![](https://madhyamarganews.com/wp-content/uploads/2023/12/IMG_20231209_132037-720x500.jpg)
खनालथोक / लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत खनालथोकमा लैंगिक हिंसाको अवस्था : चुनौती र सम्भावनाबारे खनालथोकमा अन्तरक्रिया गरिएको छ । माइती नेपालसँगको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित खनालथोक महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थाले अन्तरक्रिया आयोजना गरेको हो ।
माइती नेपालका फिल्ड संयोजक राजन पौडेलले लैंगिक हिंसाका विभिन्न स्वरुपहरु चर्चा गर्दै त्यसको बलमा भइरहेको मानवबेचविखनका विभिन्न स्वरुपबारे जानकारी लिएका थिए । पुस्ता, प्रविधी र समय अनुसार लैंगिक हिंसा र मानबबेचखिखनका स्वरुपहरु फेरिएका तर्क गर्र्दै उनले नियन्त्रणको लागि सबैको भूमिका उत्तिकै हुने तर्क गरे ।
प्रमुख अतिथी रहेका नमोबुद्ध वडा नं ७ का अध्यक्ष एवं स्थानीय न्यायिक समिति नमोबुद्धका सदस्य धर्मसिंह लामाले लैंगिक हिंसा मानवताविरोधी कार्य भएको भन्दै नियन्त्रणको लागि अन्तर हृदयदेखि नै लाग्नुपर्ने बताए । लैंगिक हिंसा नियन्त्रणको लागि तीनवटै तहका सरकारले कार्यक्रमसहित लगानी गरेको भन्दै व्यक्ति स्वंयम पनि सचेत र जागरुक हुन जरुरी रहेको बताए । सहकारी संस्थाका अध्यक्ष देवकी कोइराला खनालले हिंसाका स्वरुप अनेक रहेको भन्दै आर्थिक, राजनीतिकरुपमा महिला माथि हिंसा हुने गरेको चर्चा गरिन् ।
सहकारी संस्थाका उपाध्यक्ष शर्मिला खनालले महिलालाई शारिरीक, मानसिक, आर्थिक रुपमा हिंसा हुने गरेको भन्दै त्यसलाई व्यक्त गर्न नसक्दा अन्य मानसिक समस्या आइरहेको बताइन् । सहकारी संस्थाका आर्थिक संयोजक सिता काफ्ले खनालले आर्थिक उपार्जनमा कमजोर हुने कारणले महिला घरेलु हिंसामा पर्ने गरेको भन्दै ज्यान नै जाने स्थिती बन्न दिन नहुने तर्क गरिन् ।