किशोरीहरुमा रक्तअल्पता नियन्त्रण गरौं

सन्दीप के.सी.

नेपालको संविधानले पनि सुनिश्चित गरेको स्वस्थ रही बाँच्न पाउनुपर्ने प्रत्येक नागरिकको जस्तै किशोरीहरुको पनि अधिकार हो । रक्तअल्पता भनेको शरीरको रगतमा हेमोग्लोबिनकोमात्रा कमी भएको अवस्था हो । यसको प्रमुख कारणहरु मध्ये आइरनको कमी एक हो । प्रजनन् उमेरका महिलाहरु र किशोरीहरुमा रक्तअल्पताको समस्या बिकराल रुपमा देखिएको छ । अहिलेका किशोरी भनेका भोलिका आमा हुन् । शरीरको करिब ६५ देखि ७५ प्रतिशत आइरन हेमोग्लोबिनको रुपमा रगतमा पाइन्छ । आइरनको आपूर्ति कम भएमा हेमोग्लोबिन निर्माण प्रभावित हुन्छ । विभिन्न समुदाय र क्षेत्रमा किशोरीहरुमा रक्तअल्पताको प्रकोप फरकफरक रहेको छ । तराई क्षेत्रमा रक्तअल्पता ४२ प्रतिशत छ भने पहाडी र हिमाली क्षेत्रमा करिब २७ प्रतिशत रहेको छ । किशोरीहरु आइरनको कमीबाट रक्तअल्पताको जोखिममा पर्छन् । यसको प्रमुख कारणहरुमा कलिलो उमेरमा विवाह, किशोरावस्थामा गर्भधारण, पटक पटक गर्भवती हुने जस्ता कारण रहेका छन् ।
जुकाको सक्रमण र किशोरीमा रजस्वला चक्र सुरु हुने कारणले गर्दा समेत यो उमेर समूहमा आइरनको कमी र रक्त अल्पता हुन्छ । यदि किशोरी कुपोषित भइन् भने भोलि जन्मने बच्चा पनि कम तौलको र कुपोषित जन्मिन सक्छ, जसले परिवार, समाज र सिंगो राष्ट्रको विकासको लागि नराम्रो असर गर्नसक्छ । विभिन्न अनुसन्धानका अनुसार रुक्तअल्पता भएका किशोरीहरु पछि गर्भवती भएमा समयभन्दा अगाडि शिशु जन्माउने र कमतौलको शिशु जन्माउने जस्ता जोखिम व्यहोर्नुपर्ने हुन्छ । शरीरमा आइरनको कमी हुँदा गर्दा श्वास तथा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चाँडै थाक्ने, छालाका रङ हल्का पहेँलोजस्तो देखिने, टाउको दुख्ने, आँखामुनि कालो घेरा हुने, महिनावारीमा पेट बढी दुख्ने लगायत हुन सक्छ । किशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्ण रुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्य सम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन् ।
छिमेकी देशहरु भारत, लाओस्, भियतनाम, फिलिपिन्स लगायतका देशले किशोरीलाई आइरन चक्की प्रदान गरी रक्तअल्पता घटाउनमा सफल भएका उदाहरणहरु छन् । नेपालमा पनि रक्तअल्पताको न्यूनीकरणको लागि धेरै पहलहरु भएका छन् जसमध्ये किशोरीहरुलाई हप्ताको एक दिन आइरन चक्की खुवाउने कार्यक्रम पनि प्रमुख रहेको छ । नेपालमा पनि १० देखि १९ वर्षका किशोरीलाई वर्षमा २६ हप्ता (१३÷१३ हप्ता) आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ ।कुनैपनि किशोरीहरुलाई नछुटाई आक्षरन खुवाउनु पर्दछ ।
नेपालमा रक्तअल्पता न्यूनीकरणको लागि राष्ट्रिय रणनीति २०६४, बहुक्षेत्रीय पोषण योजना, राष्ट्रिय पोषण नीति आदि रहेका छन् । जसले किशोरीको पोषणलाई सम्बोधन गरेको छ । किशोरीलाई आइरन चक्की वितरण गर्दा स्वास्थ्य र शिक्षा क्षेत्रको समन्वय र नेतृत्व महत्वपूर्ण देखिन्छ । यस कार्यक्रममा सम्पूर्ण किशोरीहरु समेटिएमा मात्र अन्तरपुस्ता चक्रमा हुनसक्ने रक्तअल्पतालाई कम गर्न सकिन्छ ।
प्रत्येक हप्ता एक चक्कीको दरले साउन, भदौ, असोज महिनामा आइरन चक्की खुवाउने, कात्तिक, मंसिर, पुसमा नखुवाउने माघ, फाल्गुन र चैत महिनामा आइरन चक्की खुवाउने तथा वैशाख, जेठ, असारमा नखुवाउने गरी विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा शिक्षकको माध्यमबाट र विद्यालय नजाने किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउने गरिन्छ । आइरन फोलिक एसिड खाएपछि कुनै किशोरीलाई सामान्य असरहरु जस्तैः वाकवाकी लाग्ने, छाती पोल्ने, कब्जियत हुने, कालो दिसा हुने आदि समस्या देखा पर्नसक्छ तर ती असरहरु आफैं ठिक भएर जाने गर्दछ ।
साधारणतया आइरन प्राणीजन्य र वनस्पतिजन्य स्रोतहरुबाट पाइन्छ । पोषणको दृष्टिकोणले प्राणीजन्य स्रोतबाट पाइने आइरनलाई राम्रो मानिन्छ, किनकी यसको शोषण शरीरमा बढी मात्रामा हुन्छ । बनस्पती जन्य श्रोतको आइरनको शोषण २ देखि २० प्रतिशत हुन्छ भने प्राणी जन्य श्रोतको आइरनको शोषण १५ देखि ३५ प्रतिशत हुन्छ । रक्तअल्पताको समस्याबाट बच्नको लागि दिनहुँ खाने खानामा थोरै मात्रामा भए पनि स्थानीय रुपमा उपलब्ध हुने साग, तरकारी, गेडागुडी, फलफूल, माछा, मासु आदि नियमित रुपमा खाने गर्नुपर्छ । तर दूध, कफी आदिले शरीरमा आइरनको शोषण हुनमा अवरोध पुराउँछन् तसर्थ आइरन युक्त खानेकुरा खाँदा ती खाद्यपदार्थको सेवन गर्नुहुँदैन र गर्नु नै परेमा एक घण्टा पछाडि वा एक घण्टा अगाडि उपयुक्त हुन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *