ज्ञानमणि नेपाल कालाेटाेपी
पनौती । किसानकै छोरा भएकाले उनको मन हरदम किसानका समस्या र खेतीतर्फ नै जान्छ । बिहानैदेखि उनलाई धेरैजसो किसानकै फोन आउँछ अनि दिनभरि जसो कामको शिलशिलामा घरबाहिर हुँदा पनि एकपटक पनौतीको फाँटसम्म पुग्छन् उनी । उनी अर्थात प्रदीप केसी बञ्जारा । पनौती–८ खरिबोटका स्थायी बासिन्दा केसी हाल बनेपामा बस्छन् र पनौतीका किसानका खेतखेतमा पुग्छन् पनि । पेशाले उनी पत्रकार हुन् , यससँगै आफ्नै सहकारी पनि छ । मध्यमार्ग कृषि सहकारीका अध्यक्ष हुन् उनी । त्यही सहकारीमार्फत कृषि सामाग्रीहरु अनुदानमा किसानलाई उपलब्ध गराउने काममा उनको दैनिकी बित्ने गरेको छ । यसरी कृषिमा प्रत्यक्ष वा अप्रत्यक्ष लागिपरेको धेरै वर्ष भइसक्यो । उनी जिल्लाका अधिकांश किसानका लागि सरकारले सहयोग गर्न जरुरी रहेको बताउँछन् ।
चाहे रासायनिक मल होस् या कृषियन्त्र । मध्यमार्ग कृषि सहकारीले किसानसँग सहकार्य गर्दै कृषकको सच्चा साथी बनेको छ । कृषकलाई समयमै आवश्यक सहयोग दिलाउन सहकारीका अध्यक्ष प्रदीप केसी कम्मर कसेर लागेका हुन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ र ८ का कृषकहरुका लागि मध्यमार्ग कृषि सहकारी संस्थाले कृषि सामाग्री वितरण गर्दै आएको छ । सहकारीमा आबद्ध कृषकहरुका लागि ट्याक्टर, सानो ठूलो टनेल, स्प्रे र मल्चिङ्ग वितरण र रासायनिक मल उपलब्ध गराउँदै आएको हो । समुदायस्तरमा कृषि प्रविधि, कृषि प्राविधिक र बजार व्यवस्थापनका बारेमा योजनाबद्धरुपले कार्य गरिरहेको सहकारीले कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणमा साथ दिइरहेको छ । सहकारीका अध्यक्ष केसीले आफू कृषक भएको र कृषककै लागि सहकारीमार्फत समृद्धिको काम गरिरहेको बताए ।
मजदूर बचाउ आन्दोलनमा भारतको आसाममा १० वर्ष र प्रजातन्त्र तथा स्वतन्त्रताको पक्षमा क्रियाकलाप गरेको आरोपसहित तत्कालिन अवस्थामा मल्पी गाविसको प्रधानपञ्च पदमै बाहाल रहेको अवस्थामा पक्राउ परि २०२८ सालमा जेल भोगेका लिलाबहादुर खत्रीका जेष्ठ सुपुत्र प्रदिप केसी बञ्जारालाई पिताबाट पाएको प्रेरणाका कारण सानै उमेरदेखि राजनीति तथा समाजसेवाको रहर जागेको थियो ।
विसं २०२२ साल फागुन १ गते जन्मिएका बञ्जाराले २०४२ सालमा एसएलसी पास गरेसँगै उनी पत्रकारितामा आबद्ध रही समाजसेवा तथा राजनीति गर्ने उद्देश्यसहित पञ्चकुमारी छापाखानामा जोडिए । कामसँगै अध्ययनलाई निरन्तरता दिएका बञ्जाराले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्न सफल भएका थिए । नेपालभूमि साप्ताहिक काठमाडौंबाट लेखन शुरुवात गरेका बञ्जाराले जिल्लाबाट प्रकाशन हुने जनमत मासिक तथा काभ्रे टाइम्स साप्ताहिकमार्फत पत्रकारितालाई निरन्तरता दिइरहे । राष्ट्रिय समाचार समितिमा जिल्लाका समाचार सम्प्रेष्ण गर्दै गर्दा आफ्नै मिडिया संचालन गर्ने रहर जागेपछि बञ्जाराले २०६२ सालमा मध्यमार्ग साप्ताहिकको शुरुवात गरे । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा स्थापना भएको मध्यमार्ग साप्ताहिकले शुरुवाती समयमै संर्घषपूर्ण समय व्यतित गर्नुपरेको उनी सम्झन्छन् ।
गिताञ्जली प्रिन्टिङ प्रेस, भुवन प्रिन्टिङ प्रेस हुँदै अहिले उनी बन्दिकापुर छापाखानाको समेत संचालक हुन् । छापा माध्यमसँगै रेडियो संचालन गर्ने उद्देश्यसहित मध्यपूर्व एफएम पनि संचालन गरेका उनले केही समयमै त्यसबाट हात झिके । शुरुमा राजनीतिक चेत अत्यावश्यक देख्ने बञ्जारा पछिल्लो समयको राजनीतिदेखि दिक्क लागेको अनुभव सुनाउँछन् । त्यसैले समाजका कमजोर नागरिकका समस्या, जनचासोका विषयमा समाचार लेख्ने बञ्जारा कृषिमा भने शुरुदेखि नै लगाव भएको बताउँछन् ।
गाउँको आफ्नो जग्गा कृषिकार्यका लागि भाडामा दिएका बञ्जारा परिवारसँगै बनेपामा बस्छन् । विभिन्न संस्थाहरुमा पनि संलग्न रहेका उनलाई न आफ्नो गाउँको चिन्ताले छोडेको छ न कृषकको । पत्रकारितासँगै कृषिकर्ममा बञ्जाराको लगाव लोभलाग्दो छ । आफ्ना स्वर्गीय पिताबाट व्यक्तिगत स्वार्थभन्दा सामुहिक हितमा ध्यान दिनुपर्छ भन्ने ज्ञान पाएका बञ्जारा खरिबोट क्षेत्रका कृषकलाई व्यवसायिक बनाउन सकेको सहयोग गर्ने र जिल्लाभरका किसानको पक्षमा आवाज उठाइरहने बताउँछन् ।
केसीले आफ्नो छरछिमेकमा भएको जग्गामा कृषकहरुको मिहेनत देखेर केही गरौं भन्ने योजना बुनेका थिए । सहकारीमार्फत नै कृषकलाई एकीकृत गरी कृषिकर्म गर्ने सोच राखेका उनीसँग सहकारी सम्बन्धि अनुभव पनि राम्रो थियो । काभ्रेको लोकप्रिय विन्ध्यवासिनी सहकारीमा १२ वर्षसम्म संचार उपसमिति सदस्य भएर उनले काम गरेका थिए भने सहकारी व्यवस्थापन तालिमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम लिएका थिए । त्यससँगै युएसआइडीको सहयोगमा खाद्यान्न तथा तरकारी खेती सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम पनि लिएका थिए । उनले नेत्रज्योति समाज सुधार संघ खरिबोटको अध्यक्ष, रेडक्रस सोसाइटी खरिबोट उपशाखा सभापति, एमनेष्टि इन्टरनेशनल समूह ७२ को संचार संयोजक, आलु सुपरजोन प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई सदस्य, मानव अधिकार संगठन काभ्रेको मिडिया संयोजक जस्ता पदमा रहेर काम गरिसकेका छन् ।
आफ्नो रुची, ज्ञानलाई उपयोग गर्ने उद्देश्यसहित समुदायका कृषकहरुको नेतृत्व गरी कृषि सहकारी दर्ता गर्नका लागि उनी तत्कालिन सहकारी डिभिजन कार्यालय धुलिखेल पुगे । त्यहाँका कर्मचारीहरु राजु अधिकारी तथा शंकर दुलालको सल्लाहमा मध्यमार्ग कृषि सहकारी नामाकरण गरि संस्था दर्ता गरेको उनी स्मरण गर्छन् । सहकारी दर्ता पश्चात उनी जिल्ला कृषि ज्ञान केन्द्र तथा अन्य निकायको समन्वयमा कृषकहरुका लागि टनेल, ट्रे र फलफूल विरुवा बितरण लगायतका कार्य गरेको बताउँछन् । खरिबोट क्षेत्रमा वर्षौंदेखि गरिँदै आएको सुन्तला खेतीमा समस्या देखिएपछि कृषि शिविर संचालन गरेको उनले बताए ।
सुन्तलामा देखिएको समस्या सहजरुपमा समाधान गर्न गाह्रो हुने ठहरसँगै प्लाष्टिक घरमा खेती गर्न हौसिएका कृषकलाई प्रोत्साहन हुने कार्यक्रम संचालन गर्ने सोचसहित कृषि ज्ञान केन्द्र (कृषि विकास कार्यालय) सँग अनुरोध गरेपछि कार्यक्रम स्विकृत भएको उनी बताउँछन् । कार्यक्रम अनुसार गत वर्ष ५० प्रतिशत कृषकको लागतमा ७० लाखको कृषि औजार उपकरण, सामग्री वितरण गरेको उनको भनाइ छ । तरकारी कृषकको सहजताका लागि उनले सहकारीमार्फत नै रासायनिक मलको डिलर संचालन गरेका छन् ।
यसरी हरेक क्षेत्रमा अहिले पनि उत्तिकै सक्रिय केसी पनौती र बनेपाका किसानहरुका साथी र सहयोगी भएका छन् । उनको सक्रियताबाट अहिलेका युवाहरुले पनि धेरै कुरा सिक्न जरुरी छ ।