सरस्वती कणेल
पनौतीको त्रिवेणी धाम तीर्थस्थलबाट पश्चिम फर्केर हेर्दा देखिने तीन तले प्यागोडा शैलीको छाना भएको इन्द्रेश्वर महादेवको मन्दिर र त्यस वरपर रहेका सत्यनारायण, लक्ष्मीनारायण, सूर्यनारायण, उमामहेश्वर, विश्वेश्वर महादेव, कृष्ण, उन्मत्त भैरवका मन्दिर छन् । पनौतीको प्रमुख आकर्षण भनेकै तीन तले इन्द्रेश्वर महादेवको मन्दिर हो । स्कन्दपुराण हिमवत् खण्ड (नेपाल महात्म्य) ९८ अध्यायमा इन्द्रेश्वर महादेवको वर्णन गरिएअनुसार परब्रह्माले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया वशमा राख्न सक्ने गौतम ऋषिलाई नासोका रूपमा सुम्पिएको कुरा थाहा पाए पछि देवराज इन्द्र अहिल्याको रूपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए । स्नान गरी फर्कंदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएपछि इन्द्रको शरीरमा हजारौं योनी पाप चिह्नका रूपमा देखा परेका थिए ।
सतित्वहरणपछि पत्थरझैँ विवेकहीन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका थिए । सो शिला अहिले पनि इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित छ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकर मेला निरन्तररूपमा चल्दै आएको जनविश्वास रहेको छ। इन्द्रले अहिल्याको सौन्दर्यमा मोहित भएर कुदृष्टि राख्दा इन्द्र र अहिल्या दुवैले गौतम ऋषिबाट श्राप पाएका थिए । यही श्रापबाट मुक्त हुन इन्द्रले शिवको आराधना गरेका थिए । इन्द्र श्रापमुक्त भएपछि नै उनले यसै क्षेत्रमा शिवलिंग स्थापना गरे, जुन पछि इन्द्रेश्वर महादेवको नामले प्रसिद्ध भयो ।
यस क्षेत्रभित्र पर्ने ब्रह्मायणी, कृष्णमन्दिर तथा उत्मत्त भैरव, अष्टमात्रिका लगायत एक सयभन्दा बढी कलात्मक मठमन्दिर छन् । साथै इन्द्रेश्वर मन्दिर परिशरमा रहेको पनौती संग्रहालयमा पनौतीको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका सामग्रीहरू संकलन गरी प्रदर्शन गर्न राखिएको छ ।
संग्रहालयभित्र थुप्रै अमूल्य सरसामान, ढुंगामा सूर्य कुँदिएका लिच्छविकालीन प्रतिमा, तीन सय वर्ष पुरानो पश्चिमा बाजा, पनौती जात्रामा प्रयोग हुने चिजबिज, ओखल, तुलो, पुराना तस्बिरहरू, हलो, घुमजस्ता सामान संग्रहालयका लागि पुराना सामान दिएर सहयोग गर्नेहरूको नामै लेखेर राखिएको छ । त्यसैले त्रिवेणी धाममा नुहाएर महादेवको दर्शन गरौं पापवाट मोक्ष होऔं । पनौती संग्रहालय अवलोकन गरौं ।