
– रश्मि हुमागाईं
शब्दयात्रा प्रकाशनबाट हालै दुईवटा पुस्तक प्रकाशन गरिएका छन् । ती दुवै पुस्तक साहित्यकार गायत्रीकुमार चापागाईंद्वारा लेखिएका हुन् । एउटा पुस्तक ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रह हो भने अर्को पुस्तक ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ नामक संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह हो ।
पहिलो पुस्तक ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहको कुरा गरौँ । ‘प्रकाशकीय’ मा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लेखे अनुसार गायत्रीकुमार चापागाईंद्वारा लिखित ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहमा जम्मा ६२ वटा कविता सङ्कलन गरिएको छ । विविध शास्त्रीय छन्द र लयमा लेखिएका यसभित्रका कविताहरूमा जन्मस्थल र राष्ट्रप्रतिको श्रद्धा, नेपालको प्रकृति, संस्कृति, समाज, जाति, सभ्यता र लोकजीवन व्यक्त गर्नुका साथै समानता र स्वतन्त्रताका स्वरहरूलाई पनि कलात्मक बान्की दिएर प्रस्तुत गरिएको छ । कुनै–कुनै कवितामा समाजमा रहेका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार पनि गरिएको छ । यस सङ्ग्रहभित्र १९ वटा नयाँ र ३१ वटा प्रचलित छन्दहरू गरी जम्मा ५० वटा शास्त्रीय छन्दको प्रयोग गरिएको छ । छोटो संरचनाका कविताको बाहुल्य रहेको यो सङ्ग्रह विभिन्न अलङ्कारहरूद्वारा सुसज्जित छ । नेपाली साहित्यको कविता विधाले प्राप्त गरेको यो बहुमूल्य उपहार हो ।
अब दोस्रो पुस्तक ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ नामक संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रहको कुरा गरौँ । ‘प्रकाशकीय’ मा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लेखे अनुसार निबन्धकार गायत्रीकुमार चापागाईंको संस्मरणात्मक र समीक्षात्मक निबन्धसङ्ग्रह ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ २८ वटा निबन्ध भएको उहाँको एघाह्रौँ कृति हो । यस कृतिमा उहाँको गद्यलेखनमा पाइने सिर्जनात्मक सामथ्र्य राम्ररी प्रकट भएको छ । यसभित्रका उहाँका निबन्धहरू मौलिक र गम्भीर छन् तथा बौद्धिकता र तार्किकताले भरिएका छन् । यस कृतिमा विभिन्न साहित्यकारका मौलिकता र मुख्य विशेषताको परिचय गराइएको छ । पाठकले यस कृतिमा समीक्षा, समालोचना, संस्मरण र नियात्राको एकैसाथ रसास्वादन गर्न पाउँछन् । कृतिकारका अनुभव र अनुभूति, श्रम र साधना, रुचि र समर्पण, विद्वत्ता र मौलिकता, ज्ञान र गरिमा यस कृतिमा प्रकट भएका छन् । अनुसन्धान र विश्लेषण गर्दाको उहाँको मिठासपूर्ण प्रस्तुतिले कृतिलाई रोचक बनाएको छ । कृतिकारको साहित्यिक लगनशीलताको यो बलियो उदाहरण हो ।
हालसम्म २१६ वटा पुस्तक प्रकाशन गरिसकेको शब्दयात्रा प्रकाशनबाट प्रकाशित यी दुई कृतिले नेपाली साहित्यमा आफ्नै खालको विशिष्ट स्थान राख्ने विश्वास गर्न सकिन्छ ।