काभ्रेमा डेंगु संक्रमितको संख्या ५७ पुग्यो

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा डेंगु संक्रमणको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले दिएको तथ्यांक अनुसार गत साउन १ देखि भदौ १४ गतेसम्म जिल्लामा ५७ जना डेंगु संक्रमित फेला परेका छन् ।
जसमा बनेपा र पनौती नगरपालिकामा सबैभन्दा धेरै १३÷१३ जना संक्रमित भेटिएका छन् । धुलिखेल नगरपालिकामा १२ जना संक्रमित देखिएका छन् । यसबाहेक जिल्लाका अन्य स्थानीय तहमा पनि थोरै संख्यामा भए पनि डेंगु संक्रमण फैलिएको छ भने चार वटा पालिकामा संक्रमित भेटिएका छैनन् । हालसम्म संक्रमितमध्ये २७ जना पुरुष र ३० जना महिला रहेका छन् ।
सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । डेंगुको उच्च जोखिम रहेका नेपालका १० जिल्ला मध्येमा काभ्रेपलाञ्चोक पनि एक हो । ०७९÷०८० मा ४ सय ८७ जनामा सङ्क्रमण भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा २ सय ५१ जनामा डेंगु सङ्क्रमण भएको थियो ।
जसमध्ये बनेपा नगरपालिकामा १३ जना भेटिएका छन् भने ४ वटा गाउँपालिकामा संक्रमण देखिएको छैन । १३ पालिका रहेको जिल्लामा धुलिखेलमा १२ र पनौती नगरपालिकामा १३ जना बिरामी फेला परेका छन् । यस्तै पाँचखालमा २, नमोबुद्धमा ३, मण्डनदेउपुरमा २, भुम्लुमा ८, रोशीमा ३, तेमालमा १ जना संक्रमित फेला पर्दा खानीखोला, महाभारत, बेथानचोक र चौरी देउरालीमा संक्रमण देखिएको छैन ।
यसैबीच जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले महामारीजन्य रोगहरुका बारेमा बुधबार संचारकर्मीहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा जिल्लामा देखिएका महामारीजन्य रोग, त्यसको अवस्था, रोकथामका लागि भएका प्रयास तथा आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी दिइएको छ ।
जिल्लाको खानीखोला गाउँपालिकाको महाँकालमा कालाजार देखिएको र सो रोग अहिले नियन्त्रणमा आएको कार्यक्रममा बताइएको छ । कालाजार भुसुनाका माध्यमबाट सर्ने गर्दछ । त्यहाँ ७ जनामा देखिएको कालाजार नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले किटनाशक विषादी छर्किने र झुल वितरणलगायत अन्य जनचेतनामूलक कार्यक्रम पनि गरेको कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा जिल्लामा बढिरहेको डेंगु, त्यसको नियन्त्रण र त्यसबाट पर्न सक्ने असर कम गराउन भइरहेका प्रयास र सचेतनामुलक कार्यक्रमका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा जिल्लामा मलेरिया, कालाजार, डेंगी, कोभिड, रेविज लगायतका महामारीजन्य रोगहरु नियन्त्रणका लागि भएका प्रयासका बारेमा जानकारी गराइयो ।
कार्यालयले खानेपानीको नियमित परिक्षण गर्न, खानपान, रहनसहन, सरसफाइका बारेमा ध्यान दिन र सचेत गराउँदै स्थानीय सरकारका स्वास्थ्य शाखाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु गरेको जनाएको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, ल्याब प्रमुख सिता श्रेष्ठ, सृजना अधिकारी लगायतले जिल्लाका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना र निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा महामारीजन्य रोगहरु नियन्त्रणका लागि संचारमाध्यम र संचारकर्मीहरुको समन्वय रहने बताए ।
देशभर डेंगुका बिरामी पाँच हजारभन्दा बढी, ६८ जनामा हैजा
देशभर डेंगुका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको छ । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार पाँच हजार पाँच सय ८९ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । यस्तै, तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार चार सय ४० सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार चार सय ८६, गण्डकीमा दुई हजार चार सय ४०, लुम्बिनीमा चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ ।
उपत्यकामा ६ सय १६
काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुरमा ६२ र ललितपुरमा ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
६८ जनामा हैजा
यस्तै महाशाखाका अनुसार देशभर हैजाका बिरामी ६८ जना पुगेका छन् । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलालीमा हैजाका बिरामी भेटिएको बताए । उनका अनुसार ललितपुरमा ४८, काठमाडौँमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने पखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *