दलहरुलाई चुनौती

राजनीतिक दलहरुका क्रियाकलापहरु प्रति नागरिक निराश हुँदै पछिल्ला दिनहरुमा गणतन्त्र विरोधी नाराहरु लाग्न थालेका छन् । यसले एकातिर जनताको बलिदानीपूर्ण संघर्षबाट श्रृजित गणतन्त्रलाई चुनौती दिइरहेको छ भने अर्कातिर दलहरुप्रति नागरिकको विश्वास पनि गुम्दै गएको छ ।
गणतन्त्र आफैंमा बेठिक छैन तर यसलाई जुनरुपमा संचालन गर्नु पथ्र्यो सो अनुरुप नभएकाले कतिपय नागरिक व्यवस्था नै परिवर्तन गर्नु पर्नेमा पुगिसकेका छन् । खासगरि प्रदेश संरचनाका कारण नेपालमा संघियता काम छैन र यही अवस्था रहिरहे देशले खर्च धान्न सक्ने स्थिती नभएको नागरिकको बुझाइ छ । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालका केही जिल्लाहरुमा धार्मिक भ्रमण गर्ने भन्दै निस्किएका छन् । केही दिनअघि उनले बुटवलमा आयोजित एक कार्यक्रममा देश बचाउने जिम्मेवारी अब आफ्नो भएको घुमाउरो पारामा बताए ।
शाहले यति मात्र भनेनन्, दलहरुले गणतन्त्रको नाउँमा देशलाई नै खोक्रो पारेको र अब यसलाई सबै मिलेर रोक्नै पर्ने पनि बताए । उनले यसो भनिरहँदा उपस्थित नागरिक भने जोडले ताली बजाइरहेका थिए । एउटा रोचकपक्ष त के छ भने पूर्वराजा जहाँ पुग्छन्, त्यहाँ नागरिकको स्वतःस्फूर्त भीड लाग्छ । यो किन भइरहेको छ, यो गम्भीर प्रश्न हो ।
अघिल्लो महिना व्यवसायी दुर्गा प्रसाइँले दलहरुलाई चुनौती दिँदै राजधानीमै सभा गरे । जसमा राजतन्त्रलाई मुख्य बिन्दु बनाइएको थियो । गणतन्त्र खराब होला नहोला त्यो आफ्नो ठाउँमा छ । तर दलहरु अब पनि सच्चिएर आएनन् भने व्यवस्था नै धरापमा पर्ने त होइन ? भन्ने चिन्ता पनि उब्जिएको छ । गणतन्त्र आए पनि हिजो कै अनुहार सत्तामा रहनु र दलहरुले जनतालाई बलीको बोका बनाएर आफन्तवादमा रमाउँदै गएपछि नागरिक यसरी राजतन्त्रको पक्षमा खुलेका हुन् । यसमा दलहरुले अब पनि हेक्का राखेनन् भने देशले भोलि अर्को दुर्दशा भोग्नु पर्ने निश्चित छ भने राजनीतिक दलहरुले पनि पछुताउनु पर्नेछ । गणतन्त्र खराब होइन, तर नेपालमा भने यो व्यवस्था खराब व्यक्तिका हातमा परेको हो । यतातिर दलहरुले कहिले सोच्ने ?

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *