सन्दीप के.सी.
जाडोको समयमा अन्य समय भन्दा विभिन्न रोगको संक्रमण पनि बढी हुने गर्छ । ६५ वर्ष उमेर माथिका वृद्धवृद्धा तथा १२ वर्ष उमेरमुनिका बालबालिकामा श्वासप्रश्वासको समस्या धेरै हुने गर्छ । चिसोमा आफूलाई न्यानोमा राख्न नसक्दा उनीहरु संक्रमणको उच्च जोखिममा हुन्छन् । चिसोको समयमा बालबालिकाहरुमा चिसोकै कारण रुघाखोकी, निमोनिया, भाइरल डायरिया लगायतका भाइरल संक्रमण हुने गर्छ । यस्तै दीर्घरोगीहरुमा समेत चससोका कारण साधारण रुघाखोकीले पनि उनीहरुमा दम, खोकीलगायत श्वासप्रश्वास सम्बन्धी गम्भीर संक्रमण निम्त्याउन सक्छ । त्यसैले, यो समयमा खासगरी बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ ।
चिसो मौसममा धुमपान गर्ने व्यक्तिमा सिओपिडी, ब्रोनकाइटिस, इम्फाइसेमा, आज्मा लगायतका समस्या देखिन गर्दछ । बिशेष गरी धुलो धुवाँमा हिँड्नेहरुमा घाँटीको एलर्जी, साइनासाइटिस श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । यसबाहेक, मधुमेहका विरामी, पूराना दम रोगी, केमोथेरापी लिइरहेका विरामी, एचआईभी संक्रमित तथा मिर्गौलाका रोगीहरुलाई पनि चिसोको समयमा निमोनियाको संक्रमण हुनसक्छ । चिसोको समयमा दखिने छातीको संक्रमणमा खोकी निरन्तर लाग्नु, खकार सहितको रगत आउनु वा खकार पहेँलो हुनु, स्वाँ–स्वाँ हुनु वा ढुकढुकी बढ्नु, ज्वरो आउनु, छाती दुख्नु वा पीडा हुनु लक्षण हुन्छन् तथा कुनै कुरामा मन नलाग्नु जस्ता लक्षण देखिन्छन । त्यस बाहेक टाउको दुख्ने, थकान महसुस हुने, पसिना आउने, खानमा अरुची, जोर्नी तथा मासंपेशी दुख्ने जस्ता लक्षणहरु समेत देखिन्छन । चिसो समयमा धेरै मानिसहरुमा चिसोको एलर्जीको पनि हुने गर्छ । यस्तो अवस्थामा चिसोका कारण रुघाखोकी लागेमा हाच्छ्यू आउने, खोकी लाग्ने, नाक बन्द हुने, स्वाँ–स्वाँ हुने जस्ता लक्षण देखिने गर्दछ ।
छाती दुखाईमा एन्टिबायोटिकको प्रयोग सकेसम्म कम प्रयोग गर्नु उचित हुन्छ । खोकी लाग्दा तथा छाती दुख्दा घरेलु औषधिकै प्रयोगलाई बढी जोड दिँदा त्यसले खोकी द्वारा भित्र जमेको फोहरलाई बाहिर फाल्न सघाउँछ, छाती दुखाईलाई भित्रै देखि कम गर्दै लैजान्छ । छाती दुखाईका कारण निमोनियाको जोखिम बढ्ने भएमा मात्र एन्टिबायोटिक प्रयोग गर्नु पर्दछ । चिसो मौसममा छाती दुख्नु सामान्य समस्या हो । यस्तो समयमा छातीको संक्रमणको जोखिम कम गर्न धूमपान नगर्ने ,सफा बस्ने, साबुनपानीले राम्ररी हात धुने, हाच्छ्युँ गर्दा वा खोक्दा रुमालको प्रयोग गर्ने, पौष्टिक तत्वयुक्त खानाको सेवन बढी मात्रामा गर्ने, प्रत्येक वर्ष जाडो आउनु भन्दा पहिले रुघाखोकीको खोप लगाउनु नै रुघाखोकीबाट बच्ने उत्तम उपाय हो । जब तपाईं खोक्नुहुन्छ वा हाछ्युँ गर्नु हुन्छ कुहिनोले तपाईंको मुख ढाक्नुहोस् ।
रुघाखोकीका कारण श्वास फेर्नमा कठिनाई भएमा, धेरै खकार आएमा, खकार पहेँलो, हरियो वा रगत सहितको खकार देखिएमा, खकारमा रगत देखिएमा, उच्च ज्वरो आएमा, रुघा लागेको केही दिनसम्म पनि रुघा निको नभएमा, लक्षण झन् झन् कडा हुँदै गएमा, जीउ गल्न थालेमा, हात खुट्टाका औंला तथा नङ्ग, जिब्रो तथा नाकको टुप्पो नीलो भएमा, सुत्नमा समस्या भएमा भने तुरुन्तै अस्पताल लैजानुपर्छ । चिसोबाट बच्नु नै बुद्धिमानी भएकोले जेष्ठ नागरिक र बालबालिकाको बिशेष हेरचाह गर्नु पर्दछ ।