किसानलाई दुधको भुक्तानी तुरुन्त दिइयोस्

नेपालका किसानलाई हरेक समस्या छन् भन्ने कुरा अब नयाँ रहेन । अभावै अभावका बीच अनेक हण्डर खाएर उत्पादन गरेका कृषि उपजहरुको बजार नहुँदा समस्यामा रहेका उनीहरु विगत केही वर्ष यता रासायनिक मल नपाउँदा हैरान भए । समस्याकै बीचमा काभ्रेका किसानहरुलाई अहिले अर्को पीडा थपिएको छ, दुधको भुक्तानी समयमा नपाउनु । पहिले हरेक १५ दिनमा आफूले बेचेको दुधको भुक्तानी पाउँदै आएका किसानहरुलाई दुग्ध विकास संस्थानले भुक्तानी नदिएको तीन महिना भयो ।
दुध बेचेको पैसा हरेक १५ दिनमा पाउँदै आएका उनीहरुलाई दुग्ध विकास संस्थानले तीन महिनासम्म पैसा दिएन । भुक्तानी समयमा नदिनुको कारण दुधको बजार माग घटेको र पाउडर दुध बनाउनु पर्ने बाध्यता आएको संस्थानले जनाएको छ । नियमित आउँदै गरेको भुक्तानी नआएपछि किसानहरु समस्यामा छन् । यो समस्या लिएर उनीहरु दुग्ध विकास संस्थानको कार्यालय लैनचौर पुगे । त्यसपछि बल्ल जेठको पहिलो हप्ताको पैसा भर्खरै पाएका छन् । तर बाँकी तीन महिनाको भुक्तानी अझै बाँकी छ ।
समयमा पैसा नआउँदा घर खर्च चलाउन र गाईवस्तुलाई दानापिठो किन्न पनि समस्या भएको किसानहरुको गुनासो छ । संस्थानले अनावश्यक कर्मचारी राखेर खर्च धान्न नसकेपछि किसानलाई अनेक बाहाना बनाएर दुधको भुक्तानी रोकेको भन्दै उनीहरु आक्रोशित छन् । मण्डनदेउपुरमा दुध उत्पादन गर्ने किसानको संख्या १० हजारभन्दा बढी छ । उनीहरुले दैनिकरुपमा करिब २५ हजार लिटरभन्दा बढी दुध राजधानीका बजारमा पठाउँछन् । केही किसानहरुले निजी डेरीहरुलाई पनि बेच्छन् भने धेरैजसोले वर्षौंदेखि सरकारी माताहतको दुग्ध विकास संस्थानलाई दुध बेच्दै आएका छन् । निजी डेरीहरुले समयमै पैसा दिँदा सरकारी निकायको संस्थानले किसानलाई समयमा भुक्तानी दिएको छैन ।
केही दिनअघि मात्र यो समस्या लिएर दुग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालय पुगेका किसानहरुलाई संस्थानले विभिन्न बाहाना बनाएको छ । कोरोना अवधिदेखि आर्थिक मन्दी शुरु भएको र पछिल्ला दिनमा दुधको खपत घटेका कारण समयमा भुक्तानी दिन नसकेको संस्थानले भनेको छ । आगामी दिनमा संस्थान किसानलाई समयमै दुधको भुक्तानी दिने प्रयासमा रहेको र यो समस्या नदोहोरिने आश्वासन पाएको आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र नेपाल बताउनुहुन्छ ।
राजधानीको बजारमा दुग्ध विकास संस्थानले हरेक दिन नगदमा दुध बेच्दै आएको छ । उपभोक्ताले कुनै दिन एक रुपैयाँ छुट पाउँदैनन् । तर किसानहरुको दुध खरिद गरिरहेको सरकारी निकायले महिनौंसम्म उनीहरुलाई भुक्तानी नदिएर यो हदसम्मको ढिला गरिरहेको छ । अब पनि नियमितरुपमा भुक्तानी नपाए सबै किसानहरु जुटेर केन्द्रीय कार्यालय घेराउ गर्ने उनीहरुको चेतावनी छ । सोझा किसानलाई झुक्याएर सरकारले अब अरिंगालको गोलालाई जिस्क्याउने अर्को प्रयास नगरोस् । अन्यथा यसबाट आउन सक्ने परिणामको मूल्य दुधको मूल्यभन्दा निकै ठूलो हुनेछ । जुन चुकाउन सरकारलाई पक्कै पनि कठिन हुनेछ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *