धुलिखेल । समुदाय– प्रहरी– साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ २८ गते जिल्ला प्रहरी कार्यालय काभ्रेकोे आयोजनामा धुलिखेल नगरपालिका वडा नं. ०७ स्थित नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यमा तथा उप–प्रमुख निराजन जंगमको बिशेष आतिथ्यतामा नागरिक सुनुवाई तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका धुलिखेल नगरपालिकाको नगर प्रमुख, उप–प्रमुख, सबै वडाका वडा अध्यक्ष, वडा सदस्य र कार्यपालिकाका सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले काभ्रे जिल्लाको समग्र बस्तुस्थिति, अपराध अनुसन्धानको क्षेत्रमा सम्पादन गरिएका कार्यहरुको प्रगति विवरणसहितको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा उपस्थित जनप्रतिनिधी तथा नागरिकहरुबाट प्रहरी काम कारवाही, सडक दुर्घटना न्यूनिकरण, अबैध जुवा तास नियन्त्रण, घरेलु मदिरा बिक्री वितरण र सेवन, आत्महत्या न्यूनिकरणमा प्रहरीको भूमिका, चोरी लुटपाट, सडक बत्ती, घरेलु हिंसा न्यूनिकरण लगायतका विषयवस्तुमा उठेका गुनासोहरुको कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सम्बोधन गरेका थिए । प्रमुख अतिथि नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा, अमन चयन कायम राख्न प्रहरीले कानुन बमोजिम गर्ने अपराध नियन्त्रण र अनुसन्धान, बिभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई सफल बनाउन नगरपालिका तयार रहेको र जिल्लाको समग्र शान्ति, सुरक्षा र अमनचयन कायम राख्ने कार्य प्रहरीको मात्र नभई सबैको साझा कर्तव्य रहेकोसमेत बताए ।
कार्यक्रमका बिशेष अतिथि नगर उप–प्रमुखले नव निर्वाचित जनप्रतिनिधीहरुले स्थानीय प्रहरी कार्यालयसँग समन्वय र सहकार्य गरी काम कारवाही गरेमा गाउँ नगर र वडाको शान्ति सुरक्षा कायम राख्न सकिने बताए ।
कार्यक्रममा ८१ जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेले गरेका थिए ।