बनेपा । काभ्रे मुद्रण उद्योग संघको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन शनिबार सम्पन्न भयो ।
अधिवेशनले दिपक राउत (खड्ग बहादुर) को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा प्रेमबहादुर थापा (राजन), सचिव जयराम बञ्जारा, कोषाध्यक्ष सर्वश्री अधिकारी, सदस्यहरुमा बुद्धलक्ष्मी मानन्धर, नवराज अधिकारी र सन्तोष न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण संघमा भएगरेका अप्ठ्याराहरुलाई पन्छाएर अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्दै संघ संगठन व्यवस्थित हुँदै गएमा समस्याहरु समाधान हुँदै जानेछन् । समस्या नै हामीभित्र छ र हार्दिकतामा नै एकता कायम गर्न सके हाम्रा मागहरु सरकारसँग राख्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, पत्रकार महासंघका सल्लाहकार नवराज बजगाईं, काभ्रे मुद्रण संघका संस्थापक अध्यक्ष कौशलराज खड्का लगायतले मन्तव्य राख्नुभएको थियो । छापाखाना क्षेत्रमा लामो समयदेखि कार्य गर्नुहुने २ जना जेष्ठ सदस्य बाबुकाजी गिरी र गोविन्द खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व मुद्रण संघका अध्यक्ष जगनाथ खड्काको रहेको थियो भने कोषाध्यक्ष जयराम बञ्जाराले वार्षिक आयव्यय, वार्षिक प्रगति प्रतिवेदन सचिव राजन थापाले प्रस्तुत गर्नुभएको थियो ।