नेपालमा हरित ऊर्जाको सम्भावना धेरै छः प्रधानमन्त्री

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् ।
पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए । उनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत गर्ने बताएका हुन् । उनले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’ को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रधानमन्त्री महिला होस् भन्ने चाहेको बताए । उनले भने, “अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।” प्रधानमन्त्री दाहालले उक्त पार्कका लागि सरकारले आवश्यक कार्यविधि बनाइ आवश्यक बजेट विनियोजन गर्ने बताए । उनले महिला उद्यमी हरित क्रान्तिको निम्ति मञ्चका पदाधिकारीले अग्रिम मोर्चा सम्हालेको उल्लेख गर्दै सरकार पन्ध्रौँ पञ्चवर्षीय योजनाको समीक्षा गर्ने र १६औँ योजनाको तयारीको प्रक्रियामा रहेकाले १६ औँ योजनामा महिला उद्यमी र हरित उद्योगलाई प्राथमिकता दिने गरी अगाडि बढाउने सोच बनाएको बताए ।
कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले पाँचखालमा निर्माण थालिएको महिला उद्यमी हरित औद्योगिक पार्कका लागि आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सातवटै प्रदेशमा स्थापना गर्ने तयारीका साथ सरकार अघि बढेको बताए । पाँचखाल नगर प्रमुख महेश खरेलले महिलालाई उद्यमी बनाउने उद्देश्यले पार्क निर्माण हुने उल्लेख गर्दै स्थानीय उत्पादनलाई मूल्य थप गर्नका लागि उद्योग फलदायी हुने र वार्षिक एक अर्ब निर्यात गर्ने लक्ष्य लिइने बताए । दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा ग्राम निर्माण हुन लागेको हो ।
मञ्चका भौतिक संरचना निर्माणका लागि ९६ करोड लाग्ने मध्ये पहिलो चरणमा ४० करोडको ठेक्का लाग्ने जनाइएको छ । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्डस्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् । मञ्चसँग पाँचखाल नगरले वडा नं ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको थियो ।
मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन् भने स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिनेछ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *