दुधको भुक्तानी नपाएपछि मण्डनदेउपुरका सयौं किसान पुनः आन्दोलित

ज्ञानमणि नेपाल कालोटोपी

कुन्तावेसी । जेठ २७ गते सरकारले बाह्रौं राष्ट्रिय कृषक दिवस मनाउँदै थियो । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते यो दिवस मनाइन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान पनि गर्ने गरिएको छ ।
तर काभ्रेको मण्डनदेउपुरका सयौं किसानहरु भने त्यहि दिन आन्दोलित भए । ५ महिनादेखि पैसा नपाएका उनीहरुले आफूले बेचेको दुधको भुक्तानी पाउनु पर्ने मागसहित आन्दोलन गरेका हुन् । बिहानैदेखि कुन्तावेसीको सडकमा उनीहरुले दुधका क्यानहरु लाइनमा राखेर विरोध जनाए । यहाँका किसानहरुले विगत एक वर्षदेखि नियमितरुपमा दुधको भुक्तानी पाउन सकेका छैनन् । पटकपटक दुग्ध विकास संस्थान, कृषि मन्त्रालय लगायतका निकायमा माग पूरा गराउन धाउँदै आइरहेका किसानहरुले पछिल्लोपटक ५ महिनायता दुध बेचेको पैसा पाएका छैनन् ।
तत्कालिन कृषिमन्त्री वेदुराम भुषालले गत चैतमै किसानले सबै पैसा पाउने पुस महिनामै बताएका थिए । त्यतिबेला सरकारले किसानको दुधको भुक्तानीका लागि ३० करोड रुपैयाँ दुग्ध विकास संस्थानलाई उपलब्ध गराएको थियो । तर त्यो पैसा वालुवामा पानी हालेजतिकै भएको छ । किनकी यतिबेला देशभरका किसानहरुको करिब ६ अर्बभन्दा बढी भुक्तानी गर्नु पर्नेछ ।
दुधजन्य वस्तुहरुको विक्री नहुँदा करिब ३ अर्बका दुधजन्य पद्धार्थहरुको स्टक बाँकी रहेको संस्थानले जनाउँदै आएको छ । तर किसानहरु भने अब गाईवस्तु पाल्न सकिने अवस्था पनि नरहेको बताउँछन् । सरकारले आफ्ना समस्याहरुको सम्बोधन गर्नुको सट्टा थप समस्या थप्दै गएकाले आन्दोलन गर्नु परेको सम्बन्धित किसानहरुले बताए । दुधको भुक्तानी तत्काल पाउनु पर्ने अन्यथा आन्दोलनका थप कार्यक्रम अघि बढाइने उनीहरुले चेतावनी पनि दिए ।
नेपाल कृषि प्रधान देश भए पनि दुध र अन्य खाद्यान्न आयात गरेर माग धान्नुपर्ने अवस्था छ । उता युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् । किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुनु, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।


सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । देशको अर्थतन्त्रमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रलाई प्रोत्साहन गर्न लगानीदशक घोषणा गर्नुलाई कृषि विज्ञले सकारात्मक नै मानेका छन् । तर किसानले भोग्दै आएका विगतदेखिकै समस्यालाई पहिले सम्बोधन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
किसानसँग पुग्नुपर्ने कृषि प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्न सके मात्रै पनि किसान र कृषिका धेरै समस्याको समाधान हुनसक्ने देखिन्छ । तर यसतर्फ सरकारले खासै ध्यान दिन सकेको छैन ।
दुधमा आत्मनिर्भर
काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये पनौतीले पशुपालन क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गर्दा यस नगरमा मात्रै भैँसीको सङ्ख्या दोब्बर भई दोब्बर परिमाणमा दूध उत्पादन भएको छ । हाल करिब आठ हजार भैँसी पनौतीमा छन् । दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौ विक्रीका लागि पठाइन्छ ।
जिल्लाका अधिकांश क्षेत्रका बासिन्दा पशुपालनमै छन् । पछिल्लो केही वर्षदेखि व्यवसायिकरुपमा दुग्ध उत्पादन एवं मासुका लागि पशुपालन क्षेत्रमा लागेको पाइन्छ ।
काभ्रेपलान्चोक दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो २००९ सालमा नै सुरु भएको जिल्ला हो । जिल्लाबाट हाल उत्पादित दैनिक चार लाख लिटर दूध स्थानीय बजारसहित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खपत भैरहेको जिल्ला दुग्ध उत्पादक सङ्घ काभ्रेले जनाएको छ । पछिल्ला वर्ष जिल्लामा पशुपालन व्यावसायिक हुँदै गएको र निरन्तर दूध उत्पादन बढिरहेको छ । हाल दैनिक जिल्लाबाट दुई लाख ५० हजार लिटर दूध काठमाडौ उपत्यका निर्यात हुने गरेको छ । सो परिमाणको दूध उपत्यकाको बजारमा २० प्रतिशतको हाराहारीमा हुन आउँछ ।
विश्व खाद्य सङ्गठनको सन् २०१० मा प्रकाशित तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकका दुई सय ६७ दुग्ध उत्पादक सहकारी संस्थाले सो वर्ष ७२ हजार एक सय मेट्रिक टन अप्रशोधित दूध उत्पादन गरेका थिए । यो मुलुकमै सबैभन्दा बढी उत्पादन रेकर्ड हो । काभ्रेपलाञ्चोक २०६७ सालमै दूधमा आत्मनिर्भर जिल्ला घोषणा भैसकेको हो । हाल जिल्लामा एक लाख ५५ हजार भैँसी र एक लाख गाईपालन भइरहेको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पका कारण जिल्लामा झण्डै १० प्रतिशतले दूधको उत्पादनमा कमी आएको थियो । पशु, चौपायाका लागि गोठ व्यवस्थापनको अभाव, दाना तथा आहारको कमी र दुधालु पशु, चौपाया भूकम्पका कारण मरेकाले भूकम्प गएको एक वर्षसम्ममा पनि दूधको उत्पादन पहिलेकै अवस्थामा फर्कन सकेको थिएन । भूकम्पका कारण काभ्रेपलाञ्चोकमा उत्पादनशील २ हजार ५ सय पशुचौपाया मरेका थिए ।
हाल दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरीले दूधको विगत दुईदेखि चार महिनाको भुक्तानी रकम रोकिँदा किसानलाई समस्या निम्तिएको छ । दूध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले किसानलाई पशु आहारा जस्तैः घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सिर्जना भएको किसानहरु बताउँछन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *