नगरकोट । पर्यटकीय क्षेत्र नगरकोटमा इतिहासमै पहिलो पटक प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार शुरु गरिएको छ ।
शुक्रबारबाट प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार सञ्चालनमा ल्याइएको हो । मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गारिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा ल्याइएको हाट बजारको नगरप्रमुख टोकबहादुर वाईबाले शुभारम्भ गर्नु भएको थियो ।
हाट बजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन हुनेछ । प्राङ्गारिक तरकारीको हाट बजार शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रका होटल ब्यवसायीलाई मण्डनदेउपुर नगरपालिकामा उत्पादित तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन बृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख वाईबाले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीयस्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी यहाँका होटलहरुले आफ्नो पाहुनालाई खुवाउन अनुरोध गर्नुभयो ।
नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रमा शीतभण्डारण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । ‘तरकारी भनेको छिट्टै कुहिने चिज हो । शुक्रबारको हाट बजारमा बिक्री नभएका तरकारी त्यो रात यहीँ राख्न सकियो भने किसानलाई दुःख कम हुन्छ । त्यसका लागि शीतभण्डारण आवश्यक छ । त्यो निर्माणका लागि नगरपालिकाले विभिन्न संघसंस्थासंग साझेदारी गर्छ ।’ नगरप्रमुख वाईबाको भनाइ थियो ।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रुपान्तरित नाम महामञ्जुश्री चोकमा हाटबजार सञ्चालनमा ल्याइएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल, काभ्रे शाखा अन्तर्गत काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको ब्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो । यो परियोजना विगत दुई वर्षदेखि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित छ । २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ जना किसान आबद्ध रहेको परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले जानकारी दिनुभयो ।
हाटबजारको पहिलो दिन विक्री गर्ने किसान र खरिद गर्ने उपभोक्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । यसलाई निरन्तरता दिन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको नगरप्रमुख वाईबाले बताउनुभएको छ । हाट बजार सञ्चालनमा आएपछि होटल तथा पर्यटन ब्यवसायी निकै खुशी भएका छन् ।