बाढी पहिरोको वितण्डा
काभ्रे । गत बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय जना ४८ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी एक सय एक जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा ३५, काठमाडौँमा १२, काभ्रेमा ३१, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छ जना, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा एक, उदयपुरमा एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।
काभ्रेमा हालसम्म ३१ जनाको मृत्यु, १९ जना बेपत्ता
काभ्रे । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्ला नराम्ररी प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ३१ जनाको मृत्यु भएको छ । यस्तै १९ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लामा ४२ जना घाइते र आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ९४ जनाको उद्धार गरिएको छ ।
यसैबीच अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि अलपत्र परेका यात्रु तथा विरामीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । उद्दार कार्य अहिले पनि जारी छ ।
धुलिखेलबाट पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर त्यसतर्फ गएको नेपाली सेनाको हेलिकोप्टरले सयौंको संख्यामा अलपत्र परेका यात्रु तथा विरामीहरुको उद्दार गरेको हो । उनीहरुलाई उद्दार गरि धुलिखेल अस्पतालमा ल्याइएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । त्यस्तै पहिरोमा परेकाहरुलाई पनि हेलिकोप्टरमार्फत उद्दार भइरहेको उहाँले बताउनुभयो ।
दुईदिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परेर काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ । मण्डनदेउपुरमा २ जनाको मृत्यु भएको छ । यहाँ पनि भौतिक संरचनाको निकै नै क्षति भएको वडानम्बर १० का वडाध्यक्ष कुमार तामाङले जानकारी दिनुभयो ।
बाढीपछि समग्र काभ्रेको अवस्था निकै समस्याग्रस्त रहेको र पुरानै अवस्थामा फर्कन निकै समय र खर्च लाग्ने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बताउनुभयो ।
काठमाडौं जोड्ने सबै मुख्य राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण अबरुद्ध भएका काठमाडौं जोड्ने सडक नाका ठप्प बनेका छन् । नागढुंगा–मुग्लिन, दक्षिणकाली–सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि काठमाडौं छिर्न र बाहिरिन सर्वसाधारणलाई समस्या भयो । जसले गर्दा यी नाका भएर दैनिक उपभोग्य वस्तु राजधानी भित्रिन सकेका छैनन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सबै नाका ठप्प बनेका हुन् ।
शनिबार साँझ अबेरसम्म देशभरका विभिन्न सडकखण्डका ६८ स्थानमा पहिरो खसेर यातायात ठप्प भएको छ । ठाउँ–ठाउँमा पहिरो खसेका कारण ती सडक खण्डमा यातायात सञ्चालनमा आउन सकेका छैनन् । सबैभन्दा बढी पहिरो नौबिसेदेखि मुग्लिनसम्मको सडक खण्डमा छ । यही सडकमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा केही यात्रुवाहक सवारी पुरिएर १४ जनाको ज्यान गएको छ । अवरुद्ध भएका सडक खुलाउने काम भइरहेको सरकारले जनाएको छ ।
सुनकोशी र रोशीमा आएको बाढी सत्तरी वर्षपछि कै भयानक
रोशी र सुनकोशीको बाढीबाट काभ्रे र सिन्धुलीवासी सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताउनुभएको छ । बाढीबाट खुर्कोट बसपार्क डुबेको छ भने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ भने धानबाली नष्ट भएको छ ।
सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उहाँले बताउनुभयो ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उहाँले बताउनुभयो । प्रभावित क्षेत्रका विपदमा परेका नागरिकलाई राहत र उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ ।