदान १४ लाख ३ हजार ९७८ तथा नगरपालिकाबाट पाइप खरिदको लागि २ लाख २३ हजार ७०९ सहयोगमा आयोजना सफल भएको ज्यालाचिटी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक थापाले जानकारी दिए । आयोजना निर्माणका लागि स्थानीयवासीहरुबाट पनि रकम संकलन गरिएको थियो । जस अन्तर्गत पुराना उपभोक्ता २ सय १५ घरधुरीबाट ५ हजार र नयाँ उपभोक्ता ५७ घरधुरीबाट ९ हजार ५ सयका दरले रकम उठाइएको हो । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत काम छिट्टै सम्पन्न गरेर आगामी साधारण सभामा सम्पूर्ण विवरण पेश गरिने आयोजनाले जनाएको छ ।

असोज ९ गतेबाट थालिएको ट्यांकी निर्माण कार्य उपभोक्ता समितिले माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा अघि नै काम सम्पन्न भएको हो । यसअघि २० हजार लिटर क्षमताको ट्यांकीमार्फत पानी वितरण हुँदै आएको थियो । अब नवनिर्मित ट्यांकी ९२ हजार लिटर क्षमताको बनाइएको छ । जसले गर्दा पानी वितरणमा सहज हुने उपभोक्ता समितिको विश्वास छ । समितिले घरमा धारा जोड्नका लागि निवेदन माग गरे बमोजिम ३ सय २० घरधुरीले निवेदन दिएका छन् । उपभोक्ता समितिका कार्यसमिति सदस्य सुमित्रा केसीले आयव्यव विवरण प्रस्तुत गरेको कार्यक्रममा आयोजनाका सचिव दिपक थापाले वडामा रहेको खानेपानीको समस्याका बारेमा पुराना कुराहरु बताएका थिए ।

कार्यक्रममा मन्त्री लामाले वागमतीमा शुरु भएका आयोजना मध्ये यो पहिलो सम्पन्न आयोजना भएको चर्चा गर्दै पनौतीका १२ वटै वडामा एकमुस्ट प्राविधिक स्टमेट तयार गरि प्रदेशमा पेश गर्न नगरप्रमुखलाई निर्देशन दिए । खानेपानी पुर्याउन कन्जुस्याईं नगर्ने बताउँदै उनले सिंचाई, बाटोघाटो र कृषिमा अहोरात्र खटिएर लाग्ने बचनबद्धता व्यक्त गरे । साथै समाज बनाउन पार्टीभन्दा माथी उठेर काम गर्न निर्वाचित जनप्रतिनिधीलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा पूर्वकृषिमन्त्री हुमागाईंले पनौती नगरपालिका ऐतिहासिक नगरलाई व्यवस्थापन गर्न शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनका हिसावले भरिपूर्ण रहेको बताउँदै खानेपानीको सवालमा कुरा गर्नु पर्दा पनौतीको भागमा मात्र एकीकृत खानेपानीको प्रतिसेकेण्ड ३४ लिटर आउने पानी बचाउने गर्ने पालिकाको हातमा रहेको र सबै वडामा खानेपानी पु¥याउन सकिने बताए । पनौतीमा सबै वडामा खानेपानी पुर्याउन डिपिआरसहित संघीय र प्रदेश सरकारसँग समन्वय गर्न नगरप्रमुख लगायतका अन्य जनप्रतिनिधीलाई नगरपालिकाले केही रकम विनियोजन गर्न सके आयोजना सफल हुने उनले बताए ।

नगरप्रमुख भण्डारीले एकीकृत खानेपानीबाट पानी खुवाउन खोज्दा विवाद भएर अहिलेसम्म बोर्डको बैठक बस्न नसकेको गुनासो गर्दै खानेपानी खुवाउन स्थानीयस्तरबाट सहयोग गर्न तयार रहेको बताए । उनले इसिमोडको सहयोगमा खानेपानीको मुहान संरक्षणको काम थालिएको जानकारी दिए । यस वर्ष मात्र चामखर्क, सल्ले, खरिबोट, भगवानडाँडामा खानेपानीको उपभोक्ता समिति बनाएर काम थालनी उल्लेख गरे ।

उपभोक्ता समितिले आफू विभिन्न समस्यासँग जुधिरहनु परेको समेत औंल्याएको छ । मुहानबाट सिधै ट्यांकीमा पानी आउने भएकाले पानी सफा राख्न फिल्टर प्लान्टको व्यवस्थापन गर्नुपर्ने, खानेपानीको सिमित स्रोतबाट बढ्दो जनसंख्यालाई नियमित पानी वितरण गर्न कठिनाई भएकाले वैकल्पिक स्रोतको व्यवस्थापन हुनुपर्ने लगायतका समस्या रहेको ज्यालाचिटी खानेपानी उपभोक्ता समितिका सदस्य अकलसिंह थापाले जानकारी दिए । ढिलै भए पनि खानेपानी पाएपछि यहाँका स्थानीय खुशी भएका छन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *