नेपालमा हवाईक्षेत्रका काला दिन (दुर्घटनाको इतिहाससहित)

ज्ञानमणि नेपाल “कालोटोपी”
नेपालको हवाईक्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुले बेला बेलामा प्रतिवेदनहरु सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष थपिने गरेका हवाई दुर्घटनाले नेपालको हवाई क्षेत्रलाई असुरक्षित मानिएको हो ।
आइतबार (माघ–१ गते) काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज उडेको १८ मिनेटमा पोखरामा दुर्घटनाग्रस्त भएको छ । जसमा ७२ जनाको मृत्यु भयो । मौसममा कुनै खराबी नहुँदा र विमानमा पनि केही प्राविधिक गडबढी नहुँदा पनि भएको भयानक दुर्घटनाले देश शोकमा डुबेको छ । नेपालमा विमान दुर्घटनाहरु कहिले र कसरी भएका थिए त भनेर हामीले यसपटक दुर्घटनाको इतिहास केलाउने प्रयास गरेका छौं ।
नेपालमा पहिलो विमान दुर्घटना विसं २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो । त्यस्तै विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जनाको दुःखद् निधन भएको थियो । त्यसपछि साना–ठूला दुर्घटनाहरु थपिंदै गए । सडक दुर्घटना जस्तो विमान दुर्घटनामा यात्रीहरुलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरु ज्यादै कम मात्रामा आउने भएपनि केही मात्रामा घाइते भएका घटनाहरु पनि नभएका होइनन् । हुन त कुनैपनि दुर्घटना राम्रो होइन । तर पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै, त्यसमा पनि पछिल्लो पाँच वर्ष यता वर्षेनी झण्डै २ वटाको दरमा भएका विमान दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ । नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र वढी मानवीय क्षति भएको दुर्घटना आजभन्दा ३० वर्ष अगाडि विसं. २०४९ साल असोज १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ नेपालीसहित विमानमा सवार सबै १६७ जना यात्रीको दुःखद् निधन भएको थियो । संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । विसं २०४८ सालमा रसुवाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानवीय क्षति हुन पूगेको दुर्घटनाको रुपमा रहेको छ ।
विगत १७ वर्ष यता नेपाली आकाशमा भएका विमान दुर्घटनालाई सर्सती हेर्ने हो भने नेपाली आकाशमा विसं. २०६३ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाए । हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो । यस दुर्घटनामा तत्कालिन वनमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।
२०६५ साल असोज २२ गते सोलुखुम्बुको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । त्यसैगरि २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । ०६७ कै मंसिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीले ज्यान गुमाउनु पर्यो । यस्तै विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यकाभित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको उपत्यकावासी र सम्पूर्ण नेपालीहरुको लागि अविष्मरणिय घट्ना हुन पुगेको छ । यसपछि पनि पटक–पटक विमान दुर्घटनाका श्रृंखला दोहोरिइरहे । यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलो चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जनाको निधन भएको थियो । ०७३ सालको साउन महिनामा ३ वटा विमान दुर्घटना भएका थिए । ०७४ को जेठ महिनामा पनि नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भएका थिए । जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा चालक पारशकुमार राईको ज्यान गयो भने १७ गते बाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङ्गसहित २ जनाको निधन भयो । ०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनको रुपमा लेखिएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा त्रिभुवन विमानस्थलको रनवेमै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ यात्री सवार थिए । जसमध्ये केहीलाई घटनास्थलबाट जिवितै उद्धार गरिए पनि ५१ जना यात्रीको दुःखद निधन भएको थियो । दुर्घटनामा मानवीय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो । त्यसलगत्तै अरु २ वटा विमान पनि दुर्घटनामा परेका थिए । इतिहासले देखाए अनुसार ०७५ जेठ २ गते मकालु एयरको कार्गो विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको केहिबेरमै दुर्घटनामा परेको थियो । यस दुर्घटनामा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको निधन भयो । पछि सोही वर्ष मंसिरमा पनि विमान दुर्घटना भएको थियो । पछिल्लो पटक ०७५ फागुन १५ गते पनि हवाई दुर्घटना भएको थियो । एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको फुङलिङको तारेढुंगा भीरमा दुर्घटना भएको हो । सो दुर्घटनामा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो । गत ०७९ जेठ १५ मा पनि नेपाली हवाई क्षेत्रमा दुःखद घटना भएको थियो । तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भोलिपल्ट दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । १९ यात्रु र चालकदलका ३ सदस्यसहित २२ जना रहेको सो जहाज दुर्घटना भएको हो ।
विगतमा भएका विमान दुर्घटनाका इतिहास केलाउने हो भने यस श्रृंखलाले ०७९ सालमा पनि निरन्तरता पाएको छ । भर्खरै मात्र थपिएकोसहित नेपालमा ९८ वटा विमान दुर्घटना भएका छन् । यद्यपी मानवीय क्षती भएको हिसाबले हेर्ने हो भने यो ५३ औं दुर्घटना हो । नेपालमा हवाईयात्राको शुरुवात विसं २००६ देखि अहिलेसम्म ९ सय ५१ जनाभन्दा वढीले यसकै कारण ज्यान गुमाएका छन् । नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरु हुने गरेका भएपनि पछिल्ला दिनहरुमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधिक कारण लगायतबाट एकपछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।
यी त केही मुख्य दुर्घटनाहरु भए । साना–तिना दुर्घटनाहरु त कति भए कति, लेखाजोखा नै छैन । यसरी पटक पटक नेपाली आकाशमा विमान दुर्घटना दोहोरिने श्रृंखलाले नेपाली हवाईक्षेत्रप्रति नै प्रश्नहरु उठ्न थालेका छन् । के साँच्चै नै नेपाली आकाश असुरक्षित नै छ त भन्ने प्रश्न यतिबेला चुनौतीका रुपमा उभिएको छ । यसरी वढ्दै गइरहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले खासै पहल गरेको देखिँदैन । यसमा उनीहरुको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ । दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना बढाएको छ । अघिल्लो दुर्घटना भएको प्रतिवेदनपछि त्यसतर्फ सतर्कता अपनाउने र आगामी दिनमा दुर्घटना रोक्न सक्ने रणनिती तय गर्ने हो भने पनि धेरै हदसम्म यस्ता विनाशकारी दुर्घटनाहरु रोक्न सकिने विज्ञहरु बताउँछन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *