चैते धान थन्क्याउन कृषकहरु व्यस्त

ज्ञानमणि कालोटोपी÷धाईटार
देशका धेरैजसो भागमा असार लागे सँगै रोपाईं गर्न कृषकहरुलाई धमाधम भएपनि जिल्लाका केहिभागमा भने गएको चैत महिनामा रोपिएको चैतेधान थन्क्याउन कृषकहरुलाई भ्याईनभ्याइ भएको छ ।
जिल्लाको मण्डनभेग र यस आसपासका कुन्तावेसि, सिपाघाट, रानीटार, दोलालघाट, पाँचखाल, धाईटार लगायतका सिंचाई सुविधा पूगेका फाँटहरुमा अहिले चैतेधान पाकेर थन्क्याउने बेला भएकाले  कृषकहरु यतातिर पनि व्यस्त देखिएका हुन् ।
केहि वर्ष देखि पानी कम पर्न थाले पछि चैतेधान रोपाईं प्रभावित भएको भएपनि जति ठाउँमा रोपाईं गरिएको थियो त्यहाँ अहिले धान राम्रै फलेको छ । चैतेधान थन्क्याए लगत्तै पुनः रोपाईं गर्नुपर्ने भएकाले कृषकहरुलाई धमाधम भएको धाईटारका कृषक मुरलीप्रसाद पौडेलले बताउनुभयो ।  यस वर्ष कृषकहरुले जिल्लाको करिव ५ सय हेक्टर जमिनमा लगाईएको चैतेधान धन्क्याउने तयारी गर्दै रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसरी वर्षमा एउटै खेतबाट २ पटक सम्म धानको उत्पादन गर्ने कृषकहरुको संख्या पछिल्ला दिनहरुमा वढ्दै गएको कृषक पौडेलले बताउनुभयो । यो सिजनमा कृषकहरुले ताइचिन, जापानिज तथा असारे जातका धानहरुको खेती गरेका र यसको अहिले बजार भाउ पनि रामै्र रहेको बताईएको छ ।
चैते धान खेती तर्फ कृषकहरु आकर्षित भए पनि उनीहरुका लागि सिंचाई नै मुख्य समस्याका रुपमा रहेकाले सोचे जस्तो यसको उत्पादन गर्न भने अझै नसकिएको कृषकहरुको गुनासो छ । यसका अतिरिक्त रासायनिक मलको मुल्यवृद्धि र कामदारको अभाव तथा ज्यालादरमा भएको वृद्धि लगायतका समस्याहरुले त सधैं झैं कृषकहरुलाई समस्या पारिरहेकै छ । तैपनि कृषकहरुले चैतेधान रोपाईं नछोडेकाले यो सिजन उनीहरुका लागि धान रोपाईं सँगै थन्क्याउने सिजनका रुपमा पनि परिचित रहँदै आएको सम्बन्धित कृषकहरु बताउँछन् ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *