नवजात शिशु स्याहार कसरी गर्ने ?

गर्भ हुनु र सुत्केरी हुनु प्राकृतिक प्रकृया हो । महिला गर्भवती भएको ४० हप्ता वा ९ महिना १ हप्तामा बच्चा जन्मने गर्दछ । नेपालमा नवजात शिशुको सामान्य तौल २५०० ग्राम वा सोभन्दा माथि हुनु पर्ने मान्यता रहेको छ । सामान्यतया स्वस्थ शिशु जन्मिने बितिकै रुन्छ उ आफैँ सास फेर्छ र केही समयमा नै आफैँ दुध चुस्न खोज्छ भनि सजिलै निल्छ । बच्चा जन्मदा नाभी र साल जोडिएको हुन्छ । बच्चाले आमाको बास्नाले आमालाई चिन्छ । जन्म पश्चात हातखुटट सजिलै चलाउन सक्छ । स्वस्थ आमाको सुत्केरी अवस्था सामान्य भएमा बच्चा जन्माउने क्रममा नियन्त्रित र सिमित रूपमा रगत खेर गएको हुन्छ । त्यसै गरी स्तनबाट दुध आउन थाल्छ ।
सुत्केरी र नवजात शिशुको अवस्था विषेश अवस्था भएकोले उनिहरुको स्याहारमा स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुन्छ । सुरक्षित जन्म गराउने, जन्मनासाथ नवजातशिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुने गरी लुगाले बेर्नु पर्दछ । नवजात शिशु स्याहार गर्दा तौल लिने र वजन कम (२.५ किलोभन्दा कम) भएको शिशुलाई विशेष प्रकारले न्यानो “मायाको अँगालो” (प्बलनबचयय ऋबचभ) मा आमा वा बुबाको सहयोगमा राख्नुपर्छ ।
हरेक आमाहरुलाई जन्मेको एक घण्टाभित्र आफ्नो नवजात शिशुलाई पहिलो बिगौती दुध खुवाउन सुझाव दिने तथा स्नपान गराउने तरिका सिकाउनु पर्दछ । नवजात शिशुको सुरक्षाका लागि संस्थागत सुत्केरी हुने महिलालाई नेपाल सरकारबाट सुत्केरी भत्ताको पनि व्यवस्था छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दुध आउन थाल्छ । आमा कै दुधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्त्वहरू हुने भएकाले शिशुलाई आमाको दुधबाहेक केही पनि खुवाउनु पर्दैन ।
शल्यक्रिया (अप्रेशन) वा अन्य समस्यासहित जन्मेको शिशु छ भने पोषणविद् वा स्वस्थ्यकर्मीको सल्लाह अनुरुप आमालाई खाना खुवाउनुपर्छ । यस समयमा व्यक्तिगत र वातावरणीय सरसफाइ राख्न श्रीमान र परिवारले आवश्यक सहयोग गर्नुपर्दछ । प्रमुख ध्यान दिनुपर्ने कुरा के हो भने नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ । अस्वस्थ, कमतौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम मात्रै नुहाइदिनुपर्छ ।
नवजात अवस्थामा शिशुको ज्ञानेन्द्रिय धेरै सक्रिय हुन्छ । यस समयमा उनीहरूलाई हेरेर, छोएर, मसिनो आवाज सुन्ने, सुघ्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नुपर्दछ । शिशुलाई आमाबुबासँग टाँसेर राख्नुपर्छ । छालाको स्पर्श तथा मुटुको धड्कनको आवाजले आमाबुबासँग शिशुको आत्मीयता बढाउन र सुरक्षित महसुस गराउँछ । आमाबुबा दुवैले शिशु स्याहार गर्दा आफूहरू र शिशुबिचको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण भएको अभिव्यक्त गर्नुपर्दछ । नवजात शिशुको अनुहारमा हेर्दै उनीहरूको भावलाई समानुभूति गरेर कुरा गर्नुपर्छ । उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने, रङ्गीन खेलौनाहरू झुण्ड्याउनुपर्दछ ।
शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । जसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेर अनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ । यसमा मासिक तौल मापन तथा रेकर्ड गरेर मूल्याङ्कन गर्नुपर्छ । यसैगरी कुन महिनामा कुन खोप लगाउने निर्देशन पनि राखिएको हुन्छ । सोअनुसार स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोपहरू दिनुपर्छ । नवजात शिशुको जन्मदर्ता जन्मेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गरिदिनुपर्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *