प्रमुख जिल्ला अधिकारीको सरुवा
काभ्रे । गृह मन्त्रालयले ठुलो संख्यामा सिडिओको सरुवा गरेको छ ।
काभ्रे जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्य विक्रम पौडेल गुल्मीबाट सरुवा भई आउनुहुने भएको छ भने काभ्रेबाट हुमकला पाण्डे सुनसरी जिल्लामा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार ललितपुर जिल्लामा सरुवा हुनुभएको छ भने काभ्रे जिल्लामा ताप्लेजुङबाट महेश कुमार पोखरेल सरुवा भई आउनुहुने भएको छ ।
मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।
मन्त्रालयले दुई दिन अघि मात्रै सार्वजनिक गरेको कार्यविधिमा प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गर्ने उल्लेख छ । कार्यविधि ल्याएसँगै सोही अनुसार नै कर्मचारी खटनपटन हुने भन्दै मन्त्रालयको टिम केही दिनयता सूची तयारीमा लागेको थियो ।