पनाैती/पनौती नगरपालिकाको १३ औं नगर सभा सोमबार २०८०/०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्ययसहितको बजेट पास भएको छ । सभाले २०७९/२०८० को वार्षिक प्रतिवेदन तथा नगरपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ।
नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । असार १० गते शुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । कर्मचारीसम्बन्धी ओएनम सर्वेसम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुन सकेको थिएन ।
सोमबार आयोजित सभामा उक्त प्रस्ताव कार्यसूचीमा समावेश गरिएन । सभामा नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँटबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित जोडेर १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।
नगर प्रमुख रामशरण भण्डारीले आगामी वर्ष नगर स्तरीय योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताउनु भयाे । सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगर स्तरीय सबै र वडा स्तरीय १० लाख रुपैयाँभन्दा माथिका सबै योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख गरिएको छ। बजेटमा जनसहभागितामार्फत ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ।
डिजिटल पनौतीको अवधारणलाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने, भूमिहीन सुकुम्बासीहरुलाई धनी प्रमाणपूर्जा वितरण गर्ने, प्रदुर्षण नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगर भित्र औद्योगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने, खोपासी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा रूपान्तरण गर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इ लाइब्रेरी सर्भरको व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई संघ संस्था एवं नगरको सहकार्यमा तीर्थाटन गर्ने उल्लेख गरेको छ।
नगर सभामा अर्थ विधेयक वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने विनियोजन विधेयक वडा अध्यक्ष विपेन्द्र लामाले प्रस्तुत गर्नु भएको थियो । २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । लेखा समिति गठन कार्यविधि २०८० सम्बन्धी प्रस्ताव वडा अध्यक्ष जयराम केसीले प्रस्तुत गर्नु भयो भने लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष शहकुलकुमार हुमागाईँले प्रस्तुत गर्नु भयो ।