जिल्ला समन्वय समिति काभ्रेद्वारा कार्यालय प्रमुखहरुसँग अन्तर्क्रिया

  • ज्ञानमणि नेपाल कालाेटाेपी

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काभ्रेको सदरमुकाम धुलिखेलमा सोमबार जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लाका अधिकांश सरकारी कार्यालय र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिती रहेको थियो । जिल्लामा रहेका सबै सुरक्षा निकायका प्रमुख र पत्रकारहरु पनि सहभागी कार्यक्रममा जिसस प्रमुख दिपकप्रसाद गौतमले कार्यालयका प्रमुखहरुलाई जिम्मेवार भएर नागरिकका कामहरुलाई सहज तरिकाले सम्पादन गर्न निर्देशन दिए । उनले कार्यालयहरुबीच एकआपसमा समन्वय नहुँदा नागरिकले दुःख पाइरहेकोप्रति संवेदनशील हुन पनि सबै प्रमुखहरुलाई आग्रह गरे । प्रमुख गौतमले सबै कार्यालयहरुले आफ्नो कार्यप्रगति सार्वजनिक गर्न र पत्रकारहरुलाई सूचना दिन कन्जुस्याईं नगर्न अनुरोध गरे ।

कार्यक्रमको शुरुमै पत्रकार मधुसुदन गुरागाईंले सरकारी कार्यालयहरुमा भइरहेका कामहरु सन्तोषजनक नभएकाले सबै कार्यालयहरु पारदर्शी र जिम्मेवार हुनु आवश्यक रहेको बताए । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले प्रदेश र केन्द्रले समयमा बजेट निकासा नगर्दा काम समयमा हुन नसकेको बताए ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले आफ्नो कार्यालयबाट काभ्रे र सिन्धुपाल्चोकका २५ पालिकाका २३८ वटा वडामा काम गर्नुपर्ने जानकारी दिँदै सबै ठाउँमा समयमा सेवा दिन र कार्यालयको प्रगति विवरण सार्वजनिक हुँदै आएको बताए ।

पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले पालिकाहरुमा भइरहेका कामहरुका बारेमा सार्वजनिक सुनुवाई हुनुपर्नेमा त्यो नभएको र पत्रकारहरुलाई सूचना दिन कार्यालयहरु अनिच्छुक देखिएकाले यसलाई पारदर्शी बनाउन आग्रह गरे ।

कार्यक्रममा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले सानासाना गुनासो सुन्ने निकाय पालिकामै हुनेहुँदा यस्ता समस्या लिएर नागरिक केन्द्रमा धाउनु पर्ने अवस्था आउनु दुखद भएको बताए । उनले सबै कार्यालयहरुमा भएका कमजोरीहरु सच्याउँदै तत्कालै सुधार गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । प्रमुख अतिथि वागमती प्रदेशका मुख्य सचिव गोविन्दबहादुर कार्कीले कसरी जनताको मन जित्ने काम गर्न सकिन्छ भन्नेमा सबै कार्यालय प्रमुखहरु सजग रहनु पर्ने र नागरिकका गुनासो सुन्ने धैर्यता कर्मचारीमा हुनुपर्ने बताए । जुनसुकै तहका कर्मचारीले पनि आफू राजनीतिकरुपमा तटस्थ हुनुपर्नेमा उनले जोड दिए ।

कर्मचारीले निजी स्वार्थलाई नजोडी सेवा प्रवाह गर्नुपर्ने बताउँदै उनले सबै कार्यालयले एकआपसमा समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमका सभापति एवं जिसस प्रमुख दिपक गौतमले कामको मूल्यांकनका आधारमा कर्मचारीलाई सम्मान र पुरस्कृत गरिने बताउँदै नागरिकका समस्यालाई समाधान गर्न सबै तहका कर्मचारीलाई गम्भीर भएर काम गर्न आग्रह गरे ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *