
काभ्रे । खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका चौँरीदेउराली गाउँपालिकाका पाँच सामुदायिक विद्यालय ‘थ्री स्टार’ विद्यालयका रूपमा परिचित भएका छन् ।
गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजना अन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको हो ।
‘थ्री स्टार’ द्वारा परिचित विद्यालय माध्यमिकस्तरका हुन् । ती विद्यालयमा गाउँपालिकाको ५ नं वडास्थित अरनिको मावि र जागृति मावि, वडा नं ३ को बुद्ध हिमालय मावि, वडा नं ५ को सिर्जनाशील जनता मावि, वडा नं ६ को प्रभा मावि रहेका छन् । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटरएड र सिविक फोरम नामका संस्थाले सहयोग गरेका थिए । पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्ड अन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वास्थ्य स्वच्छताको सुविधा, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् ।
यी १० सूचक पूरा गरेपछि तीनतारा घोषणा गरिएको फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले जानकारी दिए ।