धुलिखेल । धुलिखेलस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि टिम नेपो नामक संस्थाले पाँच सय थान पुस्तक हस्तान्तरण गरिएको छ । कैदीबन्दीलाई कानुनी तथा शैक्षिक जनचेतना जगाउन र पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको संस्थाका कार्यबाहक अध्यक्ष प्रदीप गिरीले बताउनुभयो ।
पुस्तक वितरण कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जङ्गमले हाम्रो समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको कारागारलाई सकारात्मक कोणबाट पनि लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष गिरीका अनुसार केही समययता पुस्तक परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएको छ । विगत चार वर्षदेखि भने विभिन्न जिल्लाका कारागारमा रहेकालाई अध्ययनमा केन्द्रित गराउनका लागि पुस्तक वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
टिम नेपोले कारागारका कैदीबन्दीलाई लक्षित गरी पुस्तक प्रदान गरी सहयोग गरेको कारागार प्रमुख परशुराम थापाले बताउनुभयो । कारागारका लागि प्राप्त पुस्तक बहुउपयोगी हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।