काभ्रेमा व्यवसायिक खेती गर्ने किसान बढ्दो

काभ्रे । राजधानी काठमाडौँलगायत मुख्य शहरमा चाहिने तरकारीमध्ये ३० प्रतिशत काभ्रेपलाञ्चोकको उत्पादनले धानेको विभिन्न प्रतिवेदनले देखाएका छन् । विशेष गरी आलु र गोलभेँडाका लागि काभ्रे प्रख्यात छ । अन्य तरकारीमा पनि अग्रणी देखिएको यस जिल्लामा पछिल्लो वर्ष व्यवसायिक रुपमा कृषि उत्पादनमा लाग्नेहरु बढ्दै गएका छन् । यहाँका सिंचाई उपलब्ध भएका जमिन र हरेक समथर फाँटमा टनेलमा सुरक्षित साथ तरकारी उत्पादन गरेको देख्न सकिन्छ ।
सदरमुकाम धुलिखेलबाट करिब सय किलोमिटर टाढा कोशीपारिस्थित चौँरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिंह लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त हुनुहुन्छ । विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आउनुभएका उहाँले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यू सिमी, काउली, चम्सुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आउनुभएको छ ।
पाँच वर्षअघि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिनुभएका लामा करिब दुई वर्षदेखि निरन्तर खेतीमा लाग्दै आउनुभएको छ । एकातिर बजार सानो अर्कातिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडाका कर्मचारी तथा विद्यालयका शिक्षक आफैँले पनि ताजा तरकारीका लागि बारीमा नै आएर किनेर लैजाने गर्नुहुन्छ ।
तरकारी खेतीबाट शिक्षण र घर खर्चका लागि कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । तरकारी खेतीका लागि आवश्यक पानी नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उहाँले दुखेसो गर्नुभयो । हाल उहाँ हातधुने र कपडा धोएर खेर जाने पानीलाई संकलन गरेर तरकारी खेती गर्नुहुन्छ । उहाँहरुजस्ता परिश्रमी र पौरखी किसानलाई सरकारले आवश्यक सहयोग गर्नैपर्ने जरुरी देखिन्छ ।
नेपालमा बेरोजगार भएपछि वैदेशिक रोजगारीमा जानु हिजोआज सामान्य जस्तै भएको छ । एकातिर यो बाध्यता छ भने अर्कातिर ‘फेसन’ कै रुपमा विदेशिएका पनि पाइन्छन् । यसैबीचमा विदेशमा भनेजस्तो काम नपाएर हण्डर खाएपछि स्वदेश फर्किएर कृषिमा रमाउनेहरु पनि भेटिन थालेका छन् ।
पनौती नगरपालिका–८ खरिबोटका कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी हिजोआज आफ्नै खेतबारीमा बित्ने गरेको छ । केही वर्षअघि वैदेशिक रोजगारीमा गएर सोचेजस्तो कमाई नभएपछि तीन वर्षअघि स्वदेश फर्किएर उहाँहरु पनौतीमै सात रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेतीमा लाग्नुभयो । अहिले उहाँहरु आफ्नै व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।
इन्दुले नौ वर्ष र कृष्णले तीन वर्ष विदेशमा बसेर दम्पतीले कमाएको पाँच लाख र थप पाँच लाख सापटी लिएर सुरु गरेको तरकारी खेतीबाट उहाँहरुले अहिले वार्षिक १० देखि १२ लाखसम्म कमाई गर्नुहुन्छ । उहाँहरुले सात रोपनी जग्गाको वार्षिक एक लाख ३० हजार भाडा तिर्नुपर्ने सम्झौता गर्नुभएको छ ।
वरिपरि हरियो वातावरणसँगै फाँटै सेताम्य हुने गरी प्लास्टिकका टनेलले भरिएको श्रेष्ठ दम्पतीको कृषि फारम अहिले गोलभेँडालगायत ४५ वटा टनेलामा तरकारीले भरिएको छ । तरकारी खेतीका लागि सिँचाइको पनि व्यवस्था आफैँले मिलाएको उहाँहरुले बताउनुभयो । यतिबेला गोलभेँडा र विविध तरकारीले श्रेष्ठ दम्पतीको कृषि व्यवसाय ढाकिएको छ । काम नपाएर विदेशको मात्रै रटान दिनेहरुका लागि श्रेष्ठ दम्पती उदाहरण बन्नुभएको छ । अब शरीरले सकुन्जेल यसरी नै तरकारी खेती गरिरहने कृष्ण र इन्दुले सोच बनाउनुभएको छ
मौसमअनुसारका सबैखाले तरकारी लगाउने गर्नुहुन्छ उहाँहरु । काउली, बन्दाकोभी, बोडी, साग, करेला, गोलभेँडा, काँक्रालगायत तरकारी लगाउँदै आउनुभएका उहाँहरुले व्यवसायिक कृषिका नाममा कतैबाट सहयोग लिनुभएको छैन । सरकारले सहयोग गरे थप ४५ वटा टनेल थपेर अरू पनि तरकारी खेती गर्ने कृष्णले बताउनुभयो ।
उता पाँचखाल क्षेत्रका किसान आफैँले उत्पादन गरेको आलु र गोलभेँडाबाट परिकार उत्पादनतर्फ उन्मुख देखिएका छन् । आलुबाट चिप्स तथा गोलभेँडाबाट सस बनाउने अभियानका लागेका उनीहरु ‘उद्योगी’ बन्ने तरखरमा छन् । एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि कृषक पाठशालामा अध्ययन गरी तरकारीलगायत खाद्यान्नमा विषादी न्यूनीकरण गरिरहेका पाँचखालका कृषकलाई लव ग्रिन नेपाल नामक संस्थाले उद्यमीतर्फ प्रोत्साहित गरिरहेको छ । उक्त संस्थाले स्थानीय चार वटा सहकारीका महिलालाई चिप्स र सस बनाउने तालिम प्रदान गरिसकेको लभ ग्रीनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताउनुभयो । किसानले सानो पूँजीले आफैँले उत्पादन गरेको तरकारीबाट घरमै थप परिकार निर्माण गरी आयआर्जन गर्न सकिने उद्देश्यले इन्छुक कृषकलाई तालिम प्रदान गर्दै जाने उक्त संस्थाको योजना छ । संस्थाले केही वर्षदेखि पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ ।
पाँचखाल नपा–७ का शिवराज श्रेष्ठले तरकारीलगायत अन्य बालीमा रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्दै आउनुभएको छ । उहाँले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अर्गानिक तरकारी उत्पादन गर्दै आउनुभएको हो । पाँचखाल नगरपालिका–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तरिका एउटै छ । यसरी कृषिमा लागेका किसानलाई सरकारले दिने सहयोग र अनुदान आवश्यक छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *