हरिगोपाल कर्माचार्य, बनेपा
निजामती सेवाका पछिल्ला केही अनुभूति ! निजामती सेवा प्रभावकारी, जनमुखी, सेवाग्राही मैत्री, कानून सम्मत, व्यवहारी हुनपर्छ भन्ने मान्यता सेवाप्रवेशदेखि नै बोकेको छु । जस अनुसार नागरिकले तिरेको करबाट तलब पाउनेमध्ये एक मैले पनि सेवाग्राही नागरिकहरुको गाली, श्राप बोक्न नपरोस् भनेर आफूलाई कृयाशिल राख्न सक्दो प्रयत्न गरेको छु । यहि क्रममा निजामती सेवाको हालसम्मको करिव ३७ वर्ष मध्ये पछिल्लो समय करिब ५ वर्ष (१७५३) दिन गृह मन्त्रालय वा अन्तर्गतको कार्यालयमा रही काम गरियो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार अब गृह मन्त्रालयबाट सरुवा भई रमाना बुझेको छु ।
यस अवधिमा विशेषगरी जिल्ला प्रशासन कार्यालय, प्यूठान; इलाका प्रशासन कार्यालय जस्पुर; जिल्ला प्रशासन कार्यालय, लमजुङ; जिल्ला प्रशासन कार्यालय, धनकुटा; जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा तथा मन्त्रालयमा कर्मचारी प्रशासन शाखा, सीमा तथा अध्यागमन शाखा, विभूषण शाखामा रहेर काम गर्ने अवसर मिल्यो । जिल्लाहरुमा रहेर काम गर्दा विशेषगरी सेवाग्राहीहरुले सेवा पाउने नैसर्गिक अधिकारलाई मध्यनजर राखी कुनै पनि सेवाग्राहीहरुले समयमै न्यायोचित ढङ्गले सही सेवा पाउनुपर्छ भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित गरें । बुढेसकालमा जिल्लामा गएर दुख थप्ने काम नगर्नु भन्ने धेरै साथीहरुको सदाशयपूर्ण अनुरोधलाई थाती राखेर अत्याधिक काम चाप हुने जिल्ला प्रशासन कार्यालयहरुमा काम गर्ने अनि पीडित भूईमान्छेहरुलाई विशेष साथ सहयोग गर्ने सोचका साथ जिल्ला रोजेँ । यस अवधिमा गलत मनसाय बोकेर आउने बाहेक सबैलाई समयमै सही सेवा दिन सकें भन्नेमा म दृढ छु । कसैलाई पनि भोलि आउनुहोस् भनिएन । जिल्लामा आउन नसक्ने अपांगता भएका सेवाग्राहीहरुलाई बिदाका दिन घरैमा पुगेर सेवा दिन पाउँदा बेग्लै आनन्द अनुभूत
हुन्थ्यो । लामो समयदेखि यो वा त्यो कारणले नागरिकता पाउन नसकेका एकल महिला, श्रीमान् श्रीमतीको झगडाका कारण बुढेसकालसम्म पनि नागरिकता पाउन नसकेका महिला, सासू बुहारी द्वन्द्वका कारण नागरिकता पाउन नसकेका बुहारी महिला, नागरिकता नै नबनाई मृत्यु भएका बुवाआामाहरुको सन्तानहरुको, सनाखत गर्न तीन पुस्तेभित्र कोही नभएकाहरुको, सम्पत्तिको लोभको कारण बुहारीहरुको नागरिकता प्राप्तिमा अवरोध लगायतका जिल्लामा रहेका असंख्य समस्याहरुले जकडिएका असंख्य पीडितहरुलाई न्याय दिलाउन सकेकोमा खुशी छु । दलित वर्गहरुको थर संशोधनमा पनि निक्कै बेथितिहरु लापरबाहीहरु जिल्लामा मौजुद छन काभ्रेपलान्चोकमा अझ बढी छन् । यो बेथितिमा पनि थिति बसाल्न सक्दो प्रयत्न गरें ।
सेवाग्राही अल्मल्याउने, ढिलासुस्ती गर्ने लट प्रणाली (१/२ बजेपछि सेवा वितरण)लाई पनि पहिला आउने सेवाग्राही पहिलो र समयमै निरन्तर सेवा भन्ने मनसायले १० बजे आउने सेवाग्राहीलाई १०.३०-११.०० सम्म सबै प्रकृया पूरागरी सेवा हस्तान्तरणमा गर्न सकेँ । सबैतिर नयाँ नागरिकताको जिम्मा मलाई नै बढी हुन्थ्यो यसको अलावा प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, सवारी पास, बजार अनुगमन, नावालक परिचयपत्र लगायतमा पनि काम चाप उत्तिकै आएपनि बिरामी भई थला नपरुञ्जेल काम गर्न गाह्राे भयो भन्न सिकिएन/सकिएन । यसका अतिरिक्त जिल्लाका रगतको अभाव भएका बिरामीलाई रक्तदान गर्ने, जन्मदिन, वैवाहिक वर्षगाँठहरु अनाथालय, वृद्धाश्रमहरुमा आफ्नो गक्ष अनुसार आर्थिक भौतिक सहयोग, कारागारहरुमा कैदी बन्दिहरुलाई फलफूल वितरण गरेर मनाउँथेँ । सार्वजनिक बिदा र आफ्नो सञ्चितीको बिदाको सदुपयोग गर्दै नितान्त निजी खर्चमा जिल्लाको भूगोलसँग अनि जनप्रतिनिधिहरु, सेवाग्राहीहरुसँग साक्षात्कार गर्ने सेवाप्रवाहलाई कसरी सजिलो बनाउन सकिन्छ ? भनेर वहाँहरुसँग छलफलमा जुट्थें बिदाका दिनहरुमा सदरमुकाम/कोठाको भात नखाई होमस्टेहरुमा बास खोज्न जान्थें जस्ले आन्तरिक पर्यटनमा केही योगदान गर्ने सकेँ, जिल्लाका भूगोलहरु चिनाउन केही मद्दत गर्न सकेँ जस्तो लाग्छ । अलि लामो बिदा हुँदा आन्तरिक पर्यटनमा देशको सातै प्रदेश सतहत्तरै जिल्लाको यात्रामा निस्कन्थेँ श्रीमतीलाई समेत साथै लिएर । यहि क्रममा गत सालको स्थानीय निकायको चुनाव सकाएर धनकुटाबाट यात्रामा निस्कँदा बैतडीको सतबाँझको ओरालोमा सडक दुर्घटनामा परियो र
पनि चोटहरु लिएरै बैतडीबाट धनकुटा पुगी सेवाग्राहीहरुको सेवाप्रवाहमा जुटें काम चापले घाउ पाक्यो, धनकुटा जिल्ला अस्पतालमा उपचार गराउँदै सेवाग्राहीहरुसँग रम्दै पीडा न्यूनीकरण गर्ने प्रयत्न गरें । जिल्लाहरुमा रहँदाबस्दा बिदाका दिन जिल्लाका पर्यटकीय गन्तव्यहरु पुगेर
अरुहरुलाई पनि त्यहाँ जान प्रेरित गर्थें किनकी देशभित्र घुम्ने, रम्ने असंख्य ठाउँहरुछन् कमाइको केही हिस्सा आन्तरिक पर्यटनमा खर्चिनु पर्छ भन्ने मान्यता बोकेको छु । जिल्लामा रहने क्रममा सेवाप्रवाहलाई एक दिन पनि प्रतिकूल असर नपारी दुईवटा मतदान केन्द्रमा स्थानीय र संघीय निर्वाचन सम्पन्न गराउने नेतृत्व पनि कुसलतापूर्वक निर्वाह गरें । जिल्लामा रहेर काम गर्ने सोचकै कारण भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले वहाँको सचिवालय रहेर काम गर्न गर्नु भएको अनुरोधलाई स्वीकारेर सहयोग गर्न नसकिएकोमा वहाँप्रति क्षमाप्रार्थी छु ।
संक्षेपमा भन्न पर्दा यो अवधिमा गृह मन्त्रालयको सान रहने गरि मैले आफ्नो जिम्मेवारी निर्वाह गरें कुनै प्रकारको लोभ लालच नराखी, अतिरिक्त सुविधा नलिई । राज्यले खातामा जम्मा गरिदिने तलब भत्ता बाहेक यो अवधिमा पनि कुनै सेवाग्राहीहरुसँग सेवा प्रवाहबापत एक कप चिया समेतको मागदाबी नगरि करिव आधा लाख सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्न सकें ।
गृह मन्त्रालयमा रहेपछि धेरैको अपेक्षा हुन्छ मान पदवीबाट विभूषित हुने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा हुने, वैदेशिक भ्रमण गर्ने, सकभर केन्द्रीय अड्डा सिंहदरबार नछोड्ने । तर मैले दुईवटा विभूषण दावी गर्ने अवधिमा कुनै माग दाबी गरिँन न त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थल नै सरुवा माग गरेँ न वैदेशिक भ्रमणका लागि नै चाकडी गरियो बरु मन्त्रालय छोडी जिल्लाहरुमै सेवा प्रवाह गर्न आफैले माग गरि गएँ जिल्लाहरुमा काम गर्दा पनि कहिँ कतै पदीय हैसियत देखाएर एक कप चिया समेत फोकटमा खाइएन होमस्टे, होटल लगायत सबैमा लिएको सेवा वा वस्तुको उचित मूल्य तिरेर मात्र प्रयोग गरेँ । पछिल्लो चरणमा धनकुटामा रहँदा दरबन्दी भन्दा १ जना बढी भएपछि फेरि मोफसलका जिल्लाहरुमा काम गर्न २० वटा विकल्प दिएँ यसमा पनि मन्त्रालय, TIA राखिँन पर्वतको हुवास इलाका, दाङ, रुकुम, धादिङ, बागलुङ, पर्वत लगायतका जिल्ला प्रशासनहरु तर मन्त्रालयले मेरो ईच्छा विपरीत २१सौंको रुपमा जिल्ला प्रशासन कार्यालय
काभ्रेपलान्चोकमा सरुवा गरे । मैले यस्लाई पनि अन्यथा नमानी नियमानुसार हाजिर हुन गएँ आफ्नै जिल्ला पहिले २७ वर्ष विभिन्न गाविसहरुमा काम गरेकै हो अब फेरि नवीकरण हुने भयो भनेर खुशी मानेर काम गर्न थालेँ । जानासाथ नयाँ नागरिकताको जिम्मेवारी पाइयो जस अनुसार कामलाई तिब्रता दिएँ । खाजा खाने समय निकाल्न धौ धौ हुन्थ्यो र पनि खुशी नै हुन्थें । कुनै पनि सेवाग्राहीले मेरो वा अरुको कारण दुख पाउनु हुन्न भन्ने मान्यता राख्छु जस अनुसार वडा अध्यक्षहरु वडा सचिवहरुसँग निरन्तर सम्वाद गर्थें । शनिबार र अरु सार्वजनिक बिदाका दिन जिल्लाको भूगोल, सेवाग्राही, वडा नेतृत्वहरुसँग भेटघाट सेवा प्रवाहबारे छलफल गर्ने नियमित काम भित्रै राखें जस अनुसार जिल्लाका खानीखोला, महाभारत, तेमाल, दाप्चा, बेथानचोकको यात्रापछि शुक्रबारको सबै सेवा प्रवाह सकेर शनिबार र क्रिसमसको बिदाको सदुपयोग गर्ने गरी गत पुस ८ गते सदाझैं निजी बाइक, निजी खर्चमा मण्डन, भुम्लु, चौरीदेउराली जाँदै गर्दा सडक दुर्घटनामा परेर
देब्रे कुम भाँचियो । त्यसपछि मेरो सेवाप्रवाहमा अकल्पनीय ठेस लाग्यो धुलिखेल अस्पतालमा उपचारपछि ६ हप्तासम्म सेवा प्रवाहमा प्रतिकूल असर पर्ने डाक्टरको कुराले मन अलि खिन्न भयो तथापि उपचार र आरामको विकल्प मसँग थिएन । दुर्घटनाको ७ दिनपछि गाडी रिजर्भ गरि फलो अपका लागि धुलिखेल अस्पताल र बिदाका लागि कार्यालयमा गएँ हाकिमहरु भेटिएन प्रशासन शाखाका साथीको सल्लाह अनुसार ६ दिनका लागि बिदा लेखेर आएँ दुखाईले दिनभर पर्खन सकिएन । पुन अर्को हप्ता यहि प्रकृया दोहरियो तर बिदा स्वीकृत हुन सकेन त्यसपछि मनमा एक खालको पीडा थपियो यस्तो बेलामा पनि बिदा नपाउने जागिर मैले किन खान पर्यो ? उसमाथि ३७ वर्ष पुगेको यो घाटाको जागिर ! तलबभन्दा अरु अपेक्षा नराख्ने मैले के पाउनु छ र ? त्यसपछि मन्त्रालयमा साथीहरुसँग राजिनामा दिने भनेर सल्लाह मागें तर साथीहरुले तत्काल राजिनामा दिई नहालौ भनेर काम चाप नहुने ठाउँमा सरुवा मिलाइ दिनुभयो पछि मन्त्रालयमा ।
यसका लागि सम्बद्ध सबै साथीहरुलाई धन्यवाद ! दुर्घटनामा पछिको शारीरिक पीडाले भन्दा पनि म प्रतिको व्यवहारले म गृह मन्त्रालय छोड्ने मुढमा पुगिसकेको थिएँ । निजामती वृत्त भित्र गर्नुपर्ने जिम्मेवारीका रुपमा कहिँ कतै नलेखिएको तर गर्नै पर्ने चाकडी नगरेको कारण, कतिपय विसंगति, विकृतिका विरुद्ध बोलेको कारण कोपभाजनमा परेको म ! तर चाकडी चाप्लुसी निजामती सेवाको ३७ वर्षमा कहिले नसिकेको सेवानिवृत्त हुनेबेला मैले सिकेर चाकडी खोज्नेहरुलाई रिझाउने त कुरै भएन । यी केहि तिता मीठा अनुभव संगाल्दै दुर्घटना पछिको शारीरिक अशक्तता कारण मोफसलका भूइमान्छेहरुलाई सेवा दिई वहाँहरुसँगै रम्ने ईच्छालाई अब मैले निरन्तरता दिन नसक्ने भएको अवस्थाप्रति क्षमाप्रार्थी छु । तथापि म निजामती सेवामा रहँदा वा सेवानिवृत्त भएपछि पनि मैले चिनेका वा नचिनेका जो कोही प्रीयजनहरु मैले जाने बुझेका कुरामा साथ सहयोगका लागि सदा तयार छु । अहिले पनि व्यक्तिगत चिनेका भेटघाट भएका बाहेक पनि असंख्य प्रीयजनहरुसँग फोन सम्वाद वा सञ्जाल सम्वादबाट समस्या समाधान/न्यूनीकरणका कुराहरु भइनै रहेको छ ।
जिल्लाहरुमा रहँदा बस्दा एकाध निजी स्वार्थका अपवादका बाहेक सबै कर्मचारी साथीहरु, सबै सेवाग्राहीहरु, सबै जनप्रतिनिधिहरु लगायत जिल्लाका भूगोल, पर्यटकीय गन्तव्यहरुसँग अति सौहार्ध रह्यो तथापि सरकारी बजेट लापरबाही ढङ्गले खर्च गर्नुपर्छ पाएको बेला मुखले मात्र होइन नाक, कान, आँखा, गाला सबैले खानुपर्छ भन्ने एकाध साथीहरुसँग सम्बन्ध सुमधुर हुन सकेन । यसरी मलाई मेरो कार्यक्षेत्र र आन्तरिक पर्यटनमा निर्वाध लाग्न सहयोग गर्ने श्रीमती नारायणी कर्माचार्य अनि हामी जिल्लामा जाँदा घर व्यवहार सम्भाल्ने छोरा अठोट कर्माचार्य छोरी आर्जनी कर्माचार्य धन्यवादका पात्रहरु हुन । त्यस्तै तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु प्यूठानका खिमराज भुसाल, लमजुङका होमप्रसाद लुईटेल र सुशील वैद्य, धनकुटाका कृष्णप्रसाद पन्थ र युवराज कटेल, सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ लगायत कार्यालय सहयोगीदेखि सबै तहका सर मेडम कर्मचारी साथीहरुप्रति विशेष आभारी छु यहाँहरुको साथ सहयोग सल्लाह सुझावले नै मैले सबै जिल्लामा जिल्लाका मसँग सेवा लिने सबैको प्रीय बन्न सकें ! त्यस्तै नागरिकहरुको सेवा प्रति जिम्मेवार भइ कुनै पनि अस्पष्ट विषयमा मसँग सल्लाह सुझाव माग्नुहुने सबै जिल्लाका जनप्रतिनिधिहरु, वडाका कर्मचारी साथीहरु जस्ले म वहाँहरुको जिल्लामा हुँदा होस वा अन्यत्र सरुवा भएपछि वा बिदा लिई यात्रामा हुँदा नै किन नहोस वहाँहरुले सोधेर मलाई आफूले जाने बुझेका कुराहरु बाँड्ने अवसर दिनु भएको छ मप्रतिको वहाँहरुको यो अपार विश्वास, सद्भाव, माया नै मेरो कमाई हो, सेवाग्राहीहरुले सेवापछि दिने आत्मिय धन्यवाद नै मेरो जिवन्त कमाई हो, जस्को अगाडिको मलाई हरेक खालका विभूषण, मान, पदवी, अलंकार, पुरस्कारहरु फिक्का लाग्छ ।
करिव ५ वर्ष गृह मन्त्रालय बसाइ क्रममा सहकार्य गरेका सबै कर्मचारी साथीहरु कर्मचारी संगठनमा सहकार्य गरेका मुकुन्द प्रसाद पन्त लगायत सबै संगठकहरुप्रति आभार व्यक्त गर्दछु । र अन्तमा, गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन स्थापित अनि भ्रष्टाचार न्यूनीकरणका लागि गृह प्रशासनमा राम्रो शुरुवात गरेको छ आम नागरिकमा भरोसा बढ्दै गएको छ । शुरुमै आफूले पाउने करोडौंको सुराकी खर्च आफूले नलिने र अब बन्ने गृहमन्त्री गृहसचिवहरुले समेत नपाउने गराउनु भएको छ यो राम्रो शुरुवात हो । केवल वहाँले मात्र नलिएर पुग्दैन गृह भित्रकै थुप्रै विषयहरुमा वहाँको ध्यान जानु आवश्यक छ । वहाँले मेरो यो भनाई पढ्न त भ्याउनु हुन्न तर वहाँका दायाँबायाँ बस्ने साथीहरुले वहाँलाई तपसिलको बुँदाहरुमा सम्झाउनु पर्छ, सघाउनु पर्छ !
१. जिल्लाहरुमा काम गर्ने कर्मचारी अभाव छ काम चाप अत्याधिक छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दरबन्दी भन्दा कर्मचारी चाप छ त्यहाँ जान कर्मचारीहरु मरिहत्ते गर्छन किन ? के कति कारणले त्यहाँ जानै पर्ने ? कोहि कोहि त गृह मन्त्रालय आउँदैनन् TIA जान्छन् मन्त्रालय, अध्यागमन विभाग नटेक्दै TIA पुग्छन् जिल्ला जाने त कुरै नगरौं यो बिकृति कहिलेसम्म ? यी सब के का लागि ?
२. केन्द्रमा गृहमन्त्री गृहसचिवले पाउने अनावश्यक सुविधा/खर्च कटौती गर्दै गर्दा जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई अमूक व्यक्तिहरुको नाम राखी पि ए र भान्छेको तलब भुक्तानी दिने परम्परा छ जवकी पि ए र भान्छेमा त्यहीँकै कर्मचारीहरुलाई काम लगाउँछन्
के यो सुशासन भित्रै पर्छ ? हो जिल्लामा प्रमुख जिल्ला अधिकारी, स. प्र.जि.अ.लाई काम चाप बढी होला, जिम्मेवारी बढी होला तर यसो भन्दैमा कार्यालयमा नभएको/कार्यालय नदेखेको मान्छेहरुको नाममा भुक्तानी लिनुभन्दा प्रजिअ भत्ता , सप्रजिअ भत्ता भनेरै पनि भुक्तानी दिन सकिएला नि !
३. वैदेशिक भ्रमण, तालिमहरुमा जिल्लामा बसेर काम गर्नेहरुको सहभागीता गराउने परिपाटी खासै देखिन्न केन्द्रकै दबदबा हुन्छ यसमा सुद्धिकरण हुनु आवश्यक छ ।
४. राज्यले वार्षिक करिव २० करोड खर्च गर्ने मान पदवी अलंकार लगायतका विभूषणहरु उपर आम नागरिकहरुमा सकारात्मक सन्देश छैन । पञ्चायत कालमा राजा महाराजाहरुको गुणगान गाउने चाकडी गर्नेले, लोकतन्त्र आएपछि कहिले कांग्रेसको चाकडी गर्नेले, कहिले एमालेको चाकडी गर्नेले अब माओवादीको चाकडी गर्नेले विभूषण पाउने बेथितिको अन्त्य हुनुपर्यो । यसरी विभूषित हुनेहरु कोही सुरक्षाकर्मी हत्या आरोपी, कोही सहकारीबाट नागरिकहरुको अरबौं ठग्ने, कोहि अख्तियारले रङ्गेहात घुस सहित पक्राउ पर्ने लगायत भइ विवादित छ । गृह र अन्तर्गतकाहरुले मात्र धेरै पाए भन्ने गुनासो छ । त्यस्तै पछिल्लो चरणमा महावीर पुनले विभूषण लिलाममा राखेको खबर समेत सुन्नमा आयो । इमानदारपूर्वक काम गरेर तक्मा पाउनेले पनि पाएको तक्मा सगौरव भित्तामा झुन्डयाउन सक्ने अवस्था छैन । यसरी विभूषणहरुको मर्यादा कायम हुन सक्दैन त्यसैले सकिन्छ राजतन्त्रदेखि चलि आएको यो निरन्तरतामा क्रमभङ्ग गरि यी सबै विभूषणहरु खारेज
गर्नुस । नेपाल जस्तो गरिब मुलुकले यस्तो अनुत्पादक खर्च धान्न सक्दैन बरु यसमा खर्च हुने रकमले वर्षिक एक एक वटा उद्योग खोल्नुस् देशकै जनशक्तिलाई रोजगार दिनुस । यदि तत्काल यसो गर्न सकिँदैन भने ४ अङ्कमा पुग्न प्रतिस्पर्धा गरिराखेको विभूषणको संख्या २
अङ्कमा झार्नुस । विभूषित हुनेलाई उसले गर्ने कामै तोकेर विभूषित गर्नुस् ।
५. कतिपय जिल्लाहरुमा लट प्रणाली भनी १/२ बजेपछि मात्र सेवा वितरण गर्ने चलन पनि रहेछ यसरी अनावश्यक रुपमा सेवाग्राही पर्खाउने काम सही होइन । निरन्तर सेवा प्रणाली ठीक छ १० बजे कार्यालयमा सेवा लिन आउनेलाई १०.३०, ११.०० बजे कार्यालयको काम सकेर पहिला आउने पहिला सेवाका आधारमा सेवा वितरण गर्न सकिन्छ गर्नुपर्छ ।
६. कार्यालय समयमा सेवाग्राहीहरुलाई पर्खाएर कार्यालय वा अरु कसैको आयोजनामा जन्मदिन नमनाउने ।
७. विशेष परिस्थितिमा बाहेक कार्यालयमा निर्णय गर्ने तहका उपल्ला सबै कर्मचारीहरु एकै पटक कार्यालय छोडेर नहिँड्ने ।
८. कार्यालयले अभिलेख राख्न गल्ती गर्ने त्यसको मार सेवाग्राहीले भोग्ने चलनको अन्त्य गरिनुपर्छ ।
९. कर्मचारी सरुवामा उपल्ला कर्मचारीहरुलाई विशेष कार्यक्रम सहित थुप्रै जिन्सी सामानहरु समेत उपहार दिने चलन छ । जिन्सी उपहार दिएर राज्यलाई थप आर्थिक भार बोकाउने र पदीय आधारमा बिदाई कार्यक्रमको आयोजना गर्ने थितिमा आमूल सुधार हुनुपर्छ । हिजोआज बिदाईलाई फेरि भेटौला ! भन्ने चलन चलेको छ । यानेकी जाने, आउने सरुवा भनेको कर्मचारीहरुको नियमित प्रकृया भएकोले सबै तहका कर्मचारीहरुलाई आर्थिक भार खासै नपर्ने गरि स्वागत र बिदाई गरिनुपर्छ यस्मा चाकडीको गन्ध आउनु भएन !