नेपालमा विमान दुर्घटना र चुनौती

ज्ञानमणि कालोटोपी
नेपाली आकाशमा फेरी एकपटक विमान दुर्घटनाको अर्को श्रृंखला थपिएको छ । भर्खरै मात्र थपिएको यो ७७ औं श्रृंखला हो । नेपालमा हवाई यात्राको शुरुवात देखि अहिले सम्म करिव ७ सय ४० जनाले यसकै कारण ज्यान गुमाएका छन् । यो पक्कै पनि दुःख लाग्दो अवस्था हो । नेपालको भौगोलिक अवस्थाका कारण धेरै जसो हवाई दुर्घटनाहरु हुने गरेका भए पनि पछिल्ला दिनहरुमा यसको कारण खराव मौसम, विमान चरा सँग ठोक्किनु र प्राविधीक कारण लगायतबाट एक पछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । यी विविध कारणले दुर्घटनाहरु वढ्दै गएको भएपनि चालकको लार्पबाहिका कारण दुर्घटना भएको भने कमै मात्र देखिएको छ ।

नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१३ साल जेठ १३ मा भएको थियो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो । त्यस पछि साना–ठूला दुर्घटनाहरु थपिंदै गए । सडक दुर्घटना जस्तो विमान दुर्घटनामा यात्रीहरुलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरु ज्यादै कम मात्रामा आउने भएपनि केहि मात्रामा घाइते भएका घट्नाहरु पनि नभएका होइनन् । जे भए पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै त्यसमा पनि पछिल्लो पाँच वर्ष यता वर्षेनी झण्डै २ वटाको दरमा भएका दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ ।

नेपालको विमान दुर्घटनाको इतिहास केलाउने हो भने सबै भन्दा ठूलो र वढी मानविय क्षति भएको दुर्घटना आजभन्दा २२ वर्ष अगाडि २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिक सहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीहरुको दुःखद् निधन भएको थियो । संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालोदिनका रुपमा लिन सकिन्छ । वि.सं. २०४८ सालमा रसुवा र नुवाकोट जिल्लाको घोप्टेभिरमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानविय क्षति हुन पूगेको दुर्घटनाको रुपमा रहेको छ ।

विगत पाँच वर्ष यता नेपाली आकासमा भएका विमान दुर्घटनाहरुलाई सर्सती हेर्ने हो भने २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जनाको मृत्यु भएको थियो । त्यसै गरि २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुर स्थित तोरीबारीमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीहरुको निधन भयो । ०६७ कै मंशिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीहरुले ज्यान गुमाउनु प¥यो । यस्तै विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । पछिल्लो पटक सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यका भित्रै मनोहरा खोला किनारमा भएको र १९ जनाको निधन भएको उपत्यकावासि र सम्पूर्ण नेपालीहरुको लागि अविष्मरणिय घट्ना हुन पुगेको छ । यस पछि पनि पटक–पटक दुर्घटनाको श्रृंखला दोहोरिइरहे । हालै मात्र गएको आइतबार (फागुन– ४ मा ) भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा ठूलै चुनौती थपिदिएको छ । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । यसरी विगतलाई हेर्दा करिव ३५ प्रतिशत हवाई दुर्घटनाहरु दशैं, तिहार लगायतका ठूला चार्डपर्वहरुको मुखमै हुने गरेको देखिए पनि पछिल्लो दुर्घटना खराव मौसमका कारण भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो कहाली लाग्दो श्रृंखलाका पछाडी कहिले विमानमा प्राविधिक समस्या त कहिले चरा सँग विमान ठोकिनु अनि खराव मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ । यसरी सबै भन्दा छिटो र सुरक्षित मानिएको हवाई यात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो कुरा होइन । यसरी वढ्दै रहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकारले खासै पहल गरेको देखिंदैन । दुर्घटना भईसके पछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिती गठन गर्ने र घटना सेलाउदै गएपछि समितीले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना वढाएको धेरैको अनुमान छ । अघिल्लो दुर्घटना भएको प्रतिवेदन पछि त्यस तर्फ सर्तकता अपनाउने हो भने पनि केहि हद सम्म यस्ता विनासकारी दुर्घटनाहरु रोक्न सकिने विज्ञहरु बताउँछन् ।

हुन त अन्र्तराष्ट्रिय निकायबाट नेपालको एक मात्र ठूलो र बाह्य देश सँगको सम्पर्क वढाउने त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल उपत्यका वरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातीका चराहरुका कारण असुरक्षित भएको निश्कर्ष निकालि सकिएको छ । त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चिल, बाज, गिद्ध, हुचिल लगायतका चराहरु वढ्दै गएको र यीनीहरुकै कारण दुर्घटनाहरु हुने गरेको पनि प्रष्ट छ । नेपालको भौगोलिक अवस्था र मौसम खरावी जस्ता कारण पनि हवाईयात्राका मुख्य चुनौतीहरु हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आईसकेका विमानहरुलाई समय–समयमा मर्मत नगरिंदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन । दक्ष प्राविधिक र चालकहरुको अभावले पनि यस्तो त्रास वढाएको छ । यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरुमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई रोक्न सकिनेमा दुई मत छैन ।

ज्ञानमणि कालोटोपी

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *