
धुलिखेल । धुलिखेल अस्पतालमा विपद् पूर्व तयारी र व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी डिसेम्बर १–३ मा आयोजना गरिने सम्मेलनको पूर्व तयारीस्वरुप अस्पतालले सरोकारवालाहरुसँग छलफल गरेको थियो ।
‘धुलिखेल अस्पतालमा विभिन्न मुलुकका विपद् विशेषज्ञहरु सम्मिलित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ’– जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभाग तथा आयोजक समितिकी सचिव डा. सम्झना बस्नेतले भनिन् –‘सम्मेलनमा विश्वका विभिन्न मुलुकमा भएका विपद् पूर्व तयारीका विषयमा तीन दिनसम्म बृहत् छलफल हुनेछ । सोही छलफलबाट निस्किएको निचोडलाई धुलिखेल अस्पताल तथा नेपालका विभिन्न अस्पतालहरुमा कार्यान्वयन गरिनेछ ।’
अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले २०७२ सालको भूकम्पमा एकैपटक ४ हजारभन्दा धेरै विरामीहरुको उपचार गराएको अनुभव तथा अभ्यासका आधारमा अस्पतालले शुरु गरेको विपद् पूर्व तयारीबाट कोभिडको उपचारमा केही सहज भए पनि दैनिक हुने विपद् तथा विपद्का ठूला घटनामा स्वास्थ्य संस्थाहरुले अपनाउनु पर्ने पूर्व तयारी र सरोकारवालाहरुको भूमिकाका बारेमा सम्मेलन महत्वपूर्ण हुने बताए । सम्मेलनमा विभिन्न देशका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । पूर्व तयारी छलफल कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नमोबुद्ध नगरपालिका उपप्रमुख रत्न लामा, सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्मेलनले आगामी दिनमा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी योजनासमेत निर्माण गर्नेछ । अस्पतालले काभ्रेका केही स्थान बाहेक अन्यत्रबाट विपद्को केही घण्टामा बिरामी अस्पताल ल्याई पुर्याउँदा सहजरुपले उपचार गर्न सक्ने गरी तयारी गरिरहेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताए ।