- सन्दीप के.सी.
मुटु मानव शरीरको महत्वपुर्ण अंग हो । यसले शरीरका सम्पुर्ण अंग तथा कोषहरुमा रक्त सञ्चार गर्दछ । मूटुलाई रक्त सञ्चार गर्ने रक्त नलीलाई कोरोनरी आर्टरी भनिन्छ । यो रक्तनलीमा अचानक अवरोध आएर मुटुको मांशपेशीमा रक्तसंचारमा हुन सक्छ र कोरोनरी आर्टरीमा अवरोधका कारणले गर्दा मुटुको मांशपेशी मर्न थाल्दछ । यस्तो मुटुको मांसपेशीमा रक्त सचारको कमीले देखिने अवस्थालाई कोरोनरी मुटुको रोग भनिन्छ। ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो ।
संसारभरमा मुटुरोग मानिसको मृत्यु गराउने पहिलो कारण बन्न पुगिरहेको छ । विश्व मुटु महासंघको प्रतिवेदन अनुसार मुटुरोगका कारण विश्वभरमा बर्सेनी १ करोड ८० लाख भन्दा बढि मानिसहरुको मृत्यु हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुसार विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिन थालेको छ । हाल नेपालमा करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ । १८ वर्ष उमेर माथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग रहेको अनुमान छ । नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ । मुटुरोग प्राण घातक भए तापनि ८०% हृदयघात रोकथाम गर्न सकिन्छ ।
सामान्य अर्थमा बुझ्दा कुनै कारणवस मुटुको रक्तनलीमा अवरोध आयो भने त्यो भागमा रक्तसंचार कम हुने र मुटुको मांशपेशीको मृत्यु हुन सक्छ । यसलाई हार्ट अट्याक अर्थात हृदयघात भनिन्छ । मुटुमा रक्तसंचार गर्ने दुई नलीहरु लेफ्ट कर्नरी आट्री (वायाँ धमनी) र राइट कर्नरी आर्टरी (दायाँ धमनी) हुन्छन् । यी ठूला रक्त नलीहरु मध्ये कुनैमा अवरोध भयो भने ठूलो हृदयघात हुन्छ र मुटुका अन्य साना रक्तनलीमा अवरोध भयो भने माइनर हर्टअट्याक हुन्छ ।
वातावरणको तापक्रम मौसमी परिवर्तन सँगै घट्दै छ । वाह्य चिसोको कारणले शरीरका नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त नलीहरुमा रक्त प्रवाहमा अवरोध सृजना गर्दछ । जसको असर मुटुको रक्त सञ्चार प्रकृयामा पर्छ । त्यसैले जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । यसबाट जोगिनको लागि बिशेष गरी मुटुरोगीहरुले अझै बढी सचेत रहनुका साथै सतर्कता अपनाउनै पर्छ ।
हृदयघात गराउनको लागि विशेषगरी तीनवटा कारणहरु रक्तनलीमा बोसो जमेमा तथा रक्त नली फुटेमा र रक्तचाप बढेर मुटुमा असर परेमा रक्तनलीमा अवरोध सिर्जना हुने गर्छ । रक्तनलीमा बोसो जम्ने धेरै कारणहरुमा गलत खानपान, विलासी जीवन, व्यायामको कमी, धुमपान, मद्यपान लगायतका कारण हुन्छन् भने रगतमा कोलेस्ट्रोलको मात्रा अधिक भएमा पनि रगतमा बोसो जम्ने गर्दछ । अन्य विभिन्न रोगहरुका कारण पनि रगतमा बोसो जम्ने समस्या हुने गर्छ । अर्को पक्ष रगतमा बोसो जम्ने समस्या भएमा यसले रक्तनलीमा अवरोध खडा गर्दछ ।
चिसो मौसममा तापक्रममा आएको गिरावटकै कारण रगतमा बोसो जम्ने समस्या अधिक हुने गर्छ । जसका कारण मुटुमा अवरोध भएर हृदयाघात हुने सम्भावना उच्च हुने गर्छ । त्यस्तै, जाडो मौसममा चिसोकै कारण मानिसहरुको रक्तचाप बढी हुन्छ । उच्च रक्तचापका कारण मुटुको नशा अचानक फुट्न पुग्छ, र मानिसलाई हृदयाघात हुने गर्छ । जाडो मौसममा हृदयाघात गराउने अर्को प्रमुख तत्वहरुमध्ये शरीरमा हर्मोर्नको गडबडी पनि हो । यो विहानीपखको समयमा बढी हुन्छ ।
बिर्सनु नहुने कुरा के हो भने हृदयाघात जो कसैलाई कुनैपनि समयमा हुन सक्छ । तथापि जाडोको समयमा पहिला हृदयाघात भैसकेको व्यक्तिहरु, परिवारमा कसैलाई हृदयाघात भएका तथा उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा हृदयाघातको सम्भावना बढी हुने भएकोले यस्ता मानिसहरु सचेत रहनु पर्दछ । त्यसता ब्यक्तिहरुले धेरै चिसोमा अचानक तडक भडक गर्नु हुँदैन । विशेषत मर्निङवाक बिहान घाम लाग्नुअघि गर्नु उपयुक्त हुँदैन तथा नियमित स्वास्थ्य जाँच गरी रक्तचाप नियन्त्रित राख्ने गर्नु पर्दछ ।