काभ्रेमा हरेक वर्ष घट्दै सुन्तला उत्पादन, विकल्प खोज्दै किसान

काभ्रे । काभ्रेमा हरेक वर्ष सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको पाइएको छ । कृषि ज्ञानकेन्द्र धुलिखेलका अनुसार पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको हो । यसवर्ष पनि उत्पादनमा गिरावट आएको केन्द्रले जनाएको छ । विशेषगरि रोग–कीराका कारण केही वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशत हाराहारीमा गिरावट हुँदै आएको तथ्याङ्कले देखाएको हो । केही वर्षअघिसम्म काभ्रेमा हरेक वर्ष सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको थियो ।
जिल्लाका करिब एक हजार हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिकरुपमा खेती हुँदै आएको छ । यहाँ गतवर्ष छ हजार पाँच सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको तथ्यांक छ । विसं २०७२ को भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएकोे तथ्याङ्कले देखाएको छ ।
विशेषगरी सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका जिल्लाका धुलिखेल र पनौती नगरका केही क्षेत्रमा यसवर्ष पनि सुन्तला उत्पादनमा गिरावट आएको छ । उत्पादनका क्षेत्र बढाइए पनि उत्पादनमा भने कमी आइरहेकाले कृषि ज्ञानकेन्द्रले विशेष अनुसन्धानका लागि सरोकारवाला निकायमा परीक्षणका लागि पठाएको छ ।
विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित छन् । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनौती नगरपालिका–१० का किसान प्रेमबहादुर तामाङले उत्पादनमा कमी हुँदै गएपछि अब सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताए । उनी अब सुन्तलाको बगैँचा काटेर तरकारी लगाउने सोचमा छन् । विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उनको अनुभव छ ।
उता धुलिखेल–१० शंखुका किसान शिवप्रसाद आचार्य पनि सुन्तलाको उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने बाध्यता भएको बताउँछन् । उनका अनुसार सुन्तलाका बोट कुहिने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुने जस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो ।
रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरेको छ । गत वर्षसम्म जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा कीराको प्रकोप देखिएको थियो । यसका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर झरेका थिए ।
जिल्लामा समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको किराको नियन्त्रण गर्न एक÷दुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्ने अभियानकै रुपमा लाग्नुपर्ने आवश्यकता देखिएको छ । सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमा पनि यस्तै रोगको ंसंक्रमण फैलिएको हो ।
एकातिर रोगले उत्पादन घटेको छ भने अर्कातिर भएकै उत्पादन पनि उचित मूल्यमा बेच्न सकिएको छैन । पहिले गाउँमै आएर व्यापारीले सुन्तला खरिद गरेर लैजाने गरेकोमा अहिले बजार लैजाँदा पनि भने जस्तो भाउ नपाएको किसान बताउँछन् । हिजोआज विशेषगरि विपी राजमार्ग र अरनिको राजमार्गका छेउमा किसानहरु आफैं बसेर सडकमा ओहोरदोहोर गरिरहेका सवारी चालकलाई सुन्तला बेच्ने गरेका छन् । यसरी बेच्दा बरु केही फाइदा हुने गरेको उनीहरु बताउँछन् ।
सुन्तलाबाटै करोडौँ कमाउँछन् सुन्थानका किसान
पनौती नगरपालिकास्थित सुन्थान गाउँ यतिबेला सुन्तलाले ढकमक्क छ । गाउँभर सुन्तलाबाट १ करोडभन्दा बढी पैसा आउँछ । अर्थात किसानहरुले सुन्तला बेचेर एक करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन् । सुन्थानका बासिन्दाहरुलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । धेरै क्षेत्रफलमा सुन्तला लगाउनेहरुका घरमै व्यापारीहरु सुन्तलाको दाम दिन पुग्ने गरेपनि थोरै सुन्तला लगाउनेहरु भने बनेपा झरेरै सुन्तला बेच्ने गर्दछन् । थोरै मात्रामा सुन्तला किन्नै भनेर गाउँसम्म पुग्नेहरु पनि प्रशस्त छन् तर सबै समयमै बिक्री नहुने भएकाले बनेपासम्म झरेर भएपनि सुन्तला बेच्ने गरेको स्थानीय किसानहरुको भनाइ छ ।
सुन्थानमा भूकम्पपछिको केही वर्ष सुन्तला उत्पादनमा ह्रास आएपनि पछिल्लो दुई वर्ष यता सुन्तला उत्पादन बढ्दै गएको कृषकहरु बताउँछन् । मकै, तोरी र तरकारी खेती हुने ठाउँमा सुन्तलाले अहिले प्रशस्त ठाउँ पाएका छन् । सुन्थानका डेढ सय घरधुरीमा थोरै भएपनि सबैमा सुन्तलाका बोट छन् ।
विगत ३० वर्षदेखि सुन्तला खेती गर्दै आएका सुन्थानका यज्ञबहादुर भण्डारी सुन्तला खेतीले त्यहाँका किसानको जीवन धानेको बताउँछन् । मकै, तोरी लगाउँदा साठीदेखि सत्तरी हजारसम्म वार्षिक कमाइ हुने सुन्थानमा सुन्तला लगाएपछि ५ लाखसम्म कमाइ हुने गरेको उनको भनाइ छ । २०५१ सालबाट सुन्तला खेती गर्न लागेका भण्डारीले यसपटक पनि दुई लाख ६२ हजारको सुन्तला बिक्री गरिसकेका छन् । अझै केही सुन्तला बिक्री हुन बाँकी रहेको उनी बताउँछन् ।
२०७१ सालमा ५ लाखको सुन्तला बेचेको सम्झिँदै उनले त्यसताका हेरेर अहिले आधा पनि कमाइ नभएपनि आफू सन्तुष्ट रहेको बताए । नगरपालिकाले सुन्तला खेती गर्ने किसानहरुलाई अनुदान नदिएको गुनासो गर्दै कृषक भण्डारीले सिंचाईका लागि पानी, मल र बिरुवा पाएदेखि सुन्तला उत्पादन अझै बढाउन सकिने बताए ।
पनौती नगरपालिका वडा नम्बर ९ कै अर्का किसान शहदेव महतले पनि ३ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । अहिले तीन रोपनी जग्गामा डेढ सय सुन्तलाका बोट रहेको र यस वर्ष २ लाख रुपैयाँसम्म आम्दानी हुने आँकलन आफूले गरेको उनले बताए । गत वर्षहरुमा किरा लागेका कारण उत्पादनमा ह्रास आएपनि यस वर्ष नगरपालिकाले किरा मार्ने औषधि दिएसँगै सुन्तलाको उत्पादन बढेको उनी बताउँछन् । मकै, तोरी लगायतका बालीहरु लगाउँदा भन्दा सुन्तला खेतीबाट धेरै आम्दानी गरेको बताए ।
के भन्छन् मेयर भण्डारी ?
यता, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले नगरपालिकाले कृषिलाई विविधिकरण गर्न खोजिरहेको बताए । उनले नगरपालिका कृषि क्षेत्र र किसानका लागि विशिष्टिकृत तरिकाबाट योजना बनाएर अघि बढीरहेको दाबी गरे । उनले नगरमा रहेका ५६ हजार नागरिकमध्ये अधिकांश कृषि पेशामै आश्रित रहेको पनि जानकारी दिए । नगरपालिकाका उत्पादनलाई बजारीकरण गर्न आफूहरुले पहल गरिरहेको उनको भनाइ छ ।
केही समय पहिले जनप्रतिनिधिको कम चासो र किसानको पनि हेलचेक्राँईले गर्दा सुन्तला खेती मासिन लागेको स्मरण गर्दै उनले आफू नगरपालिकाको प्रमुखका रुपमा आएपछि किसानहरुका समस्या समाधान गर्न र उनीहरुका उत्पादनलाई बजारीकरण गर्न चासोका साथ काम गरेको बताए । आगामी दिनमा यसको सरसफाई र गोडमेलको लागि किसानसँग अन्तरक्रिया गरेर पहिलाको जस्तै हराभरा बनाइदिने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।
प्रमुख भण्डारीले नगरपालिकाले समयमै किसानलाई रोगहरुको बारेमा जानकारी दिएर रोकथामका उपाय सिकाउने हो भने उत्पादनमा असर नहुने आफूहरुको ठम्याइ रहेको बताए । उनले नगरपालिकामा उत्पादित सुन्तलालाई ब्राण्डिङ गर्न नसकेको र आगामी दिनमा सिंचाईको समस्यालाई समाधान गर्ने प्रतिवद्धता गरे ।
सुन्तलाको पकेट क्षेत्र
काभ्रेको नमोबुद्ध, पनौती, शंखु, बल्थली, सारदाबतासे, कुशादेवी, ¥याले, पस्थली, पात्लेखेत, धुलिखेल, नाला र पनौतीको खरिबोटलगायतका स्थान सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन् ।
जिल्लामा रहेका हरेक मौसममा फल्ने फलफूलहरुको समग्र अवस्था हेर्दा किसानहरु निराश देखिएका छन् । पनौती, धुलिखेल, नमोबुद्ध लगायतमा सुन्तला उत्पादन घटेको देखिएजस्तै मण्डनदेउपुर र पाँचखालमा वर्षायाममा फल्ने रुखकटहर, आँप, लिची लगायतको उत्पादन पछिल्ला केही वर्ष यता ह्वात्तै घटेको छ । यी क्षेत्रमा रहेका रुखकटहरका बोटहरु ८० प्रतिशतको हाराहारीमा सुकेका छन् । हरेक वर्ष यस्ता उत्पादन घट्ने क्रममा रहेको देखिन्छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले अब यतातिर ध्यान दिएर रोग पहिचान गरि उत्पादन बृद्धि गर्न ध्यान दिनै पर्छ । जसले गर्दा किसानलाई राहात हुने पक्का ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *