नमोबुद्धमा बृहत् कलश यात्रा

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा गरिएको छ ।
भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय लगायत अन्य व्यक्ति तथा संघसंस्थाको सहयोगमा कलश यात्रा गर्दै भैरवकुण्डबाट लगिएको जल नौबिसे स्थित जगबैजेश्वर महादेव र कुशेश्वर महादेवमा सेचन गरिएको हो । स्थानीय समाजसेवि इन्द्रबहादुर दाहालका अनुसार, पहिला १८ हल गोरु, हली, १०० जना लाठे, रोपार यहाँ बाट प्रबेश गरेर सिन्धुलीको गजुली दहबाट निस्केको किम्वदन्ती छ ।
२०६६ सालमा भकुण्डेवेशीमा खडेरी परेर पानी नपरेपछि भ्यागुताको विहे गर्ने सल्लाह भएर भैरवकुण्डबाट जन्ती निकालेर पाट्ने पोखरीमा बेहुलीको घर बनाइ अन्माएर भैरवकुण्डमा नै आएको एक घण्टामा पानी परेको र सिंचाइको लागि सहज भएको थियो ।
भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलका अनुसार, पहिला भैरवकुण्ड रहेको स्थानमा मानिसहरु जान डराउँथे । नागको बास भएकोले त्यस कुण्डमा मान्छे तान्छ भन्ने विश्वास थियो । स्थानीयले अहिले सो स्थानको संरक्षण गरि कुण्डका साथै मन्दिर सत्तल लगायतका पूर्वाधार निर्माण गरेका छन् । सोमबार एक कार्यक्रमबिच नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले धार्मिक आस्था, सहिष्णुता कायम गर्दै अघि बढेको भन्दै भगवानको सेवा गर्दै नमोबुद्धको विकासमा लाग्न सबैमा अनुरोध गरे । धार्मिक, पर्यटकीय पूर्वाधार लगायत संस्कृति संरक्षण्को लागि नमोबुद्ध नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता गरे । पूर्व नगर प्रमुख टि.पि शर्मा तिमल्सिनाले भैरवकुण्डे अपभ्रशं हुँदै भकुन्डे भएको तर्क गर्दै भैरवकुण्ड आसपासका सास्कृतिक सम्पदा समेटेर पुरातात्विक क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलले भैरवकुण्ड क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गर्न आवस्यक भएको भन्दै सबै क्षेत्रको सहयोगको अपेक्षा समेत गरे । कलशयात्राका सहभागी भैरवकुण्डबाट पैदलै नौबिसेस्थित जगवैजेश्वर महादेव मन्दिर परिसर पुगेर त्यहाँ व्यवस्था गरिएको १० वटा सार्वजनिक यातायातमा कुशेश्वर पुगेका थिए । बस व्यवस्थापनको लागि नमोबुद्ध वडा नं ३ का अध्यक्ष रमेश तिवारी लगायत अन्य केही दाताले सहयोग गरेका छन् । कार्यक्रममा २६ नं बाहिनी भकुण्डेवेशीका गणपति सहायक रथी सुनिल घले, जिल्ला नमोबुद्ध नगरपालिका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिं लामा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, वडा नं ४ मा अध्यक्ष अर्जुन कार्की, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, विश्व हिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविण धिताल लगायतका पदाधिकारी र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *