काभ्रेका किसानका लागि सिंचाई कार्यालयले कस्तो सहयोग गरेको छ ?

धुलिखेल । हरेक खेतीका लागि सिंचाई अनिवार्य छ । पानीको अभावमा खेती गर्न सम्भव छैन । नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो । यो देश कृषि प्रधान मुलुक भए पनि यहाँको ७० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाईका लागि अहिले पनि आकाशे पानीकै भर पर्नु परेको छ ।

सिंचाईको चरम समस्या झेलिरहेको काभ्रेमा गत आर्थिक वर्षमा तीन सय २६ वटा सिँचाई आयोजनाहरु निर्माण भएका छन् । बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारको सशर्त अनुदानमा एक वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालय काभ्रेले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा दुई सय ९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा दुई सय ८८ वटा योजना सम्पन्न भएको कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिएका छन् । प्रदेश सरकार अन्तर्गतका योजनामध्ये चार वटा योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने पाँच वटा योजना गत असारमा सम्झौता भई काम सुरु भएका छन् ।

त्यसैगरी सङ्घीय सरकारको सशर्त अनुदानतर्फ २९ वटा योजनामा बजेट विनियोजन भएकोमा दुईवटा एकीकृत ऊर्जा कार्यक्रम अन्तर्गतका सिँचाई आयोजनाबाहेक २७ योजनाको काम भएको कार्यालयले जनाएको छ । अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ वटा बहुवर्षीय सिँचाई आयोजनामध्ये दुई वर्षअघि सुरु गरिएका तीन वटा आयोजनाको काम सम्पन्न भएको बुढाथोकीले बताए ।

बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला–चिते–सिङ्गे–चैनपुर सिँचाई आयोजना मण्डनदेउपुर–३ र ४, आँसीखोला–आँपखोला सिँचाई योजना मण्डनदेउपुर–४ र लप्सीबोट डिही–ओडारे–घिमिरेगाउँ बञ्जरे–रुप्सेटार मोड सिँचाई आयोजनाको निर्माण सम्पन्न भएका हुन् ।

महाभारत गाउँपालिकामा चारवटा बाहुनविर्ता–मुलिखोला लिफ्ट सिँचाई योजना, कोखाजोर खोला आँपटार गोकुले सिँचाई योजना, चाउखोला धाप लिफ्ट सिँचाई योजना, चाउखोला सोक्तेल सिँचाई योजना र पोखराखोला–बेसारे खानीटार–छाङटार सिँचाई आयोजना निर्माणाधीन अवस्थामा छन् ।

जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका वडानम्बर–८ स्थित सिँचाई योजना र पाँचखालस्थित शङ्करेबाँध–ब्रम्हायणी सिँचाई योजना निर्माण भइरहेको छ । त्यसैगरी पाँचखालकै चाखोला–जोरपिप्ले लिफ्ट सिँचाई योजना, बनेपाको हिले–जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी–चोपाटार–मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिलवार रोशी लिफ्ट सिँचाई योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाई योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाई योजना, रोशी खोलाबाट काल्धारासम्मको लिफ्ट सिँचाई आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

यसरी कार्यालयले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरिरहे पनि यो पर्याप्त भने होइन । किनकी जिल्लामा अझै पनि हजारौं हेक्टर जमिनमा सिंचाई समस्या छ । असारमा धान रोप्न आकाशे पानीकै भर पर्नु पर्छ भने जहाँ जहाँ सिंचाई पुगेका छन् ती पनि अधिकांश पुरानै प्रविधिमा आधारित छन् । नयाँ तरिकाले सिंचाई गर्न सक्ने अवस्था छैन । सिंचाई गर्ने तरिका पनि नयाँ छैन । त्यसैले पनि किसानले सोचेजस्तो खेती पर्न नसकेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *