ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० का अग्रज समाजसेवी पण्डित बाबुराम नेपालले संकलन र लेखन गर्नुभएको पुस्तक ‘नेपाल वंश दर्पणः मण्डन’ को शुक्रबार विमोचन गरिएको छ ।
मण्डनदेउपुर–१० स्थित आँपघारीमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको पूर्वप्रधानमन्त्री एवं नेपाल वंशज परिषद्का आजीवन सदस्य माधवकुमार नेपालले विमोचन गर्नुभएको हो । सो अवसरमा उहाँले ८५ वर्षिय लेखक बाबुराम नेपालबाट हामी युवापुस्ताले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । लेखकहरुलाई हामी सबैले उचित महत्व दिनसक्नु पर्ने बताउँदै नेता नेपालले पुस्तक लेख्नु सजिलो विषय नभएको र अझ खोजमुलक सामाग्री पुस्तकका रुपमा सार्वजनिक गर्नु निकै ठूलो काम भएको बताउनुभयो ।
‘नेपाल वंश दर्पणः मण्डन’ नेपाल वंशका दाजुभाई दिदीबहिनीका लागि निकै नै महत्वपूर्ण र ऐतिहासिक दस्तावेज हुने भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहनुभएका नेपालले आफूले शुरुवातमा नेपाल थर लेख्ने नगरेको तर पछि मात्र यसलाई निरन्तरता दिएको स्मरण गर्नुभयो । पुस्तक लेख्ने जो कसैलाई राज्यले पनि विशेष महत्व दिएर प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । देशभर छरिएर रहनुभएका नेपाल थर हुनुभएका सबैले प्रस्तुत पुस्तकबाट धेरैकुरा सिक्न सक्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा लेखक नेपालले आफूले करिब २० वर्षको खोज र अनुसन्धानबाट यो पुस्तक तयार पार्न सकेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल वंशज परिषद्का केन्द्रीय अध्यक्ष अनिलकुमार उपाध्याय नेपालले प्रस्तुत पुस्तक समग्र नेपाल वंशको इतिहासमा कोशेढुंगा हुने विश्वास व्यक्त गर्दै पुस्तक लेखनको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नेपाल वंशज परिषद्का महासचिव समिर नेपालले बाबुराम नेपालको अथक प्रयासबाट यो पुस्तक तयार भएको भन्दै पुस्तकमा समेटिएका विषयहरुमाथि चर्चा गर्नुभयो । नेपाल वंशज परिषद्का केन्द्रीय उपाध्यक्ष जनार्दन नेपालले बाबुराम नेपालको व्यक्तित्वबाट आफू निकै प्रेरित भएको उल्लेख गर्दै उहाँका आगामी कार्यहरुमा सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल, नेपाल वंशज परिषद् काभ्रेका अध्यक्ष प्रदीपकुमार नेपाल, मण्डनदेउपुर–१० का वडाध्यक्ष कुमार तामाङ, पौडेल वंश महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष दीपकप्रसाद पौडेललगायतले प्रस्तुत कृतिको महत्वमाथि प्रकाश पार्दै आगामी पुस्ताका लागि यो एक संग्रहणीय ग्रन्थ भएको बताउनुभयो । नेपाल वंशका मण्डनभेगका जेष्ठ नागरिक विद्याकुमारी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वंश दर्पण प्रकाशन समूहका व्यस्थापक पुरुषोत्तम नेपालले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । वंश दर्पण समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तक प्रकाशनमा सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई प्रमुख अतिथि माधवकुमार नेपालले सम्मान पनि गर्नुभएको थियो ।