बनेपा । काभ्रे बहुमुखी क्याम्पसको ४३औं वार्षिकोत्सव हिजो (शनिबार) सम्पन्न भएको छ ।
बागमती प्रदेश सभा सदस्य एवं पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले शिक्षा क्षेत्र समय सापेक्षित हुनुपर्ने बताउँदै क्याम्पस सञ्चालन गर्ने टिम, अध्यापन गराउने टिम र हामी जनप्रतिनिधिहरुको पनि आ–आफ्नो ठाउँबाट लागिपर्नु पर्ने बताउनुभयो ।
स्थानीय सरकारले शिक्षामा गुणस्तर दिनका लागि शिक्षा ऐन लागू गरेर आफ्नो नगरमा शिक्षा क्षेत्र उदाहरणीय बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो । क्याम्पसले बिबिए, बिआइटी, बिएससी सञ्चालन गर्न राखेका प्रस्तावहरुमा आफू प्रदेशस्तरबाट लागिपरी सोही विषयहरुमा अध्यापन गराउन पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्ष सचितानन्द केसी, शिक्षासेवी भोला केसी, राजु सरकार, क्याम्पस प्रमुख केजी बयदार, स्ववियु अध्यक्ष युगेश्वर कायस्थ लगायतले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा भुजंग अंकको लोकार्पण गरिएको थियो । कार्यक्रममा चन्द्रराज हरिदेवी कायस्थ छात्रवृत्ति, रत्नकुमारी कायस्थ छात्रवृत्ति, रिनाकिरण कायस्थ छात्रवृत्ति, शिवराम भैल छात्रवृत्ति, आशाकाजी सेवक छात्रवृत्ति, केदारनाथ विद्वत्तवृत्ति, खिलकुमारी गणेश बहादुर दुवाल छात्रवृत्ति प्रदान गरिएको थियो भने त्रिविविबाट परीक्षाफल प्रकाशित नभएको हुँदा दिलगंगा छात्रवृत्ति र लिला–मध्यमार्ग छात्रवृत्ति पछि प्रदान गरिने क्याम्पस प्रमुख बयदारले जानकारी दिनुभएको थियो । छात्रवृत्ति पाउनेमा बिबिए तहमा रिया चौलागाईं, बिआइसिटीतर्फ मनिषा गौतम, एमबीएसमा जस्मिन श्रेष्ठ र केदारनाथ विद्वत्तवृत्तिबाट एमबीएसतर्फ सोनी लामा र सुदीप मानन्धर, एमए सोसल सञ्जीप कार्की, बीबीएसतर्फ रिया चौलागाईंलाई शोधपत्र कार्ययोजना छात्रवृत्ति प्रदान गरिएको थियो । सो कार्यक्रमको सभापतित्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्राध्यापक कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो ।
क्याम्पसमा ब्याचलरतर्फ बिसीए, बिआइसीटीई, बिए, बिबिएस, बिएएसडब्लु, बिएड साइन्स, एमबिएस र एमए, चार वर्षे प्रोग्राममा बिबिए, बिआइटीई, बिएस्सी र सीएसआइटीका कक्षाहरु सञ्चालनमा रहेका छन् ।