बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले गत सोमबार ७३ बोरा (२८५ केजी) गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडी आइटीपार्क नजिक चेकजाँच गर्ने क्रममा चालकसहित एक महिला र एक पुरुष गरी तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
चेकजाँच गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप नगरपालिका ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजीव तामाङ र रामेछाप ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३ वर्षीय बिमला तामाङ रहेको प्रहरीले जनाएको छ । पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस्तै बनेपा नगरपालिका ४ त्रिबेणीचोक बस्ने सबिन नेपालीको सुपरमार्केटभित्र ११ जनाले जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले माघ १६ गते उनीहरुलाई पक्राउ गरेको छ । राति उनीहरुलाई नगद १ लाख ८४ हजार ६ सय ४० सहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट तीन बुक तास पनि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बनेपामा ल्याई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका १० स्थित विभिन्न टोलहरुमा धाराका टुटीहरु चोरी भएका तथा अन्य ससाना चोरीका घटनाहरु लिएर इलाका प्रहरी कार्यालयमा उजुरी गर्न जाने सर्वसाधारणको संख्या पनि बढीरहेको छ । यी त भए तस्करी र आपराधिक क्रियाकलापका घटना, माघ महिना लागे यता काभ्रेमा सवारी दुर्घटनाको संख्या पनि बढेको छ । माघ १८ गते बनेपा भैँसेपाटीमा बिपरित दिशाबाट आइरहेको २ वटा बस एक आपसमा ठोक्किएर दुर्घटना भयो । बनेपा नगरपालिका वडा नं. १४ भैंसेपाटीमा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६६६९ नं. को बसले बिपरित दिशाबाट आइरहेको बा प्र ०१–००६ ख २९९७ नम्बरको मयुर बसलाई ठक्कर दिएको थियो । प्रहरी चौकी साँगाबाट गएको टोलीले घटनास्थलमा पुगि घाइतेको उद्धार गरि उपचारका लागि शिरमेमोरियल अस्पताल पठायो ।
सो दुर्घटनामा परि घाइते हुने यात्रुहरुमा बा प्र ०१–००६ ख २९९७ नम्बरको बसमा सवार काभ्रे जिल्ला पाँचखाल नगरपालिका ६ बस्ने बर्ष २४ की नबिना दनुवारको बायाँ हातमा चोट लागेको, बा २ ख ६६६९ नम्बरको बसमा सवार नमोबुद्ध नपा ३ बस्ने बर्ष ३६ की वाङ्जु लामा खुट्टा दुखेको बाहिरी चोट नभएको सामान्य घाइते भएको, निजकी छोरी बर्ष ११ की फुर्सङ लामा र छोरा बर्ष ९ को समर्पण लामा दाहिने कम्बरमा सामान्य चोट लागेको र नमोबुद्ध नपा ५ बस्ने बर्ष २० की करुणा भुजेलको खुट्टामा सामान्य चोट लागेको थियो । बस चालकलाई भने इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।
यस्तै धुलिखेलमा माघ १२ गते शुक्रबार राति भएको सवारी दुर्घटनामा ५ जना घाइते भए । जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएअनुसार दुर्घटना राति ९ बजेर १० मिनेटमा भएको थियो । धुलिखेल नगरपालिका ४ धुलिखेल चोक स्थित अरनिको राजमार्गमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा प्र ०१–२५ च ८४२५ नम्बरको कारले धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही कारले धुलिखेल नगरपालिका ३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा प्र ०१–२४ च ९४८५ नम्बरको योद्धा पिकअप गाडीलाई समेत ठक्कर दिई दुर्घटना हुँदा ५ जना घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो । तीनवटै सवारी साधनमा क्षति भएको र ती साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा घाइते हुने मध्ये स्कुटर चालक पनौती नगरपालिका ११ बस्ने बर्ष २८ को मनोज तामाङ, कार चालक धुलिखेल नगरपालिका ३ बस्ने बर्ष अन्दाजी ४० को पारस श्रेष्ठ, कारमा सवार नमोबुद्ध नगरपालिकाका अन्दाजी २२ बर्षकी लक्ष्मी गजमेर, योद्धा पिकअप चालक बनेपा नगरपालिका ९ बस्ने बर्ष २० को अभिषेक राउत, योद्धा गाडीमा सवार भारत घर भएको बर्ष अन्दाजी २५ को जिनु साह रहेका छन् । उता बनेपामा माघ १० गते बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७० प ३७७९ नम्बरको मोटरसाइकल बनेपा नगरपालिका–७ धनेश्वर पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बनेपा ८ बस्ने २३ वर्षीय सरोज श्रेष्ठको उपचारको क्रममा शिर मेमोरियल अस्पतालमा राति पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छ ।
यी केही प्रतिनिधि घटना हुन् । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेपछि प्रहरी प्रशासनलाई नै टाउको दुखाईको विषय बनेको छ । विशेषगरि शहरी क्षेत्रमै यसप्रकारका घटना भएपछि प्रहरी प्रशासनलाई चिन्ताको विषय बनेको हो । यसको न्यूनिकरणमा विशेष सतर्कता अपनाइरहेको प्रहरीले जनाए पनि घटनाहरुमा कमी आउन सकेका छैनन् । यसैबीच बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठूला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाइएको छ ।
कार्यक्रमअन्तर्गत दैनिक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सावधानीका साथै दुर्घटना भइहाले गर्ने प्राथमिक उपचारलगायतका कामबारे जानकारी गराउन थालिएको हो । बिपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङमा सुरु गरिएको उक्त कार्यक्रम जिल्ला अन्तर्गतका अन्य राजमार्ग एवं सहायक मार्गमा सञ्चालन गर्दै जाने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताउनुभयो । उहाँका अनुसार ट्राफिक र स्वास्थ्य कार्यालयका अधिकारीले चालकलाई दुर्घटना न्यूनीकरणका उपाय तथा प्राथमिक उपचारका बारेमा जानकारी गराइन्छ । जिल्लामा चालु वर्षको पुस मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ दुर्घटना भएका छन् । तीव्रगति, बढी आत्मविश्वास तथा अस्वभाविकरूपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको घिमिरेले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ज्यान गुमाउनेमा पुरुष आठ सय ५४, महिला दुई सय नौ र बालबालिका ७४ जना रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ हजार तीन सय ३५ जना घाइते भएका छन् । प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार आठ सय ५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच हजार आठ सय ६५, कोशी प्रदेशमा एक हजार छ सय ३९, मधेसमा तीन हजार एक सय ९०, बागमतीमा सात सय छ, गण्डकीमा एक सय ९५ वटा दुर्घटना भएका छन् । यस्तै लुम्बिनीमा छ सय छ, कर्णालीमा चार सय ९५ र सुदूरपश्चिम प्रदेशमा एक सय ६० सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १० हजार तीन सय ५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसरी देशव्यापी भएका सवारी दुर्घटनामा करोडौंको धनजनको क्षति भएका छन् । दुर्घटना न्यूनिकरणमा सम्बन्धित सरोकारवाला निकायले आआफ्नो ठाउँबाट प्रयास गरिरहेका भए पनि यसमा सर्वसाधारण र सवारी चालकहरुले पनि ध्यान दिनु जरुरी देखिन्छ ।