ज्ञानमणि नेपाल कालोटोपी
नेपालमा कतिपय ठाउँहरु कृषि उत्पादनका हिसाबले कुनै न कुनै रुपमा पकडक्षेत्रको नामले परिचित छन् । जस्तै आलु उत्पादनका लागि काभ्रेको पाँचखाल प्रमुख रुपमा आउँछ भने स्याउका लागि जुम्ला, सुन्तलाका लागि मनकामना, गोलभेंडाका लागि सर्लाही, चिया र अकबरे खुर्सानीका लागि इलामका साथै धान उत्पादनका लागि तराईका केहि जिल्लाहरु । यहाँ उत्पादित यस्ता कृषि उपजहरुले उल्लेख्य रुपमा बजार पाउने गरेका छन् । यस्तै नगदेबालीका रुपमा लिइने गरिएको र विशेषगरि नेपालका पहाडी जिल्लाका सेपीलो ठाउँहरुमा धेरै उत्पादन हुने अलैंची पनि पछिल्ला दिनहरुमा एक उल्लेख्य बालीका रुपमा रहेको छ ।
हिजोआज अलैंचीबाट सोचे भन्दा धेरै फाइदा आउन थालेपछि सम्बन्धित क्षेत्रका कृषकहरुले यसलाई खोल्सा भित्रको कालोसुनका रुपमा लिने गरेका छन् । अलैंची खेतीका लागि उनीहरुले कुनै तालिम लिएका छैनन् । न सरकारले उनीहरुलाई कुनै सहयोग नै गरेको छ । कहिले काहिं अलैंचीमा धेरै प्रकारका रोगहरु लागेर फल नै कुहिने समस्या पनि उस्तै छ । यसरी अभाव र अप्ठ्याराहरु वीच उत्पादन गरेको भएपनि नेपालको अलैंचीले स्वदेशको बजारमा त आफ्नो ठाउँ बनाएकै छ यसका अतिरिक्त विदेशका धेरै ठाउँहरुमा पनि आफूलाई परिचीत बनाएको छ ।
विगत केहि वर्ष यता अलैंची नेपालको प्रमुख निर्यातवस्तुका रुपमा रहँदै आएको छ । आर्थिकवर्ष ०७३ ÷ ०७४ मा २ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशतले धेरै हो । गएको ५ वर्ष अगाडि सम्म अलैंचीको मुल्य त्यति धेरै थिएन । प्रतिकेजी ३ सय रुपैयाँ रहेको अलैंची त्यस यता प्रतिकेजी ३ हजार रुपैयाँ भन्दा माथि सम्म पुग्यो । यो अहिले सम्मकै उच्च मुल्य हो । यसरी मुल्य आकाशिए पछि नेपाली कृषकहरु पछिल्ला दिनहरुमा अलैंचीखेतीलाई अझ व्यवसायिक बनाउन तल्लिन छन् । त्यसैले प्रत्येक वर्ष अलैंची उत्पादनले उच्च गति लिन थालेको देखिएको छ ।
व्यापार तथा निकासि प्रर्वद्धन केन्द्रका अनुशार विगत ६ वर्ष यता अलैंचीको निर्यात यस्तो रह्यो । आर्थिक वर्ष ०६७÷०६८ मा २ अर्ब ४ करोड ३७ लाख रुपैयाँको अलैंची निकासि भएको थियो । त्यस्तै वर्ष ०६८÷०६९ मा ३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको अलैंची निर्यात भयो । यसै गरि आर्थिक वर्ष ०६९÷०७० मा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । ०७०÷०७१ मा ४ अर्ब २७ करोड रुपैयाँ र ०७१÷०७२ मा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । यो ज्यादै निराशाजनक निर्यात भने होइन । यो नेपालमा खपत भएर बाहिर पठाईएको अलैंचीको तथ्याङ्क हो । यसर्थ कूल उत्पादन भने कति छ त्यसको तथ्याङ्क निकाल्न सकिएको छैन ।
विगत वर्षहरुमा प्रतिमन (४० केजी ) अलैंचीको १ लाख रुपैयाँ भन्दा धेरैमा विक्रि भएको भएपनि गत वर्ष ९५ हजारमा मात्र विक्रि भएको थियो । यस वर्ष त्यति नै परिमाणको अलैंचीको ८० हजार रुपैयाँमा विक्रि भइरहेको बताइएको छ । यसरी मुल्य घट्दै गएका कारण उत्पादन धेरै भएपनि कम मूल्यमा बेच्नु पर्दा कृषकहरुलाई पहिले भन्दा केहि घाटा हुदै आएको छ । यद्यपी मूल्यमा यस्तो उतारचढाव आइ नै रहने हुँदा कृषकहरु डराउनु पर्ने अवस्था भने नआएको बुझिएको छ । केहि समय पछि अलैंचीको मूल्य पहिले भन्दा पनि वढ्न सक्ने सम्बन्धित विज्ञहरुको अनुमान छ ।
हुन त नेपालको अलैंचीले विश्वका थुप्रै देशहरुमा ठाउँ जमाएकै छ । तर पनि धेरै अलैंची भारतमा जान्छ । नेपालले विश्वका देशहरुमा सिधै व्यापार गर्न नसकिएका कारण भारतले नै महङ्गोमा अरु देशमा पठाउँदै आएको छ । यसले नेपालको अलैंचीले अझ उपयुक्त मूल्य नपाएको देखिन्छ । भारतका अतिरिक्त पाकिस्तान, सिंगापुर , यूएई, बंगलादेश, भूटान र जापान सम्म नेपालको अलैंची जान्छ । विश्वमा अलैंची उत्पादनको उपयुक्त वातावरण निकै कम छ । तर नेपालका विशेषगरि पूर्वी पहाडी जिल्लाहरु इलाम, ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, धनकुटा, भोजपूर, सिन्धुपाल्चोक, काभ्रे लगायतमा अहिले धेरै मात्रामा यसको उत्पादन हुने गरेको छ । यो भन्दा अझ धेरै उत्पादन पनि हुन सक्छ । तर सरकारले ती क्षेत्रलाई अलैंची उत्पादनको पकड जिल्लाको रुपमा घोषणा गर्दै सम्बन्धित कृषकहरुलाई अलैंचीखेती तर्फ अझै प्रेरित गराउने कार्यक्रम भने ल्याउनै पर्छ । आगामी दिनहरुमा यसले निकै राम्रो प्रभाव जमाउन सक्ने कृषी विज्ञहरु बताउँछन् ।
यसरी अलैंचीले राम्रो व्यवसायीकता पाएपछि सरकारले पनि पछिल्ला दिनहरुमा अलैंची उत्पादनलाई केहि मात्रामा प्राथमिकतामा राख्ने बताएको छ । तर कुनै उल्लेख्य काम भने अझै हुन सकेको छैन । सरकारका धेरै योजनाहरु कागजमै सिमीत भएको देखे÷सुनेका कृषकहरु यस्ता सस्ता योजनाहरुलाई त्यति सहजै विश्वास गर्दैनन् । अहिले उत्पादन भइरहेको अलैंची पुरानै अवस्थाको हो । खेती गर्ने तरिका पुरानै छ , विउ पनि पहिलेकै हो । आधुनिक तरिकाको खेती गर्नै सकिएको छैन । तैपनि यति उत्पादन र निर्यात हुनुलाई कृषकहरुले निकै ठूलो उपलब्धिको रुपमा लिएका छन् ।
नेपालमा निर्यात सम्भाव्यतामा धेरै कृषि उत्पादनहरु छन् । तर धेरैजसो उत्पादनहरु नेपालमै मात्र खपत हुन्छन् । सिमीत वस्तुहरुले मात्र आफूलाई अन्र्तराष्ट्रिय बजारमा चिनाएका छन् । ती सिमीत वस्तु मध्ये पनि पहिलो नम्बरमा रहेको नेपाली अलैंचीलाई विश्वका अझ धेरै राष्ट्रहरुमा पु¥याउन र अझ धेरै कृषकहरुलाई यसतिर अभिप्रेरित गराउन अहिलेको जति सरकारी प्रयासले मात्र पुग्दैन । कृषकहरुको सानो प्रयासले मात्र पनि यो संभव छैन । यसमा सरकारले ध्यान दिनै पर्छ । जसका लागि कागजमा मात्र थन्किएको अलैंची उत्पादनको कार्ययोजनालाई व्यवहारमै उतार्न आवश्यक छ । अलैंचीखेती मात्र नभएर यस्तै संभाव्यतामा रहेका अन्य खेतीहरु अदुवा, अकबरे खुर्सानी, अम्रिसो, चियाखेती लगायतलाई पनि प्राथमिकतामा राखेर खेती गर्नु र गराइनु अहिलेको आवश्यकता हो । अनि मात्र नेपालको अलैंची लगायत अन्य वस्तुको अहिलेको उत्पादन र निकासिलाई अझ माथि उकास्न सकिने कुरामा शायदै दुईमत नहोला कि !