– ध्रुवकृष्ण ताम्राकार
काभ्रेपलाञ्चोक
भिन्नता धेरै रहेछ
तिमी र ममा
म बगरको
ढुङ्गा
तिमी फूलको
थुङा
फरक त्यती
म टुक्रिएर
छरिएको
तिमी फक्रीएर
कसैबाट सजिएको
म घामको प्रतीक्षामा
रुमलिरहेको
खोंच थिएँ
तिमी पहाडको
अग्लाइमा
मस्त तापको
राप थियौ
त्यसैले होला
तिमीमा
जवानी जस्तै मात
चढिरहेको
म ढल्किदै गैरहेको
साँझ जस्तै
केवल अँध्यारो
पर्खिरहेको!!
तर पनि मलाई
अँध्यारो छिचोल्दै
बिउँझेको बिहानी
मन पर्छ
छालको चपेटामा
रेटेर पनि मलाई
बगेको बहाव
मन पर्छ
आखिर फरक त
त्यती नै हो
तिमि भन्छौ
संघर्ष बिनाको
जिबन जिउँछुं
म लडेर पनि
अझै जीबन जिउने
साहस बटुल्छु।