सन्दिप के.सी.
जन्मदै कोही मानिस बुढो हुँदैन । जन्मनु तथा मर्नु जस्तै बुढ्यौलीपना पनि प्राकृतिक प्रकृया हो । ज्येष्ठ नागरिकको महत्व बारेमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा ‘बुढा मरै भाषा सरै भनी भन्छन्, तिमीहरु सबै छेउ सुनाइगया, भन्या तम्रा सन्तानलाई सुनाउलान् र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र राजे थामी षानन् ।’भनि उपदेश गरेको हाम्रो अतित देखिन्छ भने संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानका अनुसार ‘एउटा ज्येष्ठ नागरिकको देहावसानसँगै एउटा पुस्तकालयको अन्त्य हुन्छ । हाम्रो धार्मिक मान्यता बमोजिम आमा सबै तीर्थ हुन् र बुबा सम्पूर्ण देवताको स्वरुप मानिन्छ । तर अहिलेको परिस्थितिमा हिजो घरपरिवार र समाजका मेरुदण्ड बनेका ज्येष्ठ नागरिक आज पुरानो क्यालेण्डर जस्तै बनेर घरको कुनामा, बृद्धाश्रममा, मन्दिर, पाटी, पौवामा, सडकका किनार र गल्लीहरुमा अशक्त र जीर्ण शरीर लिएर बेसहारा भइ भौतारिरहेका देख्नु पर्दछ । बृद्धबृद्धाहरुलाई अनुत्पादक र बोझको रुपमा हेरी परिवारले उपेक्षा गर्ने जस्तो संकीर्ण दृष्टिकोण समाजमा डरलाग्दो रुपमा हुर्कँदै जानु चिन्ताको विषय हो । यस प्रकारको कुसंस्कार गाउँभन्दा सहरमा र अशिक्षितभन्दा शिक्षित घरपरिवारमा बढी देखिनु अझ दुःखद् पक्ष हो जसले हाम्रो समाज र हाम्रो भविश्य कता जाँदै छ भन्ने चिन्ता गर्न ढिलो भएको महसुस हुन्छ ।
विकासात्मक मनोविज्ञानले वर्गीकरण गरेअनुसार ६० वर्ष वा त्योभन्दा बढी उमेर समूहका व्यक्तिलाई ज्येष्ठ नागरिकको श्रेणीमा राखिन्छ । नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ बमोजिम ६० वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिकका रुपमा परिभाषित गरेको छ । यतिबेला हाम्रो देशमा वि.स. २०७८ सालको जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या २९ लाख ७७ हजार ३ सय १८ छ । अधिकाँस ज्येष्ठ नागरिक सामाजिक र आर्थिक कारणले असुरक्षा र कष्ट भोग्न बाध्य छन् । कोही आर्थिक कारणले लाचार र विवश छन् भने कोही कर्तव्यबाट विमुख हुनेहरू पनि छन् । शारीरिक असमर्थताका कारण लठ्ठी टेकेर हिँड्न विवश तिनका आफन्तमध्ये कोही विदेशमा छन्, त कोही छोराछोरी र नातिनातिनाहरूको मोह र मायाबाट अलग्गिएका छन् ।
सामाजिक संरचना तर्फ नियाल्दा ज्येष्ठ नागरिकहरू एक गाँस अन्नका लागि कहिले छोराहरूको घर घरमा पालैपालो खान कुर्नुपर्ने त कहिले छोरीहरूको घरको ढोका ढकढक्याउनु पर्ने अवस्थामा बसेका छन् । परिवार भित्र रहेका ज्येष्ठ नागरिकको जिन्दगी समेत मनमनै गुम्सिएको एउटा चौकीदार तथा दयाको पात्रको रूपमा बाँच्न विवश हुन्छ, जुन आजको कटु यथार्थ हो । छोरा बुहारीहरुसंग बस्नेहरुलाई पनि मैले पालेको छु भन्ने खालको सामाजिक अहं रहेको छ । म आमा बुवा संग बस्ने भाग्यमानी हुँ भन्न सकेको देखिँदैन । यो कस्तो उपजहो के जेष्ठ नागरिकले यो राज्य समाज र परिवारलाई योगदान गरेकै छैनन् र पाल्नु पर्ने हो। अझै विडम्वना कति ज्येष्ठ नागरिक त कहिले आफन्त र मन्दिर, पाटीपौवातिर भौंतारिएर शरण लिनुपर्ने करुणामयी अवस्थामा देखिएका छन् ।
मानव विकासको क्रममा जब मानिस बुढ्यौली हुँदै जान्छ तब ऊ भित्र जैविक, सामाजिक–सांस्कृतिक तथा मनोवैज्ञाकि समस्याहरु देखा पर्दै जान्छन् । शारीरिकरुपमा विशेषगरी अशक्त अवस्था सिर्जना हुने, श्रवणशक्ति कमजोर हुने, दृष्टिशक्ति पनि कमजोर हुने, हाडजोर्नीहरु कमजोर हुने आदि गर्दछन् । यसका साथै विभिन्न प्रकारका रोगबाट ग्रसित हुने, स्मरण शक्ति पनि कमजोर हुँदै जाने आदि जस्ता पक्षबाट पीडित भएका हुन्छन् । उमेर पाको भएपछि प्रत्येक मानिसलाई आइपर्ने आपत्विपत् भनेकै स्वास्थ्यमा गडबडी हो । उमेर ढल्किँदै गएपछि अनेक रोगले अचेट्छ । समयको परिवर्तन र बिभिन्न परिस्थितीका कारण यदि बृद्धबृद्धाहरु परिवारबाट टाढा हुन पुगे भने उनीहरुले आफूलाई सामाजिक रुपमा एक्लो भएको महशुस गर्दछन् । उनीहरुमा क्रमशः हीनताबोध हुन थाल्छ । जसले गर्दा उनीहरु रिसाउने, झर्कने आदि जस्ता व्यवहार देखाउन थाल्छन् । उनीहरु आफ्नो विगतलाई आधार मानेर आफ्ना व्यवहार देखाउने प्रवृत्तिमा प्रवेश गरेका हुन्छन् । कतिपय बृद्धबृद्धाहरु मानसिक रुपमा असन्तुलित हुने मात्र होईन डिप्रेशनका कारण तथा विकृत मनोदशाका कारण आत्महत्या समेतको बाटो रोज्न विवश भएका छन् ।
ज्येष्ठ नागरिकका हक, अधिकारको संरक्षण गर्ने प्रमुख दायित्व तिनै तहका सरकारले लिनु पर्दछ । ज्येष्ठ नागरिकप्रति हुन सक्ने हिंसाका साथै दुव्र्यवहारबाट बचाउनका समाज र राज्य पूर्ण रुपमा जिम्मेवार हुनुपर्दछ । नेपालको संविधान (२०७२)को भाग ३ को मौलिक हक र कर्तव्य अन्र्तगत धारा ४१ मा ज्येष्ठ नागरिकको हक सम्बन्धी व्यवस्था गरेको छ । विशेषगरी आफ्ना बाबुआमा वा ज्येष्ठ नागरिकको सम्पत्ति झुक्याएर हातमा पारी बेसहारा बनाएको छ भने त्यस्ता व्यक्ति वा समूहलाई कानूनको कठघरामा उभ्याउने कार्य गर्नुपर्दछ । साथै समाज र घरपरिवारको दायित्व पनि उत्तिकै मात्रामा रहेको हुनु पर्दछ । ज्येष्ठ नागरिक समाजका सम्पत्ति हुन् भन्ने मान्यताको स्थापित गरेर उनीहरुको बिग्रदो शारीरिक अवस्था र स्वस्थ्यप्रतिको अवस्थालाई परिवार, समाज र राष्ट्रले पूर्णरुपमा ध्यान दिने वातावरण बनान तर्फ ध्यान जान ढिला भैसकेको छ । हाम्रो समाजले हिजो देखि गरेको परिकल्पना अनुरुप ज्येष्ठ नागरिकको आदर, सम्मान र सुरक्षाको वातावरण उनीहरुका सन्तानले बनाउनु पर्दछ ।
बृद्धबृद्धाहरुको अवस्थामा उनीहरुलाई पूर्णरुपमा सहाराको आवश्यक पर्दछ । यस बखत पैसा र परिवारको मायाँ तथा मिठो बचनको आवश्यकता बोध हुन्छ । समाजमा रहेका ज्येष्ठ नागरिकको सम्मान र आदर गर्नु भनेको हाम्रो समाज, समुदाय, संस्कृति र धर्मको इतिहासलाई जीवन्त बनाउनु हो । किताबी ज्ञानबाहेक ब्यवहारिक शिक्षा तथा आध्यात्मिक शिक्षा दिन नसकिएको आजको शिक्षामा भएका उत्पादनले मानवीयता अपनत्व तथा भाइचारालाई बुझ्न या ठम्याउन नसक्ने अवस्था देखिन्छ।यस्तो परिवेश र अपरो पाश्चात्यता उन्मुख शिक्षाबाट हाम्रो सस्कृती सहितको सभ्य समाजको निर्माण कसरी सम्भव होला ? त्यसैले हाम्रा भविश्यका कर्णधार सन्तानहरुलाई ज्येष्ठ नागरिकको औचित्य बुझाउन नसकेमा हाम्रै भविश्य भयावह हुँदैछ ।