काभ्रे । काभ्रे जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण बढ्दै गएको पाइएको छ । करिब १ महिनाअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल तीन स्थानीय तहका नौ जनामा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो । कार्यालयप्रमुख डा.पुरुषोत्तम सेढाईँका अनुसार हालसम्म जिल्लाका तीन स्थानीय तहमा डेंगुको संक्रमण भेटिएको हो ।
संक्रमित नौ जनामध्ये मध्ये धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन् । यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ । यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेंगु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ ।