काभ्रे । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ७७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ७७ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लामा ७५ जना घाइते छन् ।
आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ८२४ जनाको उद्धार गरिएको छ । यस्तै स्थानीय जनप्रतिनिधी, स्थानीयवासी र अन्यबाट उद्धार हुनेको संख्या ३ हजार २९९ रहेको प्रहरीले जनाएको छ । सवारी साधनबाट उद्धार भएका ८ हजार ४७१ मध्ये ३ हजार ५०७ महिला र ४ हजार ९६४ पुरुष रहेका छन् ।
पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ७, नमोबुद्धमा ७, रोशीमा १२, चौरीदेउरालीमा १, बेथानचोकमा १२, तेमालमा १२ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमा पुरुषको संख्या २६ र महिलाको संख्या ३२ रहेको छ । जसमध्ये १४ जना बालबालिका रहेका छन् ।
देशभर मृत्यु संख्या २४२ पुग्यो
अघिल्लो हप्ताको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या देशभर २४२ पुगेको छ । सशस्त्र प्रहरी बलका अनुसार बुधबार साँझ ६ बजेसम्म कोशीमा २३, मधेशमा ८, काठमाडौँ उपत्यकामा १०१, बागमती (उपत्यका बाहेक) १०८ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौँमा मात्रै ५२, भक्तपुरमा पाँच र ललितपुरमा ४४ जनाको मृत्यु भएको छ । त्यस्तै १२८ जना घाइते र २२ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका अनुसार १३ हजार १२९ जनाको सकुशल उद्धार गरिएको छ ।
पनौती नगरपालिकाद्वारा पीडितलाई राहत वितरण
पनौती नगरपालिकाले बाढीपीडित परिवारलाई मङ्गलबारदेखि राहत वितरण थालेको छ । नगरपालिका र सहयोगी दाताबाट प्राप्त भएको राहत सामग्रीलाई नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जारालगायतको टोलीले वडा कार्यालयसँगको समन्वयमा सम्बन्धित ठाउँमा पुगेर वितरण गरेको हो । नगरप्रमुख भण्डारीले पनौती नगरपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी भूमेडाँडा आसपासमा भएको बताउनुभयो । प्रारम्भिक विवरणअनुसार तीन सय परिवार घरबारविहीन भएको उहाँको भनाइ छ । रोशी खोलामा आएको बाढीका कारण धेरै कटान भएर धेरै धनजनको क्षति भएको छ ।
सोही क्षेत्रबाट काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाइपलाइन लगिएकोमा ११ किलोमिटरभन्दा बढी ठाउँमा क्षति पुगेका कारण खानेपानी समस्यामा रहेको छ । नगर उपप्रमुख गीता बञ्जाराले भूमेडाँडा रोशी आसपासका नागरिक एउटा घरबाट अर्को घरसम्म पनि जान सक्ने अवस्था नरहेकाले यहाँका खानेपानी, बिजुली र राहत र उद्धारका काममा लागिएको बताउनुभयो । पीडित परिवारलाई चामल, दाल, नुन, तेल र साबुनलगायतका सामग्री वितरण गरिएको छ ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सबै संघसंस्थालाई मानवीय सङ्कटको यस अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल गर्नुभएको छ । बाढीपहिरोमा परी पनौती नगरपालिका क्षेत्रभित्रका १८ जनाको निधन भएको, धेरै व्यक्तिहरू घाइते अवस्थामा रहेको, पाँच सय घर पहिरोमा परी पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
साथै सात सय १३ घर आंशिकरूपमा क्षतिग्रस्त रहेका, पहिरोमा परी दुई हजारभन्दा बढी संख्यामा पशुधनको क्षति भएको, अधिकांश सडक बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्था छ ।
बिपी राजमार्गको काभ्रेतर्फ अस्थायी सडक निर्माण हुँदै
रोशी खोलाको बाढीले बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक केही दिनभित्र अस्थायीरुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायीरुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायीरुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताउनुभयो ।
अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रुहरु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ ।
मण्डनदेउपुरका चार वटा वडा बाढीपहिरोले धेरै प्रभावित
बाढीपहिरो पीडित मण्डनदेउपुर नगरपालिकाका चार वटा वडा निकै नै प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ७ जनाको मृत्यु बाढी पहिरोबाट भएको यस नगरका वडा नम्बर ९, १०, ११ र १२ बढी प्रभावित भएका हुन् । क्षति समग्र नगरमा छ तर मानवीय र भौतिक संरचना तथा सडकहरु यी वडामा बढी क्षति भएको हो ।
पानी पर्न रोकिए पनि उद्धारका काम अझै बाँकी छन् । स्थानीयवासी र जनप्रतिनिधीले यसमा समन्वय गरिरहेका छन् तर राज्यले यहाँ राहतका काम भने गरेको छैन । उपमेयर विष्णुमणि नेपालले दिनुभएको जानकारी अनुसार ५ दिनपछि जोगिटारसम्म बिजुलीको आपूर्ति भएको छ । समग्र नगरको अवस्था ०७२ सालको विनासकारी भूकम्पभन्दा जोखिम छ । ‘त्यतिबेला पनि यो क्षेत्र निकै समस्यामा थियो । भूकम्पको पूनर्निर्माण सकियो तर अर्को विपत्ती आयो ।’ उहाँले भन्नुभयो । अब यहाँको आवश्यकता पूनर्निर्माणको रहेको उहाँले बताउनुभयो ।
समग्र काभ्रे जिल्ला पछिल्लो बाढीपहिरोले धेरै समस्यामा छ । सरकारी राहत र उद्धार रोशी, पनौती लगायतका क्षेत्रमा केन्द्रीत रहँदा उस्तै समस्यामा रहेको पाँचखाल र मण्डनदेउपुरमा भने स्थानीयवासी र जनप्रतिनिधीहरुले मात्र सक्रियता देखाइरहेको पाइन्छ । यसैबीच नगरपालिकाले मृतक प्रतिब्यक्ति राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
नगरप्रमुख एवं नगरस्तरिय विपद् ब्यवस्थापन समितिका संयोजक टोकबहादुर वाइबाको अध्यक्षतामा गत आइतबार बसेको बैठकले थप केही महत्वपूर्ण निर्णय पनि गरेको छ । नगरपालिकामा खासगरि तीन वटा वडामा मानवीय क्षति भएको छ । नगरपालिकामा हालसम्म वडा नम्बर १२ का ५५ वर्षीय रामकृष्ण पराजुली, वडा नम्बर १० का ७४ वर्षीय पञ्चबहादुर तामाङ र सोही वडाका ५५ वर्षीय साहिँली तामाङ, वडा नम्बर ११ का ४६ वर्षीय कान्छीमाया तामाङ, ३२ वर्षीय सुनिता तामाङ, ८ वर्षीय रोशनी तामाङ र २ वर्षीय रोशन तामाङ गरी ७ जनाको निधन भएको पालिकाले जनाएको छ । पशुधन क्षति भएमा नगरपालिकाको विपद्सम्बन्धी कार्यविधि बमोजिम क्षतिपूर्ति दिने निर्णय भएको छ । सर्वदलीय मुचुल्का, सर्जिमिन सिफारिससमेतको आधारमा भूकम्प पूनर्निर्माण पश्चात निर्माण भएका घर पूर्णक्षति भएमा १ लाख रुपैयाँ दिने बैठकले निर्णय गरेको छ ।
रोशीमा अस्पतालसहित विद्यालय भवनहरुमा क्षति
अविरल वर्षाले जिल्लाको रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शैयाको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ । वर्षासँगै आएको बाढीपहिरोबाट जनधनको क्षति हुनुका साथै बस्ती, औद्योगिक ग्राम र डम्फु जीवन्त सङ्ग्रहालय बगाएको हो ।
रोशी गाउँपालिकाले बाढीपहिरोबाट अर्बौंको क्षति व्यहोर्नु परेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । बाढीले रोशी–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको अस्पताल भवनसहित सो क्षेत्रको बस्ती, रोशी–११ कालढुङ्गामा रहेको औद्योगिक ग्राम र सोही ठाउँमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालयसहितको उद्यान बगाएको उहाँले जानकारी दिनुभयो ।
पक्की तथा झोलुङ्गे पुल, नार्क पुल र कालढुङ्गाको बस्ती बगाएको छ भने वडा नं ४ थिङटोलमा सात घर पहिरोले पुरेर क्षति पुर्याएको अध्यक्ष लामाले जानकारी दिनुभयो । पालिकाभित्र मात्रै १२ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
बाढीपहिरोबाट सडक, विद्युत, टेलिफोन, खाद्यान्न र खानेपानीको तत्काल आपूर्ति गर्न स्थलमार्ग सबै टुटेकाले हवाईमार्ग वा हेलिकप्टरको सहायताबिना सम्भावना नहुने बताउँदै अध्यक्ष लामाले त्यसका लागि तीनै तहका सरकारले गर्नुपर्ने कामको वर्गीकरण सहकार्य र समन्वयबाट अघि बढ्नुपर्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबाले सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले यकिन विवरण सङ्कलन गर्न समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्ममा १२ वटा विद्यालय भवनमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।
बेथानचोकमा सहयोगको अपील
बेथानचोक गाउँपालिकाले बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग गर्न सबैमा अपील गरेको छ । उक्त अपील पत्रमा १२ जनाको मृत्यु भएको, गाउँपालिकाका ६ वटै वडाका ९७० घरहरू पूर्ण र आशिंक क्षतिग्रस्त भएका, १ हजार चौपाया र झण्डै साढे ८ हजार कुखुरा मरेका उल्लेख छ ।
बाढीपहिरोले बेथानचोक गाउँपालिकाभित्रका मुख्य तथा वैकल्पिक सम्पूर्ण सडकहरू पूर्णरुपमा क्षतिग्रस्त भएका, विद्युतिकरणका क्षेत्रमा ३ सय पोलहरूमा क्षति पुगेको पालिका अध्यक्ष भगवान अधिकारीद्वारा जारी अपिलमा उल्लेख छ ।
भुम्लुका जनप्रतिनिधिले एक महिनाको तलब पीडितलाई दिने
यता भुम्लु गाउँपालिकाले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई पचास हजारका दरले सहयोग रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले अविरल वर्षा र पहिरोले मृत्यु भएका मृतक परिवारलाई तत्कालका लागि जनही ५० हजारका दरले रकम प्रदान गर्ने निर्णय गरेको हो ।
भुम्लु गाउँपालिकाको वडा नं ९ ज्याम्दीमा एक जना र वडा नं. ८ को बन्देउमा दुई जना गरी तीन जनाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताउनुभयो । पालिकाले विपदमा परेकाहरुको उद्धार तथा राहत सहयोगको लागि ‘राहत सहयोग कोष’ स्थापना गर्ने भएको छ ।
जसमा बाढी पहिरोमा मृत्यु भएका परिवारको सहयोगका लागि सबै जनप्रतिनिधिको १ महिना बराबरको सेवा सुविधा र कर्मचारीहरुका तर्फबाट अधिकृतस्तरको २ दिनको तलब एवं सहायकस्तरको १ दिनको तलब भुम्लु गाउँपालिका विपद् कोषमा जम्मा गराउने बैठकले निर्णय गरेको उपाध्यक्ष तामाङले बताउनुभयो ।
बैठकले बाढी पहिरोमा परी समस्यामा परेका नागरिकको उद्धार, राहत वितरण र तत्कालका लागि पुर्नस्र्थापना गर्न वडास्तरिय उद्धार टोली निर्माण गरी जनताको दैनिकीमा प्रयोग हुने खानेपानी, गोरेटो बाटो, विद्युत, सिँचाइ, विद्यालय स्वास्थ्य चौकीलगायतका सार्वजनिक सम्पदाको मर्मत तथा सरसफाइ गर्ने निर्णय गरेको छ । उपाध्यक्ष तामाङका अनुसार बाढी पहिरोबाट पालिकाका विभिन्न भेग र बस्तीहरु जोड्ने ग्रामीण सडकहरुमा क्षति पुगेर आवातजावत गर्न समस्या भएकोमा वर्षा रोकिएपछि मर्मत सम्भार कार्य जारी रहेको छ ।