हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा ५० हजार पुरस्कार प्रदान गरिने जनाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको सप्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने जनाएको हो । आम नागरिकलाई असर गर्ने र कानुनले समेत बर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीका घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनध्वज लामाद्वारा जारी सूचनामा हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्नसमेत सचेत गराइएको छ । पछिल्लो समय सिन्धुपाल्चोकका विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको छ ।