किसानका समस्या समाधानमा नगरपालिका प्रतिबद्ध छ : रामशरण भण्डारी (प्रमुख, पनौती नगरपालिका)

प्रदीप केसी बञ्जारा,
ज्ञानमणि नेपाल कालोटोपी

पनौती । पनौती आफैंमा एउटा रसिलो ठाउँ हो । यहाँका अधिकांश खेतबारीहरु हरिया तरकारी बालीले ढाकिएका छन् । काभ्रेका १३ पालिका मध्ये अधिकांश जमिन कृषियोग्य रहेको पालिकामा पनौती पनि पर्छ । यहाँका धेरैजसो नागरिकको पेशा कृषि नै हो । पशुपालन, पंक्षीपालन, तरकारी खेती, परम्परागत खेतीमा यहाँका किसानहरु लागेका छन् ।

नेपालको जनसंख्यामध्ये ५२ हजार जनसंख्या रहेको पनौतीमा व्यापार गर्नेहरु पनि केही मात्रामा छन् तर यहाँका फाँटहरु वर्षभरि नै विभिन्न बालीहरुले हरियाली देखिन्छन् । सामान्य जिविकोपार्जनका साथै व्यवसायिकरुपमा तरकारी खेती गरिरहेका किसानहरु धेरैजसोको एउटै गुनासो छ, ‘हामीलाई राज्यले सहयोग नै गरेन ।’ के साँच्चै नै स्थानीयपालिकाले यहाँका किसानका लागि सहयोग नगरेको हो त ? यो प्रश्न लिएर हामी नगरपालिका प्रमुख रामशरण भण्डारीसमक्ष पुग्यौं ।

उनका अनुसार सबै किसानहरुसमक्ष राज्यको सहयोग नपुगेको हुन सक्छ तर पुग्दै नपुगेको भने होइन ।
यहाँका धेरैजसो जग्गाधनीले आफूले खेती गरेका नभइ जमिन भाडामा दिएका छन् । जसले गर्दा स्थानीय तहले दिने सेवासुविधा र तालिमहरु जग्गाधनीले लिन्छन् । काम गर्नेहरुले पाउँदैनन् । एउटै किसानले धेरै वटा कार्यक्रमहरुमा सहभागिता जनाउँछ तर तल्लो तहमा बसेर खेतमा काम गर्नेको हातमा सहयोग कार्यक्रम नै पुग्दैन । यो निकै ठूलो समस्या भएको प्रमुख भण्डारीको भनाइ छ ।

पनौतीका किसानको अर्को समस्या भनेको विशिष्टिकृत रुपमा को किसान हो वा को होइन भन्ने छुट्याउन सकिएको छैन । एउटै किसानले व्यापार पनि गरेका छन्, त्यही मान्छे शिक्षक पनि छ । उसले उद्योग धन्दा पनि गरेको छ, केही जग्गामा खेती पनि गरेको छ । तर किसान भनेर कृषिमै आश्रित कति छन् भन्ने छुट्याउन सकिएको छैन । नगरपालिकाले अहिले किसानलाई सूचीकृत गर्ने काम गरिरहेको र यसमा करिब ५ हजार २ सय जना आबद्ध भएको प्रमुख भण्डारीले बताए । यस्तै किसानलाई आर्थिक उत्थान गर्न धेरै कार्यक्रमहरु ल्याउन जरुरी रहेको छ । कृषि व्यवसाय नै गरे पनि कुखुरापालनलाई यसमा जोड्न सकिएको छैन । तर यसमै आबद्ध किसान धेरै छन् ।

सरकारले एउटा नीति बनाउनु पर्नेछ कि जसबाट वास्तविक किसानले राज्यबाट पाउनु पर्ने सुविधा अरुले लिन नपाओस् । उत्पादनसँग किसानलाई जोड्न सकियोस् तर स्पष्ट नीति नहुँदा किसानलाई समस्या भएको र पालिकाले पनि चाहेर पनि काम गर्न नसकेको प्रमुख भण्डारीले बताए । यस्तै पछिल्ला दिनहरुमा किसानले हाइब्रिड बीउहरु लगाउँदै आइरहेका छन् । तर ती बीउ कस्ता छन् , त्यो बीउबाट उत्पादन कस्तो हुन्छ भन्ने किसानलाई थाहा छैन । प्रमाणित गरेर कसले दिने त्यो पनि नहुँदा किसान समस्यामा छन् । बालीबीमामा पनि किसानको आकर्षण छ तर बीमा कम्पनीले किसानलाई उपयुक्त तरिकाले क्षतिको भुक्तानी दिइरहेको छैन । यो समस्याले सोचेजस्तो किसानले लाभ लिन सकेका छैनन् । यस्तै जिल्लाले उत्पादित तरकारी वा अन्य खाद्यान्न बालीको लागि समर्थन मूल्य तोक्न सके बजारमा पठाउने कृषि उत्पादनको मूल्य एकरुपता हुन्छ तर यो पनि हुन सकेको छैन । अहिले गाउँठाउँमा खेतीयोग्य जमिन प्लटिङ गरेर मासिने समस्या छ । जमिनमा व्यक्तिगत स्वामित्व हुने भएकाले पालिकाले जमिन प्लटिङ रोक्न नसक्दा धेरै समस्या निम्तिएका छन् । यसलाई राज्यले नै नीति बनाउन सके मात्र रोक्न सकिने पनि प्रमुख भण्डारीले जानकारी दिए ।

पछिल्लो पुस्ता अलि आलस्यतातिर ढल्किएको र सकेसम्म अरुले काम गरोस् भन्ने सोचका छन् । बाउबाजेले जोडेका जग्गाजमिन बेचेर समृद्ध बन्ने सपना देख्छन् । यो राम्रो होइन, यस्तो सोचमा परिवर्तन हुनु जरुरी रहेकोमा प्रमुख भण्डारीले जोड दिए । पनौतीका किसानले नगरपालिकाले पाउने सुविधाहरु पाइरहेका छन् तर केही किसानहरुले सबै सहयोग गरे हुन्थ्यो भन्ने मान्यता राख्छन् । यो सम्भव छैन, तीनै मान्छेहरु स्थानीय तहले सहयोग गरेन भन्दै हिँड्छन् तर वास्तवमा सहयोग नै नगरेको त होइन । समूहबाट किसान आएमा नगरपालिकाले सहज तरिकाले सहयोग उपलब्ध गराउने र गराइरहेको पनि उनले बताए ।

कतिपयहरु आफूखुशी काम गर्ने र नगरपालिकासँग समन्वय नगर्ने पनि छन् । नगरपालिका नागरिककै लागि हो । कसैलाई भेदभाव गर्ने नीति नगरपालिकाले लिएको छैन । केही समस्या परेमा सम्पर्क गर्न सकिने भण्डारीको भनाइ थियो । यहाँका किसानहरुको मिहेनत निकै नै लोभलाग्दो छ । बिहान सबेरैदेखि बेलुकासम्म नै खेतबारीमा हुन्छन् किसानहरु । तर बिचौलियाका कारण केही किसानहरु समस्यामा छन् । यसमा पनि सोच्नु पर्नेछ । सुगम पालिका भएकाले अन्यत्रजस्तो बजारको पहुँचमा किसान नपुग्ने भन्ने समस्या यहाँ नभए पनि देशका बहुसंख्यक नागरिकले भोगेको समस्या यहाँका किसानले पनि भोगेका छन् । पालिकाले उनीहरुका समस्या समाधानमा सक्दो सहयोग गरिरहेको र अझै गर्दै जाने पालिका प्रमुख भण्डारी बताउँछन् ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *