काभ्रे । बनेपा नगरपालिका– ७ चारदोबाटोमा पहिलोपटक ‘प्रगति वाङमय पुस्तक मेला’ सुरु भएको छ । न्यू प्रगति पुस्तक भण्डारको आयोजना र जनमत वाङमय प्रतिष्ठानको सहकार्यमा मेला सुरु भएको हो । शुक्रबार बिहान लेखक तथा साहित्यकार अमर न्यौपानेले मेलाको उद्घाटन गर्नुहुँदै लेखक तथा साहित्यकार न्यौपानेले अबको आन्दोलन बन्दुक र ढुंगामुढाको नभई अक्षरको हुने बताउनुभएको थियो । हिजोको आन्दोलन ढुंगामुढा र बमबारुद गोलीको हुने अवस्था थियो । अब त्यस्तो हुँदैन । अबको आन्दोलन अक्षरको आन्दोलन हुने न्यौपानेले बताउनुभएको थियो ।
विद्यार्थीले पाठ्यक्रमको विषयले भन्दा बढी पुस्तकालयमा रहेको पुस्तकबाट बढी ज्ञान लिन सकिने बताउनुभएको थियो । सम्बोधानकै क्रममा न्यौपानेले टोल–टोलमा पुस्तकालय हुनुपर्छ । जहाँ गएर विश्वको ज्ञान लिन सकोस् । त्यो व्यवस्था सरकारले गर्नुपर्ने खुलासा गर्नुभएको थियो । शिक्षकहरू टेपरेकर्डरजस्तो भएको बताउँदै शिक्षकहरू टेपरेकर्डरजस्तो मात्र हो । आफूले विद्यालयमा जुन विषय पढाउँछ त्यो विषयको मात्र ज्ञान राखेका हुन्छन् । त्यो परीक्षाका लागि मात्र काम लाग्छ । अबको युगमा शिक्षकहरू टेपरेकर्डर मात्र भएर हुँदैन । बाह्य ज्ञान पनि हुनु जरुरी छ । पुस्तक पढ्ने बानी बसालेमा त्यहीबाट विद्यार्थीलाई कसरी पढाउने भन्ने ज्ञान पनि लिन सकिन्छ र बाह्य ज्ञान पनि हुने भन्नुभएको थियो ।
उक्त मेलामा बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्नका लागि प्रगति वाङमय पुस्तक मेलाको आयोजना गरेको न्यु प्रगति पुस्तक भण्डारका प्रोप्राइटर भुवन मानन्धरले बताउनुभएको थियो । पछिल्लो समयमा बालबालिका मोबाइलमा मात्र झुम्मिन थाले । पढ्न छाड्न थाले । त्यो बानीलाई हटाई पढ्ने बानीको विकास गर्न हामीले पुस्तक मेलाको आयोजना गरेको मानन्धरले बताउनुभएको थियो । पुस्तक व्यवसायीहरू पुस्तक बेच्न मात्र होइन, साहित्यमा योगदान पनि गर्छन् र सामाजिक काम पनि गर्छन् भनेर समाजलाई बुझाउन पनि मेलाको आयोजना गरेको मानन्धरले बताउनुभएको थियो ।
शुक्रबारबाट सुरु भएको मेला फूलपातीको दिनसम्म चल्ने मानन्धरले जानकारी दिनुहुँदै मेलामा आउने दर्शकको माग भएमा अझ बढाउन सकिने उनले बताउनुभएको थियो । मेलामा पुस्तक किन्न चाहनेलाई हरेक पुस्तकको मूल्यमा २० प्रतिशत छुट दिने र मेलामा नपाएको पुस्तक अर्डर गरेमा ल्याइदिने उहाँको भनाइ थियो ।