
मेथिन्कोट । नमोबुद्ध नगरपालिका वडा नम्वर ४ काफ्लेथोक निवासी १२ बर्षीय बालक प्रशान्त मैनालीको किम्बु खाँदा भएको अत्याधिक वान्ताका कारण ज्यान गएको छ । मेथिन्कोट अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको प्रहरीले जानकारी दिएको छ ।
गणेशप्रसाद मैनालीका छोरा प्रशान्तले मंगलबार जनक माध्यमिक विद्यालयमा अध्ययन गरेर घर फर्कने क्रममा बाटोमा रहेको किम्बु खाएका थिए । किम्बु खाँदै घर गएका प्रशान्तलाई राति अत्याधिक वान्ता भयो । तत्कालै घर नजिकै रहेको मेथिनकोट अस्पतालमा उपचारका लागि गणेशप्रसाद मैनालीको परिवारले ल्यायो ।
अस्पतालले निरन्तर ३ घण्टा उपचार गरेपछि बालक प्रशान्तले वान्ता गर्न कम गरेका थिए । राति १२ बजे उनको अवस्थामा सुधार भए पछि वार्डमा भर्ना गरिएको थियो । विहान ४ बजेबाट उनले पुनः वान्ता गरेपछि अस्पतालले थप उपचार गरेको थियो । चिकित्सकका अनुसार वान्ताका कारण उनको फोक्सोमा देखिएको समस्या समाधान गर्न नपाउँदै ज्यान गएको हो ।
चिकित्सकहरुले निरन्तरको बायुमा आएको प्रर्दुषित वातावरण र किम्बु लगायतका फलहरु नपखाली सिधै खाँदा त्यसमा हुने विषादीसहितका किराका कारण फुड पोइजन हुने र हरेक ब्यक्तिलाई वान्ता हुँदा ज्यानसमेत जाने भएकाले त्यस्ता बस्तुहरु सिधै नखान अनुरोध गरेका छन् ।