काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा समेटिएको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ ।
विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल लम्साल र डा. विपिन नेपालको उक्त चिकित्सा शब्दसागरमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्दहरु छन् । उक्त शब्दकोष अंग्रेजी र नेपाली भाषामा छ । ८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’ १९२० पेजको रहेको छ । यसलाई शब्दार्थ प्रकाशनले प्रकाशन गरेको हो । यस प्रकाशनले यस अघि गणित शब्दकोष पनि सार्वजनिक गरिसकेको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच प्रा.डा दिव्यासिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले ‘चिकित्सा शब्दसागरको संयुक्तरुपमा विमोचन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिब्यासिंह शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ ले चिकित्सा विज्ञानलाई नेपाली बुझ्न सघाउने बताइन् । उनले नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै लेखक तथा सम्पादकलाई धन्यवादसमेत दिइन् ।
प्रा. राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रम यादव भट्टराईले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा सम्पादक विनयकुमार शर्मा नेपालले स्वागत गर्दै पुस्तकको गर्भको इतिहास बताए । यसैगरी पुस्तकको बारेमा प्राडा. लक्ष्मण गौतमले प्रकाश पारेका थिए ।