पत्रकारिता यस्तो क्षेत्र जुन आफैंमा एउटा महाविद्यालय हो । मोफसलमा रहेर कष्टप्रद ढंगले सक्रिय पत्रकारिता गर्नेहरुका लागि त असिमिति विषयमा ज्ञान आर्जन गर्ने मौका मिल्छ । पत्रकारितामा सक्रिय रहेकाहरु विविध क्षेत्रमा प्रवेश गर्ने र सफलता हासिल गरेबाट यो पुष्टि हुन्छ । भरर्खरै स्थानीय तह सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट जनप्रतिनिधि छनोट गरि कार्यभार समेत सम्हाली सकेका छन् । काभ्रेका विभिन्न स्थानीय तहमा पालिका तथा वडा स्तरमा जनप्रतिनिधिका रुपमा झण्डै आधा दर्जन पत्रकारहरु पनि जनप्रतिनिधिका रुपमा छनोट हुन पुगेका छन् । यो पत्रकारिता क्षेत्रको लागि पनि गौरवको विषय हो ।
विभिन्न बाधा व्यवधान बिच पनि निरन्तर प्रकाशमा आउन सफल मध्यमार्ग साप्ताहिक पाठक माझ परिचित छ । पाठकमाझ साप्ताहिक कति परिचित छ , कति लोकप्रिय छ त्यो पाठकबाट नै मूल्यांकन हुनु उपयुक्त रहन्छ । तर हामी त्यही लोकप्रियताका लागि निरन्तर प्रयासरत छौ । मध्यमार्गलाई पाठकमाझ लोकप्रिय बनाउन लामो समय सहयात्रा गरेका हाम्रा एक सहकर्मी पनि स्थानीय निर्वाचनबाट जनअनुमोदित भएका छन् । साप्ताहिकको कार्यकारी सम्पादकमा निरन्तर कार्यरत मधुसुदन तिमल्सिनाले बेथानचोका गाउँपालिका वडा नं १ को वडा अध्यक्ष पदको जिम्मेवारी पाएका हुन् ।
२०६३ अगाडि पत्रकारिता क्षेत्र समस्याका बिच जेनतेन संचालन भइरहेको थियो । कठिन परिस्थिति बिच मध्यमार्ग निरन्तर प्रकाशित थियो । तत्कालिन समयमा संजिवनी पत्र साप्ताहिकमामा आवद्ध रहेका मित्र नवराज सापकोटा मध्यमार्गका नजिकको सहयोगी मध्येका एक थिए । मध्यमार्ग संचालनका लागि उहाँसँग एकजना पत्रकारिता प्रति चासो राख्ने मेहनती युवाको खाँचो रहेको मैले बताएको थिएँ । नभन्दै एक सोझो हेर्दा मेहनती झै देखिने एक युवालाई उहाँले पत्रकारिता क्षेत्रमा भविष्य देखाउने जिम्मेवारीका साथ मेरो जिम्मा लगाइदिनुभयो उनै थिए मधुसुदन तिमल्सिना । स्नातक तहमा अध्ययन गर्दै गर्दा उनको पत्रकारिता क्षेत्रमा प्रवेश भयो । उनको लगाव, मेहनत तथा रुचिका कारण छिट्टै पत्रकारिताका भाषा बुझे र समाचारको क्षेत्रमा उनको कलम चल्न थाल्यो । सामाजिक सम्त्रन्ध विस्तारमा छोटो समयमै उनले धेरै व्यक्तिहरु सँग सम्बन्ध विस्तार गर्न सफल भए । आफ्नो सिप र खुबीका कारण नेपालकै गौरवपूर्ण इतिहाँस रहेको गोरखापत्र दैनिकको जिल्ला समाचारदाताको जिम्मेवारी पाए । उक्त दैनिकमा एक दशक लामो अनुभव बटुले । पछिल्लो समय सम्म आइपुग्दा झण्डै आधा दर्जन मिडियाहरुमा उनको संलग्नता रहेको थियो ।
पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ काभ्रेको सह सचिव ,लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन काभ्रेको सचिव पद समेत समालेका तिमल्सिनाको राजनीति तथा समाजिक सेवामा पनि उत्तिकै चासो रहेको थियो । जसको परिणाम स्थानीय तह निर्वाचनका लागि उनले बेथानचोक गाउँपालिका वडा नं १ का लगि वडा अध्यक्ष पदमा टिकट पाए र जनमतबाट अनुमोदित भए । पत्रकारितामा मध्यमार्गबाटै पर्दापण गरेका तिमल्सिनाले जिल्लामा पत्रकारिता क्षेत्रमा रहेर पुर्याएको भूमिका महत्वपूर्ण छ । समाजको विकासका लागि तिमल्सिना जस्ता जुझारु युवाहरुको खाँचो छ । जसले आफ्नो मेहनत, परिश्रम, लगाव तथा हाल सम्मको सम्बन्धलाई समाज विकासमा लगाउन सकुन ।
तिमल्सिनाको कार्यकालमा यिनै विषय अपेक्षा गरिएका छन् । पत्रकारितामा रहँदा अनुभव गरिएका, बुझिएका, सफल राजनीतिज्ञहरुबाट अनुसरण गरिएका विषयलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्नु नै सफल हुनु हो । तिमल्सिनाको कार्यकुशलतामा यी विषयले प्रभाव पारुन । राजनीतिक क्षेत्रमा यो पद पहिलो खुटकिलो बन्न सकोस । माथिल्लो खुटकिलोका लागि बाटो खुलोस । भावी राजनीतिक जीवन सफल र सुखद बनोस मध्यमार्ग साप्ताहिक टिमको तर्फबाट यहीँ शुभकामना प्रदान गदछौ ।